गौतमबारे उम्मेदवारीबारे नेकपाभित्रै रडाको

काठमाडौं, २५ असोज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ ।
नेकपा सचिवालय बैठकमा काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलनमार्फत जानकारी गराएसँगै विवाद चुलिएको हो ।

गौतमलाई सांसद बनाउने विषयमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल भने मौन देखिएका छन् । तर, पूर्वउपाध्यक्ष भीम रावल र पूर्वमहासचिव ईश्वर पोखरेल खुला रूपमै विरोधमा देखिएका छन् । २२ असोजमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं–७ का सांसद मानन्धरले गौतमका लागि राजीनामा दिन तयार रहेको भन्दै गौतमलाई त्यस क्षेत्रबाट सांसद बनाउनुपर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमले नै इच्छा देखाएको भए कुनै समस्या नरहने बताएका थिए भनि आजको राजधानी दैनिकमा खबर प्रकाशित गरिएको छ ।
तर, पोखरेलले मानन्धरलाई राजीनामा गर्न लगाएर गौतमलाई उठाउनु राम्रो नहुने र विधि र मान्यताको उपहास हुने भन्दै बैठकमै विरोध जनाएका थिए । बैठकको भोलिपल्ट मंगलबार सांसद मानन्धरले पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका थिए । उनले पार्टी सचिवालयमा राजीनामा बुझाएको र पार्टीले निर्णय गरेलगत्तै सभामुखसमक्ष राजीनामा दिने बताएका थिए ।

मानन्धरको राजीनामा घोषणासँगै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमलाई सांसद बनाउने निर्णय र अध्यक्षद्वयमाथि नै कूटनीतिक रूपमा विरोध जनाए । उनले आफैंले स्थापित गरेको विधिलाई स्थापित गरे मात्र नयाँ स्तरमा उठ्न सकिने भन्दै नेतृत्वको आलोचना गरे । ‘विगतमा हामी स्वयंले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जरुरी छ,’ पोखरेलले भनेका छन्, ‘हाम्रा राम्रा कुराहरूले, हामी स्वयंले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन्, हामी नयाँ स्तरमा उठ्न सक्नेछौं ।’
पूर्वएमाले उपाध्यक्ष भीम रावलले गौतमलाई सांसद बनाउने विषय स्थायी समिति बैठकमा छलफल हुनुपर्ने बताएका छन् । उनले कसलाई कहाँ उठाउने, कसलाई राजीनामा दिन लगाउने, कसलाई सांसद बनाउने भन्ने विषय दुई÷चार जना नेता बसेर निर्णय हुन नसक्ने भन्दै स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने बताए ।

पूर्वनेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल भने गौतमलाई सांसद बनाउनुपर्ने पक्षमा उभिएका छन् । सचिवालय बैठकमा उनले नै प्रस्ताव गरेका थिए । उनीबाहेक पूर्वमाओवादीबाट कसैले पनि गौतमलाई समर्थन गरेका छैनन् ।
गौतमलाई सांसद बनाउने तयारीसँगै नेकपाका स्थायी समिति सदस्य, केन्द्रीय सदस्य तथा तल्ला तहका नेता तथा कार्यकर्तामा पनि असन्तुष्टि देखिएको छ । सामाजिक सञ्जालमा गौतमलाई सांसद बनाउने विषयलाई लिएर चर्को विरोध भइरहेको छ । एकपटक पराजित व्यक्तिले पुनः निर्वाचनमा जान चाहनु ठीक नभएको भन्दै गौतमका लागि उपनिर्वाचन गर्ने विषयको चर्को विरोध गरिरहेका छन् ।

यसैबीच, नेकपाका अध्यक्ष दाहालले भने गौतमलाई चुनावमा लडाउने विषयमा पार्टीभित्र निर्णय भइनसकेको भन्दै पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने बताएका छन् ।
‘हुन त पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन । त्यति चाहिँ ढुक्क हुनुहोला,’ राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले भने ।
यता, नेकपाभित्र विवाद चुलिएसँगै बुधबार बस्ने भनिएको सचिवालय बैठक शनिबारका लागि सरेको छ । बैठकले स्थायी कमिटी बैठकको एजेन्डा तय गर्ने र माधवकुमार नेपालको असहमतिबारे छलफल गर्ने तयारी थियो । मानन्धरलाई राजीनामा गर्न लगाएर गौतमलाई उठाउने तयारीसँगै बैठक पछि धकेलिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *