पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैया घट्यो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्यमा गिरावट आएको निकै लामो समयपछि बल्ल निगमले सोमबार राती १२ बजे देखि लागू हुनेगरी इन्धनको मुल्य घटाएको हो ।

अहिले निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्यसूचीअनुसार अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम गरिएको छ । यसैगरि, डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणाली अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको गोइतले जानकारी दिए । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर रहेकाले मूल्य समायोजनमा केही समस्या हुने गरेको निगमको भनाइ छ । सोमवार बसेको निगम सञ्चालक समितिको बैठकले इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

Related Articles