टिन एजमै करोडपति

0

आश्विन २४, २०७५




एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) का लागि खेलाडीको वर्गीकरणको सूची सार्वजनिक भयो— यो गत वर्षको प्रसङ्ग हो । युवा बलर सन्दीप लामिछाने घरेलु क्रिकेटको प्रमुख फ्रेन्चाइजमध्येको एक प्रतियोगिताको ‘ए’ ग्रेडमा परेनन् । ६ जना मार्की खेलाडीपछि ‘ए’ ग्रेडमा रहेका खेलाडी माथिल्लो वर्गीकरणमा हुन्छन् । सन्दीपलाई ‘बी’ ग्रेडमा राखिएको थियो । वर्गीकरणअनुसार यो तेस्रो श्रेणी थियो ।

सन्दीपलाई ‘ए’ ग्रेडमा पर्न उनको प्रतिभा नभै अनुभवले छेकेको थियो ।

‘ए’ ग्रेडमा पर्न नेपाली राष्ट्रिय टिमबाट कम्तिमा ३ वर्ष खेलेको हुनुपर्छ । सन् २०१५ को अप्रिलमा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पिनयसिप खेल्दै सन्दीपले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यसअनुसार ईपीएल सुरु हुने क्रममा उनले नेपालबाट खेल्न लागेको २ वर्षमात्र पूरा भएको थियो ।

मार्की खेलाडीले ईपीएल खेलेबापत कम्तिमा २ लाख रुपैयाँ पाउँथे । ‘ए’ ग्रेडमा रहेका खेलाडीको हकमा पारिश्रमिक रकम अक्सनमा १ लाख रुपैयाँबाट सुरु भै १ लाख ७५ हजार रुपैयाँसम्म पुग्थ्यो । सबै सन्तुलन कायम गर्दै खेलाडीको वर्गीकरण गरिएको आयोजकहरूको जिकिर थियो । सन्दीपलाई राखिएको ‘बी’ ग्रेडका खेलाडीको मूल्य अक्सनमा ७५ हजार रुपैयाँबाट सुरु भै अधिकतम १ लाख २५ हजार रुपैयाँमा पुगेर टुंगिन्थ्यो, तर एक हप्ता नबित्दै आयोजकले यु टर्न निर्णय लिए र सन्दीपसँगैं आरिफ शेखलाई ‘ए’ ग्रेडमा बढुवा गरेको जानकारी गराए ।

एक वर्ष नबित्दै हुन लागेको नयाँ फ्रेन्चाइज क्रिकेट पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले सन्दीपलाई आफ्नो मार्की खेलाडी बनाएको छ । पीपीएलको नियमअनुसार मार्की खेलाडीले प्रतियोगिताबापत कम्तीमा ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्योभन्दा बढी रकम टिमले मार्की खेलाडीसँगको सल्लाहमा दिन सक्छ । खेलाडीका रूपमा सन्दीपले अहिले जुन छवि बनाएका छन् त्यसअनुसार पूर्व राष्ट्रिय खेलाडी पारस लुनियासहितको स्वामित्वमा रहेको विराटनगरले उनलाई दुई साता चल्ने प्रतियोगिताका लागि कम्तिमा ५ लाख रुपैयाँ दिएको सहजै अनुमान लगाउन सकिन्छ ।

ईपीएल सम्पन्न भएको र पीपीएल सुरु हुन लागेको बीचको १० महिनामा सन्दीपको यात्रा अझ अविश्वसनीय छ । सन्दीप अहिले खेलेरै सानै उमेरमा करोडपति भएका छन् । यद्यपि यो विदेशी लिग खेलेर मात्र सम्भव भएको हो । सन्दीप आजको दिनसम्म १८ वर्ष ६४ दिनको भएका छन् ।

उनले गएको अगस्टमा आफ्नो १८ औं जन्मदिन मनाएका हुन् । नोभेम्बरमा युएईको शारजाँहमा हुने टी–१० लिगको सिजन–२ का लागि केरला किंगले अनुबन्धन गरेपछि सन्दीपले विदेशमा खेल्दा पाउने पारिश्रमिक रकमले आठ डिजिट छोएको छ । टी–१० लिगमा सन्दीप तेस्रो ड्राफ्टमै परेका थिए । त्यसअनुरूप सन्दीपले ३० हजार डलर (३४ लाख ८० हजार रूपैंया) पारिश्रमिक प्राप्त गर्नेछन् । सन्दीपले प्राप्त गर्न लागेको यो दोस्रो ठूलो रकम हो । यसअघि उनले ग्लोबल टी–२० क्यानाडा लिग खेल्दा ४० हजार डलर (४६ लाख ४० हजार रूपैंया) बुझेका थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दीपले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा उभ्याएका थिए । त्यसमा उनले २० हजार डलर (२३ लाख २० हजार रूपैंया) पारिश्रमिक पाएका थिए ।

आईपीएलमा अवसर कुर्ने क्रममा उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टमा परेका थिए । सन्दीपका अनुसार आईपीएल अघि नै सीपीएल तय भैसकेको थियो । सीपीएलमा वेस्ट इन्डिजका हस्ती क्रिस गेलसँगै खेलेका लामिछानेले त्यहाँ ५ हजार डलर (५ लाख ८० हजार रूपैंया) प्राप्त गरेका थिए । टी–१० लिगमा सन्दीपको नाम दोस्रो ड्राफ्टमै आउने सम्भावना थियो ।

यसले उनको पारिश्रमिक अझ बढाउँथ्यो । टी–१० मा पहिलो ड्राफ्टमा पर्ने खेलाडीले १ लाख डलर पाउँछन् । जे होस्, तेस्रो ड्राफ्टमा पर्नेबित्तिकै सन्दीपले विदेशी फ्रेन्चाइज लिग खेल्दा पाएको कुल पारिश्रमिक रकमले १ लाख डलर (१ करोड १६ लाख रूपैंया) नाघेको छ । युएईको शारजाँहमै अक्टोबर ५ देखि २१ सम्म अफगानिस्तान प्रिमियर लिग हुँदैछ । सन्दीपलाई नान्गहरले एसोसिएट खेलाडीका रूपमा लिएको छ । त्यसबापत उनले १५ हजार डलर (१७ लाख ४० हजार रूपैंया) बुझ्नेछन् । नेपाली राष्ट्रिय टिमले मलेसियामा आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ मा खेल्नु पर्ने हुनाले सन्दीपले अफगानिस्तान प्रिमियर लिगको सुरुको ५ खेल गुमाउनेछन् । मलेसियाबाट शारजाँह पुग्ने सन्दीपलगत्तै नेपाल फर्केर दसैंपछि पोखरामा सञ्चालन हुने पीपीएलमा सहभागी हुनेछन् । टी–१० लिग तथा अफगानिस्तान प्रिमियर लिग खेलेपछि सन्दीपको विदेशी फ्रेन्चाइज लिग खेल्दाको कमाई १ लाख १० हजार डलर (१ करोड २७ लाख ६० हजार रूपैंया) पुग्नेछ ।

‘सबै कुरा समयमा भर पर्छ ।

सुरुमै तपाईले केही पाउनु हुन्न र अन्तिममा पनि तपाईले केही लिएर जानु हुन्न । त्यो बीचको दौरानमा आफुलाई कसरी मेन्टेन गरिन्छ, विश्लेषण गरेर कसरी अघि बढिन्छ त्यसमा तपाईंको जीवन निर्भर हुन्छ,’ सन्दीप आदर्शका कुरा गर्छन्, ‘खुसी लाग्छ म यी सबै कुरा बिर्सिएर अघि बढिरहेको छु । म मार्की खेलाडी रहुँ वा नरहुँ त्यसमा मलाई केही छैन, तर मैले आफ्नो क्रिकेट लेभल कसरी अघि बढाइरहेको छु त्यो म आफैमा भरपर्छ ।’ सन्दीप यो यात्रा आफ्नो कल्पना बाहिरको भएको स्वीकार गर्छन् । उनी आफूले माथिल्लो स्तरको क्रिकेट खेल्ने कुरामा भने राष्ट्रिय टिममा पर्दादेखि नै विश्वस्त रहेको बताउँछन् । सन्दीप अवसर कुरेर बस्नुपर्ने कुरामा विश्वास राख्छन् । अहिले एक्सपोजका लागि विदेशी लिग खेलिरहेका सन्दीपको लक्ष्य अस्ट्रेलियाको बिग बास लिग तथा काउन्टी क्रिकेट हो । बिग बास त उनको सपना नै हो ।

खेलेर कमाएको रकमको प्रसङ्ग कोट्याउँदा सन्दीप रोमाञ्चित हुन्छन् । उनमा अझै अघि बढ्ने अठोट छ । ‘जति–जति आम्दानी हुन्छ, खर्च पनि त्यसैअनुरूप बढ्दै जान्छ । पहिलेको तुलनामा अहिले आफूलाई अझ बढी मेन्टेन गर्नुपर्छ । धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । फिटनेस देखि अरु धेरै विषयमा अझ बढी हेर बिचार गर्नुपर्ने हुन्छ । कति पैसा आइरहेको छ, कति आउँदैन म त्यसका बारेमा त्यति सोच्दिनँ । किनभने मलाई यो सब क्रिकेटले दिएको छ र म अहिले नै पैसातिर लागें भने मेरो क्रिकेट अन्त कतै लाग्ला, त्यही भएर म क्रिकेटमै केन्द्रित छु,’ सन्दीप आफ्नो लक्ष्य स्पष्ट गर्छन् ।

जे होस्, आईपीएलपछि सन्दीप एसोसिएट क्रिकेटको स्टार भएर विश्वमा छाइरहेका छन् । उनले विदेशी फ्रेन्चाइज लिगमा टेस्ट राष्ट्र बंगलादेश तथा जिम्बावेका खेलाडीको तुलनामा बढी अवसर प्राप्त गरिरहेका छन् अनि सबैजसो प्रतियोगितामा पाएको सफलताले उनको उचाइलाई अझ बढाइरहेको छ । क्रिस गेल जस्ता हस्ती खेलाडीसँग उनी ‘ड्याब’ सेलिब्रेसन गरिरहेका हुन्छन् । गेलसँगै उनी लगातार एउटै टिममा पर्न थालेका छन् अर्थात् गेलले नै सन्दीपको महत्व बुझेर उनलाई आफ्नो टिममा राख्न जोड गरिरहेका छन् । सन्दीपलाई लिन एक खालको प्रतिस्पर्धा नै छ ।

देशलाई प्राथमिकता

आईपीएल भन्दा पनि नेपालबाट खेल्दाको महत्व बढी हुने सन्दीपको बुझाइ छ । आईपीएलमा सहभागी हुनुअघि सन्दीप बंगलादेश प्रिमियर लिग (बीपीएल) को ड्राफ्टमा थिए, तर उनलाई अरू टिमले लिएका थिएनन् । पहिलो ठुलो अवसरको खोजीमा रहँदा उनलाई ‘आउट अफ साइनिङ’ खेलाडीको रुपमा लिन खोजिएको थियो, तर नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसँग खेल्नु पर्ने भएकाले सन्दीप बीपीएलमा सहभागी भएनन् । उनी पहिलो प्राथमिकतामा राष्ट्रिय टिमलाई नै राख्छन् । राष्ट्रिय टिमका लागि सन्दीपको प्रतिबद्धता उनको काममा समेत देखिन्छ । सर्वाधिक विकेटको दौडमा रहेका सन्दीप अघिल्लो महिना मात्र सीपीएल छाडेर नेपालबाट एसिया कप छनौट खेल्न मलेसिया पुगेका थिए । अहिले पनि आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ खेल्नुपर्ने भएकाले उनले अफगानिस्तान प्रिमियर लिगको सुरुवातका खेल गुमाउनेछन् ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउदै विश्व क्रिकेटमा फड्को मार्दा सन्दीपले आफूलाई राष्ट्रिय टिमको प्रमुख खेलाडीमा उभ्याइसकेका छन् । नेपालको कठिन यात्रा मानिएको पछिल्लो विश्व क्रिकेट लिग डिभिजन–२ मा उनी म्यान अफ द सिरिज चुनिएका थिए । सन्दीप नेपाली टिमका स्ट्राइक बलर हुन् । ठुला साझेदारी टुटाउन र आवश्यक विकेट लिने बेलामा उनी नै अगाडि देखिन्छन् । नेपालबाट खेल्दाको यही प्रदर्शनका कारण पनि उनी विदेशी लिगका लागि ‘नोटिस’ भैरहेका हुन्छन् । त्यसैले पनि उनी राष्ट्रिय टिमलाई पहिलो प्राथमिकतामा राख्छन् ।

मैदानभित्रको प्रदर्शनले ‘सन्दीप लामिछाने’ लाई नेपाली बजारको ठूलो ब्रान्ड बनाइसकेको छ । उनी अहिले ‘ब्रान्ड इन्डोर्समेन्ट’ मा पनि उत्तिकै सक्रिय छन् । त्यसैले उनी मैदान बाहिर बढीजसो समय फोटोसुटमै भेटिन्छन् । सन्दीप सानिमा बैंक, टाटा मोटर्स, जेभियर कलेज तथा एनसेलका ब्रान्ड एम्बेसडर हुन् । यसबाट पनि उनले राम्रै पैसा कमाएका छन् ।

सन्दीपको प्रतिभा मैदानमा सीमित छैन । उनले ‘उदास थियो’ शीर्षकको गीतसमेत गाएका छन् । उक्त गीतलाई आधार मान्ने हो भने सांगितिक दुनियाँमा उनको उपस्थिति मात्र देखिएको छ अहिलेसम्म । खेलाडीले आफ्नो खेलजस्तै उत्कृष्टता गीतमा पनि देखाउनुुपर्छ भन्ने उनलाई लाग्दैन । यद्यपि सन्दीप गायनलाई सौखमा सीमित गर्ने धुनमा पनि छैनन । उनी अझै गीत गाउन चाहन्छन् । ‘मेरा थप गीत पनि आउन सक्छन् ।

विदेशी फ्रेन्चाइज लिगमा सन्दीपको कमाइ

इन्डियन प्रिमियर लिग – २० हजार डलर (२३ लाख २० हजार रूपैंया)

ग्लोबल टी–२० क्यानाडा लिग – ४० हजार डलर (४६ लाख ४० हजार रूपैंया)

क्यारेबियन प्रिमियर लिग – ५ हजार डलर (५ लाख ८० हजार रूपैंया)

अफगानिस्तान प्रिमियर लिग – १५ हजार डलर (१७ लाख ४० हजार रूपैंया)

टी–१० लिग – ३० हजार डलर (३४ लाख ८० हजार रूपैंया)

(कान्तिपुरबाट)




सम्बन्धित
Loading...