थाहा पाउनुहोस् काठमाडौंमा कतिदिनसम्म जोर–बिजोरमा कुद्नु पर्ने हो ?

0 28







काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहीबारबाट ४ दिनको लागि जोर–बिजोर प्रणाली लागु गरेको छ ।

काठमाडौंमा मंसिर १४ गतेदेखि १७ गतेसम्म हुन लागेको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गरिएको हो । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सीमा हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुनेछ । मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन । यस्ता सवारीसाधनहरु अन्य दिनहरुमा जस्तै निर्वाध चल्न सक्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बिहीबार अर्थात् आज म्यान्मारकी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदैछन् ।

उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले उनीहरु कुनै कार्यक्रममा सहभागी हुनेबारे भने जानकारी गराएको छैन । उनीहरु सद्भावना भ्रमणका लागि आउने मात्र उल्लेख गरेको छ ।

अर्कातिर भने सर्वसाधरणलाई जोर–बिजोर प्रणालीले निकै नै सास्ती बनाएको छ । ठाउँमा समयमा नपुग्दा तथा भनेको समयमा गाडी नपाउँदा ट्याक्सीमा जानु पर्ने स्थिति सिर्जना भएको छ । ट्याक्सीले पनि जोर–बिजोरको फाइदा उठाउँदै मनलाग्दो भाडा असुली रहेको छ ।

You might also like
Loading...