नवलपरासीका विभिन्न तालतलैयाहरुमा अस्ताउंदो सूर्यलाई अर्घ दिई छठ मनाइयो

0

शोभा जिसी
नवलपरासी, २७ कात्तिक ।




नवलपरासीको त्रिवेणीमा अस्ताउंदो सूर्यलाई अर्घदिंदै / तस्वीरः प्रेमचन्द्र रौनियार

पूर्वी र पश्चिम नवलपरासीका तालतलैयाहरुमा छठपर्व मनाइएको छ ।
नवलपरासीमा पहाडीया र तराईबासी दुवै मुलकाले एकैसाथ पर्व यो पर्व मनाएका छन् । नवलपरासीमा मुख्य गरी नारायणी, स्वर्ण भद्रा र पूर्ण भद्रा नदीको संगम त्रिवेणीमा छठ पर्वको ठूलो मेला लागेको छ भने पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको झराही खोलामा पनि ठूलो मेला लागेको छ ।
परासीको झराही खोलामा मेला व्यवस्थापनका लागि मात्रै रामग्राम नगरपालिकाले १८ लाख खर्च गरेको छ ।
नवलपरासीमा त्रिवेणी र परासीका अलावा बर्दघाटे खोला, भुजहवा खोला, रामपुरवा झराही नदी खोला, हरपुर झराही नदी, महेषपुर बस पार्क, त्रिवेणी, कुडिया, नर्सही, गोपीगञ्ज, सेमरी, प्रतापपुर, ठूलो खैरटहवा, सोमनी लगायतका क्षेत्रमा छठ पर्वको सानाठूला मेलाहरु लागेका छन् ।
नवलपरासीमा रहेका तालतलैया तथा नदी खोला किनारमा मंगलबार सांझ अस्ताउंदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ ।
बुधबार विहान उदाउंदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुने गर्दछ ।
मंगलबार छठ पर्वको मुख्य दिन हो । सोमबार राति दर खाएर मंगलबार विहानैदेखि छठ पर्व मान्नेहरु पानी समेत नखाएर व्रत बस्ने गर्दछन् । बुधबार छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र व्रत सकिने गर्दछ ।
आज छठ पर्वको मुख्य दिन मंगलबार दुलही झैं सिंगारिएका नदी तालतलैया तथा खोला किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ ।
छठ पर्वमा मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बस्ने प्रचलन पनि छ ।
बुधबार अन्तिम दिन सूर्यलाई अर्घ दिंदा लगेका केरा, सुथनी, डण्डी, उखु, सिंहाडा, बदाम, बेसारको बोट, काँचो अदुवाको बोट, नरिवल, विभिन्न प्रकारका फलहरु कागती, काँचो चना, फर्सी, अनार, स्वाउ, सुन्तला, बेलौती लगायतका प्रसादहरु एक अर्कालाई वितरण गर्दै छठ समापन गरिने त्रिवेणीका पत्रकार प्रेमचन्द रौनियारले बताए ।




कुनै बेला मधेषी मुलको समुदायको पर्व मात्रै भनेर चिनिने छठ पर्व अहिले मधेष र पहाडीया सबै क्षेत्रको साझा पर्वको रुपमा विकास भएको रौनियारले बताए । यस पर्वमा महिलाहरु आफ्ना छोराछोरी, श्रीमान तथा आफन्तको को दिर्घायू, समृद्धिको लागि व्रत बस्ने गर्दछन् ।
त्रिवेणीमा मेला तथा छठ पर्व मान्न आउनेको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुद पारिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
प्रमुख जिल्ला अधिकारी नेपालले सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षाकर्मी परिचालन गरेको बताए ।
यता पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको झराही खोलामा पनि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ ।




सम्बन्धित
Loading...