प्रदेश २ मा फोरम–राजपा गठबन्धनको विकल्प छैन : उपेन्द्र यादव

18







सप्तरी १८ पुस। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाहिर हल्ला भएजस्तै प्रदेश २ को सरकार हेरफेर नहुने बताएका छन् ।

उनले मधेसमा फोरम–राजपा गठबन्धन सरकारको विकल्प नभएको बताए । राजविराजमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै यादवले प्रदेश सरकार तत्काल परिवर्तन हुन नसक्ने बताए र सरकार परिवर्तनबारे बाहिर रहेको हल्लाको पछि नलाग्न आग्रह गरे ।

यादवले संविधान संशोधनको मामिलामा सरकार सकारात्मक रहेको बताए । उनले संशोधनका लागि आवश्यक गृहकार्य भइरहेको बताउँदै संविधान संशोधनको विषयको कुनै समयसीमा नहुने उल्लेख गरे ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने सरकारी निर्णयसँगै जग्गा हेर्ने काम शुरु गरिसकिएको बताए । ‘राजविराजमा जग्गा भेट्नेवित्तिकै काम शुरु हुन्छ’ उनले भने । यो स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण भएपछि सप्तरी जिल्ला स्वास्थ्य उपचारको केन्द्रबिन्दु बन्ने उनले विश्वास व्यक्त गरे ।

११ दिने शिविर ल्याइने

मन्त्री यादवले सप्तरीमा ११ दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी दिए । आफू शिविरसम्बन्धी कुरा गर्न नै यहाँ आएको बताउँदै उनले स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा फागुन १ गतेदेखि निःशुल्क शिविर गरिने बताए ।

शिविरमा नेपाली सेना र मन्त्रालयका चिकित्सकले सबै किसिमको रोगको जाँच, उपचार र शल्यकृया समेत गर्ने जानकारी उनले दिए । सप्तरीसहित आसपासका जिल्लाका जनतालाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिने बताउँदै उनले यसबाट स्वास्थ्यमा सुधार आउने विश्वास व्यक्त गरे ।

सप्तरीको नाममा कर्मचारी किन काँप्छ ?

सप्तरीकै जनप्रतिनिधि रहेका यादवले सप्तरी आउने नाममा चिकित्सक र कर्मचारी थरथर काँप्ने गरेको आफूले पाएको बताए । शिविरबारे छलफल गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आयोजित छलफलमा मन्त्री यादवले भने, ‘यस्तो स्थिति नआओस् र सबैले मिलेर काम नगरिए यो बदनामी हट्दैन ।’

सप्तरी आएर कर्मचारीले स्थानीयको राम्रो साथ र सहयोग पाएको भन्न सकिने वातावरण बनाउनु स्थानीयकै दायित्व भएको उनले बताए । जाँडरक्सी पिएर अस्पताल पस्ने, हो–हल्ला गर्ने, पान, गुटखा खाएर अस्पतालमा जथाभावी थुक्ने, आफ्ना चौपायालाई अस्पतालभित्र छाडा छाड्ने काम यसअघि धेरै भएको बताउँदै उनले अहिले केही सुधार भएको र यसलाई सधैंका लागि सुधार गर्नुपर्ने बताए ।

उनले स्थानीयले राम्रो वातावरण बनाए यस अस्पतालका लागि आफू हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए । अहिले चिकित्सकहरु अस्पतालमा आइरहेको र खटाइएको अवस्थामा पनि नआएको भए जानकारी गराउन उनले अस्पताल प्रशासनलाई निर्देशन दिदैं भने, ‘अब लटर पटर चल्दैन ।’

You might also like
Loading...