प्रदेश ३ को नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !

0

काठमाडौ, २५ कात्तिक ।




प्रदेश ३ को नाम र राजधानी तोक्ने जिम्मा प्रचण्ड र ओलीलाई दिइने भएको छ ।
प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई संकट परेको छ ।
प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने तयारी सरकारको छ ।
सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ । प्रदेशको नाम भने प्रस्तुत भएको छैन ।
देशको राजधानी समेत रहेको यो प्रदेशको नाम र राजधानीको टुंगो नेकपाको शीर्ष नेतृत्वबाटै लगाइने स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश राजधानी काभ्रेपलान्चोक वा भक्तपुर कायम गर्न चाहन्छन् ।
तर, अर्का अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचित भएकाले त्यहाँको मनोविज्ञानमा छन् । उनले अहिलेको हेटौंडालाई नै कायम गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ तर, नेकपाका बहुसंख्यक प्रदेशसभा सदस्यहरु हेटौंडाको विपक्षमा छन् ।
प्रदेश ३ को ११० सदस्यीय प्रदेशसभामा काठमाडौं उपत्यकाबाट निर्वाचित सदस्यहरुनै लगभग बहुमतमा छन् ।
प्रत्यक्ष निर्वाचित ६६ मध्ये ३३ जना उपत्यकाबाट निर्वाचित छन् । समानुपातिक समेत जोड्दा उनीहरुको बाहुल्य छ ।
प्रदेशसभामा सम्भावित राजधानीका लागि काभ्रे, भक्तपुर, नुवाकोट, हेटौंडा र चितवनको नाम प्रस्ताव गरिएको छ । तर अहिले नेकपाभित्र हेटौंडा कि काभ्रे भन्ने बहस छ ।







सम्बन्धित
Loading...