नेपाल सम्वत एक चर्चा

लेखकः अर्जुनकुमार श्रेष्ठ

(लेखकः पूर्व शिक्षक एवम् नेवाः देय दवु कावासोती नगरकमिटि कोषाध्यक्ष तथा जनजाति महासंघ कावासोतीका उपाध्यक्ष हुन्।)

परिचयः
नेपाल सम्वत् नेपालको आफ्नै मौलिक सम्वत हो । जुन सम्वत विश्वमा अरु कुनै देशसँग सम्बन्धित छैन, यस सम्वत नेपालको आफ्नै देशको नामबाट चलाईएको हुनाले यो ऐतिहासिक र नेपाली मौलिकता बोकेको राष्ट्रिय सम्वत हो। नेपालको इतिहासलाई केलाउँदा नेपालमा शक सम्वत, नेपाल सम्वत, मानदेव सम्वत, इस्वी सम्वत, कलीगत सम्वत, विक्रम सम्वत आदि चलेको पाइन्छ ।
नेपाल सम्वत र शक सम्वत ३५४ दिनको एक बर्ष हुन्छ । सूर्यमास र चन्द्रमासका आधारमा साल गणना गर्ने चलन छ । नेपाल सम्वत चन्द्रमासको आधारमा गणना गरिन्छ । पछि नेपालमा इ.स. र वि.स. चलाएको पाइन्छ। इस्वी सम्वत र विक्रम सम्वत सूर्यमासका आधारमा गणना गरिएको हो । जसमा १ बर्षमा ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड समय लिन्छ । सूर्यमास त्यसै कारण हरेक ४ बर्षमा एक बर्ष ३६६ दिनको हुन्छ। फेब्रुअरी महिना २८ दिनको हुन्छ र हरेक चार÷चार बर्षमा फेब्रुअरी महिना २९ दिनको हुन जान्छ ।
चन्द्रमास अनुसार २४ घण्टाको १ दिनको हिसावले १ बर्षमा ३५४ दिन अर्थात बर्षमा ११ दिन कमी हुन्छ । यस अनुसार हरेक ३ बर्षमा १३ महिनाको अधिक मास सहित बर्ष गणना हुन्छ भने नेपाल सम्वतको नयाँ महिना कलचा नयाँ सालको कात्तिक शुक्ल प्रतिपदाबाट शुरु हुन्छ ।

नेपाल सम्वत अनुसार १२ महिनाको नाम यस प्रकार छन् ।

१) कछला,

२) थिंला,

३) पोँहेला,

४) सिँल्ला,

५) चिल्ला,

६) चउलाँ,

७) बछला,

८) तँछला,

९) देल्ला,

१०) गुँला,

११) ञला र

१२) कौलाँ

हरेक ३ बर्षमा थपिने महिना (जुन १३ महिनाको बर्ष हुँदा) अनला भनिन्छ । र हरेक शुक्ल पक्ष महिनाको नाममा थ्व र कृष्ण पक्षको महिनामा गाः जोडिनु (जस्तै १. कछलाथ्व, २. थिल्लाथ्व ३. पोहेंलाथ्व अनि १. कछलागाः २. थिल्लागाः ३. पोहेंलागाः यसरी क्रमशः १२ महिनालाई पक्ष अनुसार लेखिन्छ।

नेपाल सम्वतको शुरुवातः
नेपाल सम्वतको शुरुवात उत्तर लिच्छवी कालमा भएको पाइन्छ । यस सम्वतको प्रवर्तक शंखधर साख्वा हुन् । आज भन्दा ११३९ बर्ष पहिलासम्म नेपालमा करिब १ सय ५० साल जति कालखण्डमा मानदेव सम्वत पनि नचलेको देखिन्छ । त्यस वखत राजा राघवदेवको समय थियो । नेपालमा सोही समय नेपाल सम्वतको थालनी भएको पाइन्छ । जसमा कलीगत सम्वत ३९८०, विक्रम सम्वत ९३६, इस्वी सम्वत ८८०, शक सम्वत ८०२ र मानदेव सम्वत ३०३ आदि सालमा पर्दछ ।
इतिहासमा पाइए अनुसार राजा राधवदेवको पालामा जनताहरु राज्यको धनि तथा राजघरनियाका ऋणले अति थिचिएका थिए। त्यस वखत शंखधर साख्वा एक धनी व्यापारी थिए जोसँग अथाह सम्पत्ति थियो। जब राजाबाट जनतालाई ऋण तिर्न दबाब बढ्यो, कडा सजाय र जेल चलान गर्ने झ्याली पिटियो तब ऋणले आक्रान्त जनताहरु शंखधर साख्वाकोमा सहयोगको याचना गर्न पुगे तब आम ऋणीहरुको ऋण मोचन गरी दिने तर सो गरेवापत नयाँ सम्वत चलाउनु पर्ने र उक्त सम्वतको नाम नेपाल सम्वत राख्नु पर्ने शर्त ऋणी जनताको समर्थनमा राजा राघवदेवमा राखे र राघवदेव राजाले स्वीकार गरे पश्चा सबै जनताका ऋण तिरेर ऋणमुक्त गरेको दिन कात्तिक शुक्ल पक्ष प्रतिपदाका दिन नेपाल सम्वत १सुरु भएको पाइन्छ। त्यसो त ऋण तिरेको बारे एउटा किम्वदन्ती पनि प्रचलनमा रहेको छ । राजाले विष्णुमति दोभानबाट धेरै ज्यामी लगाएर वालुवा बोकाएर दरबार लैजान्थे । जुन बालुवामा सुन हुन्थ्यो, त्यस ठाउँबाट कुनै जनताले बालुवा उठाउन पाउँदैन थिए जुन कुरा शंखधर साख्वाले थाहा पाएपछि तिनै ज्यामीलाई थप पारिश्रमिक दिई रातमा बालुवा बोकाई आफूले पनि सुन प्राप्त गरेको र उक्त सुनबाट धन सम्पत्ति अथाह आर्जन गरी सोही धनले सबैको ऋण तिरिदिएको भन्ने पनि किम्वदन्तीमा पाइन्छ । नेपाल सम्वतको प्रमाणिकरणका रुपमा राजा प्रतापसिंहले ल्हासासित गरेको सन्धिपत्रमा ने.स. ५३५ उल्लेख गरेको पाइन्छ । भारतको आसाम कुच, विहारका राजा प्राणनारायणले पनि नेपाल सम्वत अंकित मुद्रा निकालेका थिए। जसबाट छिमेकी मुलुकमा समेत ने.स.को प्रचलन भएको पाइन्छ।

नेपाल सम्वतको महत्व र प्रचलनः
नेपालमा प्रचलनमा रहकेो धार्मिक कार्य, जन्म मृत्यु, श्राद्ध, चाडपर्व, माता तिर्थ औंसी, पितृ औंसी, एकादशी व्रत, सरस्वती पूजा, श्री स्वस्थानी व्रत कथा, शिवरात्री, सतविज छर्ने, बालाचर्तुदशी, लक्ष्मीपूजा, दशैं तिहार, राम नवमी, विवाह पञ्चमी, छठ आदि नेपालका सबै जाति सम्प्रदायले अझ मुस्लीम सम्प्रदायको इद, मोहरम, बकरिद आदि समेत नेपाल सम्वतबाट प्रचलनमा आएको तिथिका आधारमा हाल पनि मानी आइएको तथा चलि आएको हाम्रो परम्पराले पनि नेपाल सम्वतको महत्वलाई झल्काइ रहेको छ। यो नेपाल सम्वत नेवार समुदायको सम्वतको रुपमा पनि लिने गरिन्छ । तर यो किन होला भने हरेक बर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष (न्ह्यू दयाँ) को दिन नेवार समुदायले म्हँ पूजा (आत्म÷अंग) शरीरलाई बर्षभरी जानीनजानी भए गरेका नराम्रा कामहरु पखाल्न, मण्डला (रेखी) लगाई दीप प्रज्वलन गरी अग्नी साक्षी राखी फूलले नुहाई जनै (जजंका) धारण गर्ने र शरिर आत्म (म्हँ) शुद्धि गर्ने दिनको रुपमा आज पनि निरन्तर मनाइदै आइएको छ। सोही कारण नेपाल सम्वत नेवार समुदायको पेवाको रुपमा अन्य समुदायले दोषारोपण गर्ने गर्दछ, यो गलत हो । नेपाल राष्ट्रको नाममा चलेको सम्वत कसरी नेवार जातिको मात्र सम्वत हुन सक्छ र ? बरु नेपाल सम्वत सबै नेपालीहरुको राष्ट्रिय गौरवको सम्वत हो।

नेपाल सम्वत र आन्दोलनः
नेपाल सम्वत नेपालको आफ्नै मौलिक सम्वत हुँदाहुँदै पनि त्यसलाई गौण गरी नेपालमा लिच्छिवी काल र मल्ल कालमा स–सम्मान राष्ट्रको सम्वतका रुपमा मान्दै आएकोमा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे पछि नेपाल सम्वत ८८८ मा भारतीय शक सम्वत प्रचलनमा ल्याएर नेपाल सम्वत माथि प्रहार गरियो तर, सांस्कृतिक र धार्मिक रुपमा चलिआएको मान्यताका कारण यसको प्रचलन रोक्न भने सकेन। त्यस्तै जंगबहादुरले मुलुकी ऐन जारी गर्दा नेपाल सम्वतलाई बन्देज लगाई दोस्रो प्रहार गरे। फेरि चन्द्र सम्शेरले धुत्र्याई गरी हरेक ३ बर्षमा १३ महिना हुँने हुँदा एक महिनाको कर्मचारी खर्च तलबभत्ता कम गर्नका लागि सरकारलाई घाटाबाट बचाउने बाहनामा वि.सं. १९६० देखि नेपाल संम्वत खारेज गरिउत्तर भारतको गुजरातको उज्जैन नगरका राजा विक्रमादित्यका नाममा प्रचलनमा रहेको विक्रम सम्वतलाई नेपालमा भित्र्याई लागू गरे। जुन हाल नेपालको सरकारी कामकाजमा लागू भईरहेको छ। नेपाल सम्वत् १०७१ (वि.सं. २००७) पछि नेपालमा राणा शासनको अन्त्य भयो। जुनकालमा नेपाल सम्वतलाई प्रयोगमा पूर्ण रोक लगाइएको थियो । त्यस पश्चात संगठित रुपमा प्रेमबहादुर कसाःजुले च्वासपासा संस्था स्थापना गरी नेपाल सम्वतको नवबर्षलाई सार्वजनिक चाडको रुपमा मनाउने परम्पराको थालेनी गर्यो । यो निरन्तर १० बर्ष चलेपछि राजा महेन्द्रको ‘कु’ प्रतिगामी कदमले नेपाल सम्वत १०८२ (वि.सं. २०१८) देखि नेपाल सम्वतको प्रचार अभियान रक्षात्मक स्थितिमा पुग्यो। राज्य सरकारको नेपाल सम्वत र संस्कृतिमाथिको प्रहारबाट आक्रान्त भई नेपाल सम्वत प्रेमीहरु खास गरी नेवार समुदायका अगुवा पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल सम्वत १०९९ (वि.सं. २०३६)मा नेपाल भाषा मंका खलः को गठन गरी नेपाल सम्वतको राष्ट्रि महत्वलाई उजागर गर्दै “भाषा रहे जाति रहन्छ, जाति रहे राष्ट्र रहन्छ”, “नेपाल सम्वत राष्टिूय सम्वत सरकारले मान्यता दिनै पर्छ” भन्ने सन्देश र नारा सहित मोटरसाइकल र्याली, शोभायात्रा, गोष्ठी, सभा समारोह गरी काठमाडौं उपत्यका भित्र र बाहिर समेत आमजनतालाई जागुरक बनाउने कार्य नेवार समुदायको नेतृत्वमा भएको थियो । सायद यही कारण पनि नेपाल सम्वत नेवारको सम्वत भन्ने धारणाको विकास भएको हुनु पर्दछ । तर, नेपाल सम्वत आमनेपालीको साझा र एउटै मौलिक राष्ट्रिय सम्वत हो ।

नेपाल सम्वत वर्तमान र दायित्वः
२०४६ को राजनीतिक परिवर्तनसंगसंगै संगठित र एकताबद्ध आन्दोलनका कारण नेपाल सम्वत् ११२० कचलाथ्व १० (वि.सं. २०५६ मंसिर २ गते) मन्त्री परिषदको वैठकले नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वालाई १४ औं राष्ट्रिय विभुतिको रुपमा घोषणा गर्यो । नेपाल सम्वतको न्ह्यू दयाँ (नया बर्ष)को शुभारम्भमा ११२४ कछलाथ्व ५ (वि.सं. २०६० कात्तिक १३ गते) का दिन शंखध्वर साख्वाको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरि नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा मान्यता प्राप्त भएको छ । राणा प्रधानमन्त्री चन्द्र सम्शेरले विक्रम सम्वत १९६० मा लगाएको प्रतिबन्द ठिक सय बर्ष पछि वि.सं. २०६० मा राष्ट्रिय मान्यता पाउनुले आफैमा ऐतिहासिक महत्व झल्किन्छ ।

नेपाल सम्वत प्रयोग सम्बन्धमा
नेपाल सम्वतको प्रयोग नेपाली पञ्चांग र पात्रोहरुमा परापूर्वकालदेखि निरन्तर लागू हुँदै छापामा समेत प्रयोग हुदै आई रहेको पाइन्छ । हाल नेपालका सञ्चार माध्यम, पत्रपत्रिका, रेडियो, टेलिभिजन सबैमा नेपाल सम्वतको प्रयोग हुँदै आइरहेको सर्वविदित्तै छ। अब नेपालको प्रगतिशिल वामपन्थीको दुई तिहाईको स्थायी सरकार स्थापित भएको वर्तमान परिप्रेक्षमा विक्रम सम्वत र इस्वी सम्वत दुवै इतिहासको कालखण्डदेखि प्रयोग हुँदै आइरहेको तर नेपालको आफ्नै देशको नाममा प्रचलित मौलिक सम्वत नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषित भईसकेर पनि नेपाल सरकारले प्रयोगमा ल्याउन कन्जुस्याई गरेको छ । यस सम्वतलाई विज्ञ, विद्वान, ज्योतिषविद् र पञ्चांक विदहरुको परामर्शमा नेपाल सरकारको कामकाजी भाषाको रुपमा नेपाल सम्वत र विश्व परिवेशमा इस्वी सम्वत अनिवार्य भईसकेको हुँदा र अन्तराष्ट्रिय सम्बन्धमा प्रचलनमा पनि स्वतः प्रयोग गर्नु पर्ने भएको ले विक्रम सम्वत भारतको एक राजाको नामबाट स्थापित र आयातित सम्वतलाई विस्थापित गरी नेपाल सम्वत र इस्वी सम्वत मात्र सञ्चालन गर्ने र बरु नेपाल सम्वतका महिनाका नामहरुलाई विज्ञहरुको राय अनुसार आंशिक परिमार्जन गरी प्रयोगमा ल्याउनु वान्छनीय देखिन्छ । साथै चाडपर्व खर्च स्वरुप १३ महिनाको कर्मचारी तलबभत्ता दिने प्रचलन रहेको हुँदा खर्चमा पनि व्ययभार नथपिने भएकोले राष्ट्रको गौरव आमनेपालीको मौलिक सम्वत नेपाल सम्वत एउटै साझा सम्वत भएकोले यसलाई स्थापित गरी विश्वकै नयाँ प्रयोग गर्नु नेपाल सरकारको ऐतिहासिक र महत्वपूर्ण कदम हुने छ।

(स्रोतः नेपाल सम्वत र म्हँ पूजा, नेवा दे दबु जिल्ला कार्यसमिति इलाम २०६८ प्रतिवेदन)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *