रेशम चौधरीले लिए सपथ

68







काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् ।

सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।

कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ ।

फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । राष्ट्रिय जनता पार्टीले लामो समयदेखि चौधरीलाई सपथ खुवाउनुपर्ने माग गर्दै आएको थियो । तर, सरकारले त्यसलाई वेवास्ता गर्दै आएको थियो ।

पछिल्लो पटक राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा सभामुखले सांसद चौधरीलाई सपथ खुवाएका हुन् ।

माला र खादा लगाएर फेरि जेल ?

सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेक हुन् ।

‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ उनले भने ‘यो लोगोको सम्मान के हो ? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।’

जनताले जिताएपछि सपथ स्वाभाविक : सरकार

सरकारले जनताले जिताएर पठाएपछि रेशम चौधरीको सपथ स्वाभाविक भएको टिप्पणी गरेको छ ।

टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले बिहीबार मात्र सपथ लिएका थिए ।

यसबारे सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘टीकापुर घटना सबैलाई थाहा छ । कानुनअनुसार चुनाव लड्नुभयो, जनताले जिताए । जिताएपछि सपथ स्वभाविक हो ।’

यद्यपि सरकारले न्यायिक निरुपणको विषयलाई राजनीतिसँग नजोड्न उनले प्रष्ट पारे ।

त्यस्तै जेलमा रहेका सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराउनु कानूनसम्मत रहेको सभामुख कृष्णबहादुर महराले बताएका छन् । चौधरीलाई आफ्नो कार्यकक्षमा ल्याएको खण्डमा सपथ ग्रहण गराउन तयार रहेको आफूले पहिल्यैदेखि भन्दै आएको महराले बताए ।

You might also like
Loading...