तीन वर्षीया बालिका बलात्कृत, अवस्था गम्भीर





नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा पुनः बलात्कारको क्रुर घटना सार्वजनिक भएको छ । ती बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएको बताइएको छ । उनको गम्भीर अवस्थामा उपचार जारी छ ।




बालिका बस्ने गरेको भवनमा सुरक्षा गार्डका रूपमा कार्यरत ४० वर्षीय पुरुषलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । बलात्कारपछि अचेत बनेकी ती बालिकालाई प्रहरीले तत्कालै अस्पताल पुर्याएको थियो ।

दिल्लीमा एउटा बसमा एक किशोरीमाथि क्रुरतापूर्वक बलात्कार गरिएको घटनाको ६ वर्ष पुगेकै दिन आइतवार तीन वर्षीया नाबालिकामाथि बलात्कारको घटना बाहिर आएको हो ।

दिल्लीकी महिला आयुक्त स्वाती मालिवालले यो घटना ६ वर्षअघिको घटनाभन्दा पनि क्रुर र निराश बनाउने खालको भएको टिप्पणी गरेकी छन् । घटनाको विरोधमा भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए ।

बालिकाको शल्यक्रिया जारी रहेको बताइए पनि उनको अवस्थाबारे पूर्ण जानकारी बाहिर ल्याइएको छैन । पीडित बालिकाका आमाबुवा दैनिक ज्यालादारी गर्ने र उनीहरु घरमा नभएका मौका छोपेर बालिकामाथि बलात्कार भएको बताइएको छ ।

आरोपित व्यक्तिले मिठाइको प्रलोभन देखाएर बालिकालाई घर बाहिर लगेका थिए । प्रहरीले आरोपितविरुद्ध बालबालिकालाई यौन आक्रमणबाट जोगाउने ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ । सो आरोप प्रमाणित भए मृत्युदण्डको सजाय हुनसक्छ ।

बलात्कारको पछिल्लो क्रुर घटनाले भारतभर आक्रोश जन्माएको छ । गत अप्रिलमा भारत प्रशासित कश्मीरमा एक ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा भारतसहित अन्य देशमा समेत प्रदर्शन भएको थियो । गत जुनमा मध्यप्रदेशमा एक सात वर्षीया बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको थियो ।




सम्बन्धित
Loading...