बलात्कारपछि बालिका हत्या गर्ने अलीलाई फाँसी

0 40







इस्लामाबाद । पाकिस्तानमाबालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ ।

गत जनवरीमा ६ वर्षीया बालिका जैनब अन्सारीको बलात्कार गरी हत्या गरेको आरोपमा २४ वर्षीया इमरान अलीलाई लाहोरस्थित एउटा जेलमा बुधबार बिहानै फाँसी दिइएको प्रहरीले जनाएको छ ।

हत्या गरी फालिएकी बालिका जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो । अलीलाई फाँसी दिइएका बेला जैनबको परिवार र आफन्त पनि उपस्थित थिए ।

कसुर नगरमा बलात्कारपछि हत्या गरिएको सो अपराधका विरुद्ध पाकिस्तानमा व्यापक प्रदर्शन भएको थियो ।

दोषीलाई झुण्ड्याइएको दृश्य देखेका जैनबका बाबु आमीन अन्सारीले आफूलाई ‘राहत महसुस’ भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जीवित भएको भए मेरी छोरी अहिले सात वर्ष दुई महिनाकी हुन्थी ।’

यसअघि आफ्नी छोरीको बलात्कारीलाई सार्वजनिक स्थानमा झुण्ड्याइनुपर्ने आमीनको माग लहोर उच्च अदालतले खारेज गरिदिएको थियो ।

गत जनवरी ४ मा बेपत्ता भएकी जैनबको शव पाँच दिनपछि फोहोरको थुप्रोमा भेटिएको थियो ।

घटनापछि प्रहरीले नभइ जैनबका आफन्तले उनका अन्तिम क्रियाकलाप कैद भएको सीसीटीभीको फूटेज फेला पारेका थिए ।

एक व्यक्तिले बालिकालाई पछारिरहेको सीसीटीभीको फूटेज त्यसपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

मानिसहरूले ‘जस्टिस फर जैनब’ नामक अभियान चलाउँदै पाकिस्तानीहरू पीडित परिवारको न्यायको पक्षमा उत्रिएका थिए ।

जैनबको घर नजिकै बसोबास गर्ने इमरान अलीलाई प्रहरीले गत जनवरी २३ मा ‘डीएनए’ परीक्षणका आधारमा पक्राउ गरेको थियो ।

गत फेब्रअरीमा अदालतले इमरान अलीलाई जैनबको बलात्कार र हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाएको थियो । सो आदेशविरुद्ध उनले दिएको पुनरावेदन एउटा अदालतले खारेज गरिदिएको थियो भने । यसै महिनाको शुरूतिर पाकिस्तानी राष्ट्रपतिले पनि माफीका लागि गरिएको निवेदन अस्वीकार गरेका थिए ।

You might also like
Loading...