प्रदेश ५ का जिल्लाहरुमा नयाँ शक्तिको प्रशिक्षण

0 24







प्यूठान– नयाँ शक्ति पार्टी, प्रदेश नं. ५ ले प्रदेश अन्तर्गतका जिल्लाहरुमा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार प्यूठानमा सम्पन्न कार्यक्रमसँगै प्रदेशका १० जिल्लाहरुमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम भएको नयाँ शक्तिका प्रदेश प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले बताउनुभयो ।

नयाँ शक्तिले सोमबार बिजुवार, जुम्रीमा प्यूठान र रोल्पा जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गएको छ । प्यूठानमा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रवक्ता डम्बर खतिवडाले नेकपा नेतृत्वको सरकारले आम नागरिकलाई झुक्याउने काम गरेकोले अब यो लामो समयसम्म नटिक्ने बताउनुभयो । जनताका समस्या समाधान गर्नभन्दा सरकार आफ्नै ५ वर्षे कार्यकाल सुरक्षित गर्नतिर लागेको बताउँदै सरकारले भ्रष्टाचार र आर्थिक अनियमितताको माखोसाङलोमा अड्किएको उल्लेख गर्नुभयो ।

त्यस्तै देशको समसामयिक एवं नयाँ शक्तिको वैचारिक विषयमा प्रकाश पार्दै प्रदेश नं. ५ का ईन्चार्ज नवराज सुवेदीले नयाँ शक्तिले अंगिकार गरेको ‘५ स’ को भिजन नै मुलुकको विकास र समृद्धिको आधार भएको बताउँदै नयाँ शक्तिले देशब्यापी रुपमा संगठन विस्तार गरी जनपरिचालनका काम गरिरहेको बताउनुभयो । उहाँले नयाँ शक्ति तेस्रो वैकल्पिक धारको रुपमा अघि बढेको बताउँदै अबको निर्वाचनसम्म एक सशक्त वैकल्पिक शक्तिको रुपमा स्थापित हुने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा आर्थिक विकास, समृद्धि र सुशासनको विषयमा प्रशिक्षण दिंदै नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश ५ का प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले मुलुकको विकास र समृद्धिका लागि अर्थतन्त्रमा संरचनागत परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले अब वैकल्पिक अर्थतन्त्रको रुपमा सामाजिक बजार अर्थतन्त्रलाई अंगिकार गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवस्थामा आएको बदलावको अनुभूति आम नागरिकको फेरिएको दैनिकी र जीवनस्तरले मापन गर्ने उल्लेख गर्दै अबको राजनीतिक एजेण्डा नागरिकको अवस्था फेर्ने भएको बताउनुभयो ।

त्यसैगरी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठानका जिल्ला इन्चार्ज जीएस गुरुङले यो देशको विकास र रुपान्तरणका लागि नयाँ शक्ति नै सबैको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो । विषयगत प्रशिक्षणकै क्रममा नयाँ शक्ति केन्द्रीय कार्यकारी सदस्य कमल खनालले वैकल्पिक राजनीतिक संगठनको संरचनाको बारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै नयाँ शक्तिको विचार र दर्शनको बारेमा नारायण खनाल, समावेशिता र इन्द्रेणी राष्ट्रवादको अवधारणा विषयमा बोम दर्लामी मगर, नेतृत्व विकासको बारेमा हरि रिजालले प्रशिक्षणात्मक मन्तव्य राख्नुभयो ।

नयाँ शक्तिले पार्टी निर्माणका लागि आन्तरिक प्रशिक्षण कार्यक्रम देशका सबै जिल्लाहरुमा पुर्याउँदै छ । जस मध्ये हालसम्म २० जिल्लाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । नयाँ शक्तिले समसामयिक राजनीति तथा संघीयताको कार्यान्वयन, विचार÷दर्शन र पार्टीको राजनीतिक कार्यदिशा, समृद्धि र सुशासनको मार्गचित्र, समावेशिता तथा इन्द्रेणी राष्ट्रवादको अवधारणा, नयाँ शक्तिको संगठनात्मक ढाँचा र शैली, व्यवस्थापन र नेतृत्व विकास तथा प्रचार रणनीतिलगायतका विषयहरु समेटेर पार्टी प्रशिक्षण पाठ्यक्रम तयार गरेको प्रदेश प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले बताउनुभयो ।

You might also like
Loading...