कर्मचारी समायोजन प्रक्रिया सुरु, एक लाखको विवरण सार्वजनिक गरिँदै





काठमाडौं । मुलुकमा संघीयता लागू भएको तीन वर्षपछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया सुरु भएको छ ।
सरकारले स्वीकृत गरी पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेसँगै कर्मचारी समायोजन प्रक्रिया सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै सरकारले अध्यादेशलाई राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याएको हो ।
सरकारले संविधानको धारा ३०२ को उपधारा ३ बमोजिम कर्मचारी समायोजन प्रक्रिया सुरु गरेको हो । संविधानको सो धारामा संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई नेपाल सरकारले कानुनबमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सक्ने भन्ने व्यवस्था गरिएको छ ।

अध्यादेश लागू भएसँगै निजामतीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका २ हजार गरी करिब १ लाख ६ हजार कर्मचारीलाई समायोजन प्रक्रियामा सामेल गराउनेगरी कार्य प्रारम्भ गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । ‘अब कर्मचारी समायोजन प्रक्रिया सुरु भयो, सबै कर्मचारी समायोजनका लागि तयारी अवस्थामा बस्नुपर्नेछ,’ सचिव थपलियाले राजधानीसँग भने । समायोजन प्रक्रियामा राष्ट्रसेवकका रूपमा रहेका सबै कर्मचारीलाई संलग्न गराइनेछ ।
सचिव थपलियाका अनुसार अब देशभरका तीनवटै तहको संगठन संरचना र दरबन्दीको अन्तिम टुंगो लगाइनेछ । त्यसपछि सफ्टवेयरमार्फत सबै कर्मचारीको विवरण वेबसाइटमा सार्वजनिक गरी समायोजन प्रक्रियामा सामेल हुन आह्वान गरिने सचिव थपलियाले बताए ।




यसअघि सरकारले संघमा ४५ हजार ८५८, प्रदेशमा २१ हजार ३९९ र स्थानीय तहमा ५७ हजार कर्मचारी रहनेगरी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको थियो । तर, यसमा अब फेरबदल गर्न सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको छ । यसअघि प्रदेश र स्थानीयमा श्रेणीगत व्यवस्था गरिएकोमा अब तहगत व्यवस्था गरिनेछ ।

अाजकाे राजधानी दैनिकमा खबर छ ।




सम्बन्धित
Loading...