तमु ल्होसारको महत्व


रुद्रबहादुर गुरुङ
कावासोती, नवलपुर

गुरुङ राष्ट्रिय परिषद नवलपरासीका पूर्व जिल्ला अध्यक्ष



तमु ल्होसार गुरुङ समुदायले मनाउने गुरुङ समुदायको महान् पर्व हो । यो मितिमा आधारित हुने गर्दछ । यो हरेक बर्ष पुस १५ दिन पर्दछ। यस बर्ष पुस १५ का दिन ‘खि ल्हो’ (कुकुर वर्ग) लाई विदाई गरेर ‘फो ल्हो’ (मृग वर्ग) लाई स्वागत गरिदै छ। अर्थात आजबाट ‘फो ल्हो’ (मृग वर्ग) शुरु भएको छ। आज २६०२ तोला ल्होसार अर्थात तमु ल्होसारको पहिलो हो । अर्को अर्थले भन्दा तोला ल्होसार (गुरुङ समुदायले मान्ने सम्वत्) अनुसारको आज नयाँ बर्ष २६०२ हो । गुरुङ समुदायले पुस १५ मा सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुने तथा आजैबाट शीत ऋतु समाप्त हुने भएकोले पनि विशेष महत्वका साथ पुस १५ अर्थात तमु ल्होसार मान्ने गर्दछन् ।

तमु ल्होसारको धार्मिक महत्वः


तमु ल्होसार बौद्ध, हिन्दु लगायत जुनसुकै धर्म मान्ने गुरुङहरुले साझा पर्वको रुपमा आफ्नो समुदायको एउटा महान पर्वको रुपमा मान्ने गर्दछन् । जसरी राशी वाह्र वटा हुन्छ त्यसैगरी गुरुङ समुदायको १२ वटा वर्ग हुन्छ। तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । ती वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाहा पाउन सकिन्छ । जस अनुसार वर्ग यस प्रकारका छन् । बाघ वर्ग (तो ल्हो), बिरालो वर्ग (हि ल्हो), गिद्द वर्ग (मुप्री ल्हो), सर्प वर्ग (सप्री ल्हो), घोडा वर्ग (त ल्हो), भेंडा वर्ग (ल्हु ल्हो), बादर वर्ग (प्र ल्हो), चरा वर्ग (च्हया ल्हो), कुकुर वर्ग (खि ल्हो), मृग वर्ग (फो ल्हो), मुसा वर्ग (च्यु ल्हो), गाई वर्ग (ल्वोँ ल्हो) ।
जुन वर्ग जनवारको प्रतिकको नामसंग मिलेको हुन्छ त्यो वर्ष त्यही जनवारको आनीवानी, हाउभाउ, उसको रुची, व्यवहारसँग मिल्दो जुल्दो हुन्छ भन्ने धार्मिक मान्नेता छ। जस्तो यो बर्ष मृग वर्ग अर्थात ‘फो ल्हो’ हो भने यो बर्ष मृग जस्तै शान्त, सुन्दर, शितल हुने छ भन्ने धार्मिक महत्व रहेको छ। जुन वर्ग भएको बर्ष व्यक्ति जन्मन्छ उसलाई त्यही वर्गको मानिन्छ । जस्तो कि आजबाट एक बर्षसम्म जन्मने बालकको वर्ग मृग वर्ग हुनेछ ।
गुरुङहरुले शुभ अशुभ कार्यहरुमा वर्ग हेरेर कार्यक्रम गर्ने गर्दछन्। जस्तै विवाह गर्दा, घरघडेरी किन्दा, घर बनाउँदा, बसाईसराई जस्ता शुभ कार्य गर्दा जुन वर्ग त्यो बर्ष शुभ छ उसलाई अघि सारेर वा उसको हातबाट शुरुवात गरिन्छ ।
तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा रहेका गुरुङ समुदायले पनि मान्दछन्। ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्काे नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पती भएको मानिन्छ ।
गुरुङ समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै बेला एउटा गर्भवती महिलाको मृत्यु भयो र उसलाई अन्तिम संस्कार गरी जमिनमा गाडियो। गर्भवती महिलाको मृत्यु भएपनि उसको गर्भमा रहेको बच्चा जीवितै रहेको र पछि ऊ आमाको गर्भबाट राक्षषी रुप लिएर जन्म लिई मानिसहरुलाई दुःख दिने, सताउने गर्न थाले पछि गुरुङ समुदायको लामा गुरुहरुले उसलाई तन्त्रमन्त्रबाट नियन्त्रणमा लिई उसको दुखकष्टबाट समाजलाई मुक्ति दिलाएको सम्झनामा पनि तमु ल्होसार मान्न शुरु गरिएको हो भन्ने मान्यता रही आएको छ।
यसरी नियन्त्रणमा लिइएको राक्षस रुपलाई राक्षसको प्रतिक बनाइ त्यसलाई लामागुरुहरुद्वारा विधिपूर्वक पूजापाठ गरी हरके बर्ष ल्होसारको दिन विहान पख दाहासंस्कार गर्ने गरिन्छ। यसो गर्दा नयाँ बर्षको नराम्रो ग्रहदशाहरु कटी शान्त हुने छ। गह्रदशा काट्ने पूजालाई गुरुङ भाषामा ‘टेने कोशे त्हें’ भनिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि सबै जना आआफ्नो समाजघर वा गुम्बामा जम्मा भई यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । एउटा वर्गलाई विदाई गरेर अर्को वर्गको स्वागत गर्ने क्रममा त्यो रात १२ बज्नुभन्दा १ मिनेट अगाडि विदाई गर्ने र स्वागत गर्ने दुई वटा वर्गको प्रतिक बनाई विदाई गर्ने वर्गलाई तपाई राम्ररी जानु, दुःख नदिनु भनेर धनुषबाँध हानेर विदाई गरिन्छ भने १२ बज्ना साथ स्वागत गर्ने वर्गको प्रतिकलाई धनुषबाँण हानी हर्षउल्लाहासका साथ स्वागत गर्ने गरिन्छ।
ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । यो दिन गुरु· समुदाय एक ठाउँमा जम्मा भएर मिठामिठा परिकारहरु खाने, नयाँ वस्त्र लगाउने, नाँचनाँच गर्ने, एक आपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान गर्ने गर्दछन् । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले यस दिन राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य ठुला व्यक्तित्वद्वारापनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।
गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् । गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, मनाङ, मुस्ताङ, चितवन (केही पहाडि भूभाग) गुरुङ जातिको पुर्खौली थलो हो भने अहिले यो समुदाय देशका अधिकांश जिल्लामा छरिएर रहेका छन्। नेपाल बाहेक विश्वका बेलायत, अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत आदि देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ । नेपाल लगायत विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन्।

राष्ट्रिय पर्व र विदाः

गुरुङ समुदायले मनाउने तमु ल्होसारले २०५८ सालदेखि राष्ट्रिय पर्वको रुपमा मान्यता पाएको हो ।
त्यसैगरी तामाङको सोनाम ल्होसार, शेर्पाको ग्याल्भो ल्होसार, मगरको माघे संक्रान्ति, थारुको माघी लगायतका पर्वहरुले २०६४ सालबाट राष्ट्रिय पर्वको रुपमा मान्यता पायो। यही आधारमा ती पर्वहरुमा राष्ट्रिय रुपमै सार्वजनिक विदा दिएर आदिवासी जनजातिहरुको केही माग राज्यले सम्बोद्धन गरेको थियो । तर, पछिल्लो समय २०७५ सालबाट जनजाति समुदायका यस्ता पर्वहरुलाई राष्ट्रिय पर्वको रुपमा हटाई राष्ट्रिय रुपमा सार्वजनिक विदा दिने प्रचलन हटाएको छ। जुन आदिवासी जनजातिहरु माथि राज्यले गरेको एउटा अन्याय हो। यसलाई रोकी तत्काल यस्ता पर्वहरुमा सार्वजनिक विदा दिनु आवश्यक छ।




सम्बन्धित
Loading...