न्याय (कथा)

न्याय (कथा) दीपक सोती
लेखकः दीपक सोती, पिठौली

‘कवि सर सलाम ! चिन्ता नगर्नुहोस् पानी परेन त, के को चिन्ता ? रामप्रसादले पानी नपर्दा ठूलो चिन्ता गरे, उनको खेत रोपाई भएन रे १ सर, तपाईलाई पानी नपर्दा के को चिन्ता ?’ – वीरबहादुरले टन्न पिएर भट्याउँदै थियो – ‘पानी पर्छ त हामी गरिबलाई के हुन्छ ? हाम्रो खेतबारी केही छैन । जब पानी बर्षन्छ जमिन्दार, जागिरे, व्यापारीलाई हर्ष हुन्छ। पानी परोस् वा नपरोस् मलाई त मतलब छैन ।’
मैले जवाफ दिएँ – ‘पानी पर्दा तिमीलाई के नोक्सान हुन्छ वीरबहादुर ?’
उसको आँखा झन बढी रसाउँछ, ऊ भावक बन्छ।

‘तपाईको र मेरा न जमिन छ, न व्यवसाय, सम्पत्ति । पानी पर्नु भनेको तिनीहरुको जमिन हराभरा भै धनिहरुको भकारी चुलिनु हो, तिनका भैसीहरुले हरियो घाँस खान्छन, दुध दिन्छन, तिनीहरुका छोराछोरीहरुले दुध–भात खान्छन्। तिनीहरुकै गाला राता हुन्छन्, मोटाउंछन्। हामी जस्तो  घरद्वार नहुने त मागी खान जाने, ओडार नहुँदा शरिर भिज्छ सर ।’
म अचम्म मान्छु । म मनमनै भन्छु – ‘यो वीरेलाई कस्तो नशा लागेछ ।’
उ एकोहोरो चिच्याउँदै बोल्छ । म डराउँछु । उ निडर भएर आफ्नो व्यथा यसरी पोख्छ – ‘अन्न फले जमिन्दारहरुले अन्न बेच्छन्, पैसा पार्छन, पैसा नहुँदा हामी गरिबका बच्चाहरु भोकभोकै हुन्छन् । सर१ योत्रो पृथ्वीमा न तपाईको एक टुक्रा जग्गाको लालपूजा छ, न मेरो छ। हामी गरिब दुःखीलाई त फटाहाहरुले घोढा बनाउँछन्।
वीरबहादुरले टन्न पिएर निर्धक्क बोलेको बेला मेरो मन भय र त्रासले भरिएको थियो । यो संग बोल्नु अहिलेसम्म कमाएको प्रतिष्ठा गुमाउनु सम्झिएँ। अनि जब उसको कुरा सुने नसुने झै गरी बाटो तताउन पाइला चाल्दै थिएँ, उसले बाटो छेक्दै भन्न थाल्यो – ‘तपाईले हाम्रो जमिन्दारको कुरा सुन्ने गर्नु भॉछ ? यसको पेटमा चौरासी व्यन्जन छ, सेफभरी पैसा–सुनचाँदी राख्छ। तपाई र हामी जस्तो गरिब हुनु त पूर्व जन्मको पाप हो भन्छ।’
‘साला कस्तो छ, शिवबहादुर जमिन्दार’ उसले अझै झट्याउन शुरु गर्दै कुरा थप्यो – ‘साला हाम्रै पार्टीको मानिस परेछ, नत्र गालासाला चड्काइ दिन्थ्यें। कर्जा माग्दा पनि हुने खानेलाई दिन्छ, हामीलाई दिदैन। व्यापारीले पनि दुःखी गरिब ईमान्दार हुन्छ भन्दैन र उधारो दिदैन। बुझ्नु भो सर ! रामप्रसादको आलिशान घर कसरी बन्यो? मैले पनि यसको घर बनाउन पसिना बगाएको छु, उसको घर बनाउन ढुंगा बोके, गाह्रो लाएँ, म जस्तै कति मजदुरहरुले श्रम गरी सिप देखाए, ज्याला पनि भने जति दिएन, पसिना काढीकाढी काम गरेर के भयो ? हाम्रो त भेट भोक्कै भयो।’
‘सर १ यो माओवादीका नेताहरु आफूलाई शोषित, पीडित, गरिब दुःखीको  मान्छे हुँ भन्छ, सामन्ती राज्यसत्ता उल्ट्याउनु पर्छ भनेर जनयुद्धमा लागेर जनताले के पायो र ? कति सोझा जनताको ज्यान गयो । लड्दा हावा, हुरी, असिना, पानी, केही नभनि लडे। कति नेपाल आमाका गरिब दुःखी छोराछोरीहरुले देश र जनताको सुनौलो भविष्य सम्झी ज्यान फाले। नेताहरु आफू सत्तामा गए, किसान मजदुरहरुलाई विर्से । हुन त सर ! म पनि पहिला माओवादी युद्धमा होमिएको थिएँ। शान्तिवार्ता हुनु त राम्रो हो तर, जनताका निम्ति केही गरेनन्, उनीहरुले पनि।’ – वीरबहादुरको मन यति निराशा थियो ।
उ मात्तिएर होसमा थिएन, बहुलाहा जस्तै भएको थियो। यसले फेरि मलाई भन्यो – ‘कवि सर, पानी नपरेर तपाईलाई के हुन्छ । पानी परे जमिन्दारकै खेतमा धान फल्छ, उसको भकारी भरी धान चुलिएर उसैलाई आनन्दले छुन्छ।’
म उसलाई सम्झाउन थालें – ‘तपाईले किन यसरी नशा पिउनुभएको छ ? यो नशाले गदा तपाईले के भन्नहुन्छ, के भन्नहुन्न सम्म सोच्नु भएको छैन।’
‘सर, के तपाईले मेरा यो मनको बेदना बुझ्नु भएको छ ? मेरो बाबाले पनि रामप्रसादकै हलो २९ बर्षसम्म जोत्नुभएको थियो। मेरी आमाले पनि यसकै घर ढिकीजाँतो र घाँसदाउरा गर्दा ढिडोगुन्द्रुकको भरमा कजायो। उनीहरुलाई मासिक २० रुपैयाँ दिने कबुल थियो, त्यो पनि दिएन। यो पानी परेर हामीलाई के हुन्छ ? नपरेर के हुन्छ ? हुन त सर, गरिबले गर्दा देशमा धेरै हुरीबतास चले, हुरीबतासले ठूलाठूला रुखहरु ढले, पहाडहरु चर्के, पहिरो गए, नारायणी पनि उस्तै उर्लियो, घाँम लाग्नु, झरीबादल हुनु असिना बर्सिनु त प्राकृतिक नियमहरु हुन्।’ वीरबहादुर न त तर्कसंगत कुरा गर्छ, न उसले गर्ने कुराको फेदटुप्पा नै छ । म वीरबहादुरको कुरा सुनेर चौतारामा दंग परेर बस्छु। उसको मुख लरबराएको छ, उभिँदा हातखुट्टा ठिक ठाउँमा पनि छैनन्।
ऊ आफ्नै शुरुमा बरबराउंदै बोलिरहेको हुन्छ । विस्तारै विस्तारै उसलाई रक्सीको नशाले पनि छाड्दै गयो, उसको पागल पन पनि सुधार हुन थाल्यो। उसले मलाई भन्यो – ‘कवि सर ! गरिबसंग पैसा छैन, महंगीले सगरमाथाको टुप्पो छोयो। हामीसंग पैसा खै ? कति राजनीतिक परिर्वतनहरु भए। देशमा भएका उद्योगहरु हेटौडा कपडा उद्योग, विराटनगरको जुट मिलहरु, जनकपुर चुरोट कारखाना, भुकुटी कागज उद्योग, बुटवल धागो कारखाना, बाँसबारी छाला उद्योग, हेटौडाको टिम्बर कर्पोरेशन २०४७ सालदेखि समाप्त भए, गए। ०६२।०६३ को जनआन्दोलन पनि हामी जस्तैजनताले गरियो, संघीय लोकतान्त्रिक व्यवस्था आयो तर पनि अझै नेपाली जनताहरु गरिबका गरिब छन् । हिमाल, पहाड, तराईका युवाहरु खाडी मुलुकमा श्रमवेच्ने कार्य रोकिएको छैन, दिदीबहिनीहरु बलात्कृत हुन पनि छाडेका छैनन् सर।’
मैले कुरा नगरे पनि एकोहोरो बोलिरहेको थियो ऊ । उसलाई छाडेर गन्तव्यतर्फ अगाडि बढ्न थाले।
मैले सम्झिएँ – ‘वीरबहादुर जस्तै कति बहादुरहरु अन्याय अत्याचारमा परेका छन्। सायद उसले रक्सी पिउनु पनि यस्तै कारण हुन सक्छ। ईश्वर ढुंगाको मुर्तिमा बस्छन् कि कहाँ बस्छन् मैले जान्दिन, मैले यसको कुरा बुझ्न हुँदैन, बुझेर के गर्नु ? उसको घाउमा मलम लगाई पट्टी बाँधी दिने
क्षमता मसंग छैन।’
मैले सोच्दा सोच्दै वीरबहादुरकी धर्मपत्ति ‘गौरी’ मेरो अगाडि आएर सोध्न थालिन – ‘सर, तपाईले मेरा स्वामी कतै भेट्नु भयो कि ?’
मैले उत्तर दिएँ – ‘ऊ त्यही पिपलको रुख मुन्तिर पल्टिएको छ।’
गौरीले मुख खोल्न थालिन् – ‘कवि साहेव, हजुर त जनता र देशलाई परिवर्तन गर्नुपर्छ भनेर कविता, गीत लेख्ने मानिस, तपाईसंग मेरा मनका कुराहरु गर्छु है त ? हाम्रो वीरु रामप्रसादको घरमा सिरुवारीको भित्री घरधन्दा हिसाबकिताब सबै गर्थे, मालिक रामुको घरमा गाईभैसी, बस्तुभाउको घाँस, पराल, स्याहारसुसार गर्ने झन्झटिलो काम मैले गर्थे, ऊ हामी जस्ता शोझालाई चिप्लो घसेर पट्याउन साह्रै सिपालु मासिन रहेछन्, हामी दुःखी दामको र मामको आशामा उनको घरमा बधुवा नोकर जस्तै भयौं न रामप्रसाद मालिकले हाम्रो पारिश्रमिक दिए। पसिनाको मोल पाउनु त उत्तिकै हो, मलाई त तिमीलाई मेरा एक कठ्ठा जग्गा न्छिु भनेका थिए। २२ बर्ष काम गरेपछि आफ्नो घरबाट रामप्रसादले निकालिदिए। यही कारण हो मेरा स्वामी वीरबहादुरले नशाको गलत बाटो समाएको पनि।’
गौरीको कुरा सुन्दा म छक्क परें। हामीहरुको कुरा चल्दा चल्दै रामप्रसाद त्यही आयो।  उसले भन्यो – ‘वीरबहादुर आजभोलि साह्रै विग्रन थालेको छ, जब रक्स पिउन शुरु गर्छ, डाँडाकाँडा धर्काउँछछ, हुने नहुने बोल्छ। गौरी ! तैले उसलाई कसो गरी सम्हाल्ने हो समाल ।’
गौरीले भनि – ‘मालिक बल भएसम्म हामी दुवैले हजुरको खेतबारी सम्हालेकै थियौं, गरेकै हो। हजुरको घरमा काम नगरे त हामी गरिबका घरमा न त दानापानी जुट्छ,  न त हामीले केटाकेटी नै पाल्न सक्छौं।’
रामप्रसादले उनीहरुप्रति ज्यालामजदुरी ठगिठगि काम गराएकोमा वीरबहादुरको बुढाबुढीलाई पटक्कै मन परेको थिएन। गौरीले भनिन् – ‘मालिक साहेब, यतिका बर्ष हजुरको सेवक भएर पनि हाम्रो बास, गाँसको व्यवस्था हुन सकेको छैन। यसो १० धुर जमिन बस्नका लागि हामीहरुलाई निगाहा भए हुने थियो।’
रामप्रसादले गौरीलाई सोध्यो – ‘तिम्रो नागरिकता छ ?’
गौरी पनि आफू जग्गा पाउने भएँ भनेर प्रफुल्ल भइन्। रामप्रसादलाई नम्र स्वरले भनिन् – ‘अब जग्गा कहिले छुट्याइ दिई बक्सन्छ हजुर । साँच्चै तपाई मधेषमा त धनिमानीहरुकै रजाई चल्छ। मालिकले यति बोलेपछि हामी ढुक्क छौं।’
‘गौरी, वीरबहादुरलाई पनि बोलाउ र साइला गुरौको लडियामा बोलाऊ, आजै मालपोत कार्यालय जाऊँ।’ रामप्रसाद यति भनेर घर जान्छ र भरुवा बन्दुक बोकेर आउंछ। उनीहरु सबै लडियामा बसेका हुन्छन्।
रामप्रसाद – ‘दश धुर जग्गा पाएर मात्र तिमीहरुलाई पुग्छ र? मसँग राजमार्गसँगै जोडिएको एक विगाहा मागे त हुन्थ्यो, खै तिमीहरुको माग्ने सहास पनि आएन।’
मालिकका कुरा सुनेर गौरीका बुढाबुढी अझ प्रफुल्ला भै जग्गाको कुरा गर्छन् ।
रामप्रसादले उनीहरुको पछाडिबाट बन्दुक सोझ्याउँछ र प्रहार गर्छ। गोली उनीहरुको छात्तीमा बर्षन्छ, पटट … पटट ..। गौरीका बुढाबुढीले परमधामको बाटो समाउँछ।

62 Shares

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *