बलात्कृत बालिका विद्यालयबाट विस्थापित

गत २८ बैशाखका दिन कटारी नगरपालिका– ४ सिम्ले पानी ट्याङकीका ३५ वर्षीय दिपेन्द्र कोइरालाबाट बलात्कृत बालिका विस्थापन भएकी हुन् ।

पीडक कोइरालाले आफनै घरमा डेरा गरी बस्ने बालिकालाई श्रीमती नभएको मौका छोपी राती बलात्कार गरेको पीडितले बताएकी छन् । नानी रोएको बहाना बनाई बालिकालाई फकाउन लगाई राती नानी लिन जाने निहुँमा बलात्कार गरेको उनले बताइन् ।

पीडित बालिका विगत साढे चार महिनादेखि विद्यालयमा अनुपस्थित रहेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए । गत जेष्ठ महिनामा ७ दिन विद्यालय आएपनि त्यसपछिका दिनहरूमा कुनै हाजिरी नरहेको उनले बताए । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा फर्म भर्ने समय आएपनि उनी विद्यालयमा उपस्थित नभएको प्रधानाध्यापकले जानकारी दिए ।

पीडित छात्रा प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षामा समेत अनुपस्थित भएको विद्यालयका प्रधानाध्यापकले बताए । पीडितका अभिभावकका अनुसार बालिकालाई मानसिक तनाव, विद्यालयमा जाँदा पनि त्यही घटना झल्को आइरहने, पढ्न मन नलाग्ने, त्यही घरमा बसेर पढ्दा राती आफै तर्सने गरेका कारण घर लिएर आएको बताए ।

पीडितका बुबाका अनुसार बलात्कारको आरोपमा पक्राउ परेका दिपेन्द्र कोइराला उदयपुर जिल्ला प्रहरी कार्यालय परिसरबाटै फरार भएका छन् । पीडक कोइरालाले आफनै घरमा डेरा गरी बस्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय कटारीले गत १३ असारमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमामा बुझाएका थिए ।

पीडकलाई पक्राउ गरी अनुसन्धान गर्ने र मुद्धा चलाउने अधिकार इलाका प्रहरी कार्यालय कटारीलाई हुँदाहुँदै सोही दिन जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्धा दर्ता गरी कारबाही अगाडी बढाउनु पर्नेमा १४ असार बिहान दुवै पक्षको अभिभावकलाई बोलाई छलफलको क्रममा आरोपित कोइरालालाई प्रहरी कार्यालयबाटै फरार गराइएको पीडितको गुनासो छ ।

पक्राउ परेकाका विरुद्ध मुद्धा दर्ता गर्न तत्कालिन प्रहरी उपरीक्षक नवराज भट्टलाई भन्दा पनि कुनै सुनुवाई नभएको अभिभावकको गुनासो छ । एसपी भट्टको कार्यकालमा अभियुक्त कोइराला फरार भएका हुन् । प्रहरी कार्यालयले त्यस समय मुद्धा दर्ता नगरी आलटाल गर्दै मिलापत्र गराउन खोजेको पीडितको अभिभावकको गुनासो छ ।

पीडकलाई कारवाही गर्न कुनै चासो नदिएको पीडितका अभिभावकको गुनासो छ । आरोपितलाई उनकै भाइ राम कोइरालाले प्रहरीकै आँखा अगाडि राजाबास–चुहाडे–मुर्कुची–नेपालटार हुँदै भगाएको पीडित पक्षले टिप्पणी गरेका छन् ।

पीडितका अभिभावकले भने–‘प्रहरीले पक्राउ गर्न चाहेको भए राजाबास, चुहाडे, मुर्कुची, नेपालटारसम्ममा पक्राउ गर्ने थियो । तर, एसपी भट्टले अपराधीलाई पक्राउ गर्न चाहेन ।’

एसपी भट्ट गत १६ साउनबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ४ पोखरामा कार्यरत छन् । पीडितका आफन्तका अनुसार आरोपित कोइरालालाई प्रहरी कार्यालयबाट उनकै भाइ राम कोइरालाले प्रहरीकै सामुन्नेबाट मोटरसाईकलमा चढाएर भगाएका हुन् ।

फरार आरोपी कोइरालालाई पक्राउ गरी कारबाही गर्न उजुरी दिएर पटक–पटक प्रहरी कार्यालय पुग्दा प्रहरीले ‘कसरी अपराधी चिन्नु, फोटो लिएर आउनू’ भन्दै टार्ने गरेको पीडितका अभिभावकले बताए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक धुर्वकुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयमा गत २१ असारमा नै मुद्धा दर्ता भई आवश्यक प्रक्रियाको लागि यस कार्यालयमा पत्र आएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *