सयौं वर्ष पहिले किन उडाइन्थ्यो चंगा ? यस्तो छ दशैं र चंगाको नाता
शरद ऋतुको मौसम यसैपनि मादक । खुलेको निलो आकाश । वहकिने शीतल हावाको झोंका । पृष्टभूमीमा गुञ्जने मालाश्री धून । यस्तो बेला आकाशमा उन्मुक्त बत्तिइरहेका रंग-विरंगी चङ्गा देख्दा कसको मन उमंगले भरिदैन ? कसको मन फुरुंग हुँदैन ?
खेतबारीमा लहलह धान झुलिरहेका छन् । कान्ला-कान्लामा सायपत्री फूलको थुँगा लाग्दैछ । अर्थात दशैंले घर-आँगनको संघार टेकिसकेको छ । त्यसैले त आकाशभरी रंग-विरंगी चङ्गा उड्न थालेको छ । नभए त, दशैंको रौनक नै कहाँ सुरु हुन्छ र ?
चङ्गा र दशैं एकअर्काको पर्याय झै लाग्छ । चङ्गा नउडेसम्म दशैंको रंग नचढ्ने, दशैं नआएसम्म चङ्गाको खेल सुरु नहुने । जसै दशैं आउँछ, आकाशमा चङ्गाहरु उड्न थाल्छ ।