झारफुक गर्ने ‘ओमबाबा’ पुर्पक्षका लागि थुनामा

0

हेटौँडा । आश्रममा झारफुक गर्न गएकी महिलाको मृत्यु भएपछि पक्राउ परेका ओमबाबा भन्ने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।




जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलासले हेटौँडा उपमहानगरपालिका–११ की सावित्री पुडासैनीको ओमबाबाको आश्रममा मृत्यु भएको आरोपमा पक्राउ परेका श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको हो ।

हेटौँडा उपमहानगरपालिका–१४ स्थित सत्य ओमबाबा आरोग्य आश्रममा असोज २ गते झारफुक गर्न गएकी पुडासैनी बेहोस भएकी थिइन् । बेहोस हुँदा पनि झारफुक गरेर निको पार्छु भनेर घन्टौँसम्म आश्रममा बाबा ओमप्रकाशले राखेका थिए ।




लामो समयसम्म पनि होस नखुलेपछि अस्पताल ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो । समयमा उपचार गर्न अस्पताल पठाएको भए पुडासैनीको मृत्यु हुने थिएन भन्दै उनका पतिले ओमप्रकाशलाई कारबाही गरीपाऊँ भनी प्रहरीमा उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले उनलाई असोज ३ गते पक्राउ गरेको थियो ।
अदालतले बाबा श्रेष्ठलाई भीमफेदी कारागार पठाएको छ । बाबासँगै पक्राउ परेका उनका सहयोगी विनय भेटवाल भने तारेखमा रिहा भएका छन् । उनी एक लाख रूपैयाँ धरौटी राखी तारेखमा रिहा भएका हुन् ।




सम्बन्धित
Loading...