राईनो गोल्डकपः वीरगञ्ज सेमिफाईनलमा प्रवेश

विजय चालिसे

कावासोती, २० कार्तिक।

वीरगञ्ज युथ एकेडेमी नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वाटर फाइनल अन्तरगत आज भएको खेलमा आयोजक नवलपरासीलाई ३–२ गोल अन्तरले पराजित गर्दै वीरगञ्ज सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ८ औं मिनेटमा केभिनले गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा आत्मघाती गोलमार्फत नवलपरासीले बराबरी गर्ने मौका पायो । पहिलो हाफकै २५ औं मिनेटमा चतुर्धन चौधरीले गोल गर्दै वीरगञ्जलाई फेरि २–१ को अग्रता दिलाए । पहिलो हाफकै ३५ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगञ्जलाई पहिलो हाफमै ३–१ को अग्रता दिलाए ।

पहिलो हाफमा ३–१ ले पछि परेको नवलपरासीका तर्फबाट दोस्रो हाफको पहिलो मिनेटमा सबी गुरुङले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि हार टार्न भने सकेनन् । वीरगञ्जले अब फाइनल प्रवेशका लागि २७ गते नेपाल पुलिस क्लबको सामना गरेको छ । खेलको म्यान अफ दि म्याच नवलपरासीका सुलभ मास्के भए । प्रतियोगिताका बाँकी खेलहरु तिहारपपछि मात्रै संचालन हुनेछन् । प्रतियोगिताका प्रचार–प्रसार सयोजक बिष्णु अधिकारीका अनुसार कार्तिक २५ गते च्यासल युथ क्लब र एनआरटि न्युरोड टिम भिड्दा २६ गते एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । फाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ । फाईनल खेल कार्तिक २९ गते हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *