क्रान्तिकारी पत्रकार महासंघको पोखरामा प्रदेश भेला सम्पन्न

32







पोखरा, २१ मंसिर । क्रान्तिकारी पत्रकार महासंघको प्रदेश भेला पोखरामा सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गर्दै महासंघका अध्यक्ष इन्द्र राउतले पत्रकारले राष्ट्रियता र जनजीविकाको सवालमा आवाज उठाउनु पर्नेमा जोड दिए । उनले नेपाल पत्रकार महासंघलाई छाता संगठनको रुपमा मान्दै गर्दा त्यस अनुरुपको व्यवहार नभएको भन्दै दुई दलको भागबण्डामा महासंघ चलेको दाबी गरे ।
नेकपा (क्रान्तिकारी माओवादी) पोलिटव्यूरो सदस्य श्रीनाथ अधिकारीले अहिलेसम्मका क्रान्तिहरु अधुरा भएकाले फेरि नयाँ क्रान्तिको तयारी गर्नुपरेको बताए ।
पार्टी पोलिटव्युरो सदस्य एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गण्डकी प्रदेशका संयोजक केशबहादुर परियारले वर्तमान सरकारका गतिविधिले देश ०४६ साल पछाडि धकेलिएको बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले विकृति विसंगतिका विरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिँदै सरकारबाट स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने काम भइरहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले चुनावी रणनीतिका कुरालाई लिएर पत्रकारले प्यारालाल संगठन बनाउन नहुनेमा जोड दिए ।
महासंघ केन्द्रीय कमिटिका सचिव रामकुमार श्रेष्ठले पत्रकारहरु सबै आआफ्नो मिसनमा लागेको भए पनि जनताको जनजीविकाको पक्षमा ओकालत गर्नु आवश्यक रहेकोमा जोड दिए ।
कान्तिपुर दैनिकका लालप्रसाद शर्माले पत्रकारहरुले स्वतन्त्र रुपमा कलम चलाउनुपर्नेमा जोड दिए ।
प्रदेश नं. ४ का संयोजक गोपाल जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जय तिवारीले स्वागत तथा सागर सुवेदीले सञ्चालन गरेका थिए ।
भेला पछिको बन्द शत्रले गोपाल जिसीको संयोजकत्वमा ७ सदस्यीय प्रदेश कमिटि गठन गरेको छ । जसको सदस्यहरुमा संजय तिवारी, राजेन्द्र सुवेदी, निर्मल पौडेल, शोभा जिसी, सुमन विश्वकर्मा रहेका छन् । एक सदस्य पछि थप गर्ने जनाइएको छ ।
त्यसैगरी प्रदेश ७ को भेला पुस ७ गते अत्तरिया कैलालीमा हुने भएको छ ।

You might also like
Loading...