सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुने



कावासाेती, १९ पुस ।
नेपाल प्रेस युनियन नवलपुरद्वारा स्थापना गरिएको सूर्यभक्त –पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारवाट यस वर्ष चार जना पत्रकारलाई सम्मान गरिने भएको छ ।
प्रजातन्त्रका सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारीको स्मृतिमा उनका जयेष्ठ सुपुत्र मदनभक्त अधिकारीको सहयोगमा अक्षयकोषको स्थापना गरिएको हो ।
नेपाल प्रेस युनियनको बिहिबार कावासोतीमा सम्पन्न बैठकले पत्रकारिता पुरस्कारबाट पत्रकारहरु पोषण के. सी., वसन्त प्रकाश उपाध्याय, पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको यूनियनका जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीले जानकारी दिए।
प्रेस यूनियनले प्रत्येक वर्ष वितरण गर्दै आएको पुरस्कार विविध कारणवाट २०७४ सालमा वितरण भएको थिएन । यस पटक गत वर्ष र अहिलेको गरी दुई वर्षको एकैसाथ वितरण गर्न लागिएको यूनियनले जनाएको छ ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा पुस २२ गते आइतबार कावासोतीमा पुरस्कार वितरण कार्यक्रम गरिने छ । यूनियनद्वारा स्थापित यस पुरस्कारबाट पत्रकारहरुलाई ताम्रपत्र, दोसल्ला र नगदबाट पुरस्कृत गरिनेछ । यस पुरस्कारबाट अहिले सम्म करिव २० जना पत्रकारहरु सम्मानित भइसकेका छन् । यो पुरस्कार प्रेस युनियनले स्थापना गरेको पहिलो ठूलो पुरस्कार समेत हो । पुरस्कार स्थापनाको लागि सूर्यभक्तका सुपुत्र एवं नेपाली काँग्रेसका नेता मदनभक्त अधिकारीले ५ लाख रुपैयाको अक्षयकोषको स्थापना गरेका थिए।







सम्बन्धित
Loading...