रामबहादुर बमजन ‘लिटल बुद्ध’को आश्रममा प्रहरीले गर्‍यो सिलबन्दी

127







सिन्धुपाल्चोक ।

सञ्चलाल वाइवाको हत्या तथा अरू तीन बेपत्ता पारिएको रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रम भित्र प्रहरीले खोजतलास गरेको छ।

फोरेन्सिक विशेषज्ञसहित प्रहरीको ठूलो टोली बमजनको सिन्धुपाल्चोक, बाडेगाउँस्थित आश्रममा खोजतलास गर्न शुक्रबार बिहान साढे ११ बजे पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँको तोड्केस्थित आश्रममा छापा मारेको हो ।

लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा छापा मारेर प्रहरीले सिलबन्दी गरेको छ।

उनी माथि सञ्चलाल वाइवाको हत्या गरेको र सुरेश आले, दुई आनी चुन्मो र डोल्मो पनि सिन्धुपाल्चोक आश्रमबाटै बेपत्ता पारेको लगायतका आरोपहरु रहेका छन्।

बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट केही वर्षयता केही आनीहरु सम्पर्कविहीन भएको खबर हालै मात्र सार्वजनिक भएको थियो । वाइबाका आफन्तहरुले भने तपस्वी बम्जनको आदेशमा हत्या गरेर शव आश्रम आसपासमै अन्त्येष्टि गरेको हुन सक्ने आशंका गरेका छन् ।

सिआईबीसहितको प्रहरी टोली फिल्डमा परिचालन गर्ने जिम्मा सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले पाएका छन्।

मुकुन्द मरासिनीका अनुसार जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी मुख्यालय काठमाण्डााैबाट आएका झन्डै ३० जना सम्मिलित प्रहरीको एउटा टोलीले सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा अनुसन्धान गरिरहेका छन्।

आश्रममा गएका बमजनका अनुयायीहरू त्यहाँबाट नफर्किएको भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा प्रहरीले छानबिन थालेको छ।

प्रहरीले आश्रममा भइरहेको अनुसन्धान नसकिएसम्म उक्त क्षेत्र सिलबन्दी गरेर काम कारबाही अघि बढाइएको जानकारी दिएको छ। बमजन आश्रमको खानतलासी गर्न सिन्धुपाल्चोक जिल्ला अदालतबाट प्रहरीले बिहिबार नै अनुमति लिइसकेको थियो। बमजन आफैँ भने सिन्धुपाल्चोकमा नरहेको प्रहरीले पुष्टि गरेको छ।

हिजोआज उनी सिन्धुलीस्थित आश्रममा बस्ने गरेको बताइएको छ। सर्च अभियान शनिबार पनि जारी रहने छ । ‘हामी खोजीमा छौं, अहिलेसम्म केही पत्ता लागेको छैन’ मरासिनीले भने ।

सदरमुकाम चौतरादेखि ४ घण्टाको दुरीमा रहेको बम्जनको आश्रममा अहिले प्रहरी बाहेक कसैलाई पनि जान दिएको छैन ।

पछिल्ला केही दिनदेखि कानुनी प्रकृया मिलाउने र बमजनविरूद्धको कारबाही अगाडि बढाउने योजनाको नेतृत्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरिरहेको स्रोतले जानकारी दियो।

खनालले उक्त कामका लागि सिआईबी प्रमुख निरज शाही, मकवानपुरका एसपी बुद्धि गुरूङ र सिन्धुपाल्चोकका एसपी मरासिनीलाई परिचालन गरेका थिए।

मरासिनीले भने, “हामीले विभिन्न किसिमका अनुसन्धान प्रक्रिया एकैचोटि अगाडि बढाएका छौँ, विभिन्न किसिमका विवरण सार्वजनिक भएकाले अहिले हामीले अगाडि बढेको प्रक्रियाको निश्चित उद्देश्य के हो भनेर भन्न सकिने अवस्था भने छैन।”

कानुनी प्रक्रिया पूरा गरेको र व्यवस्थित रूपमै सुरक्षा अधिकारीहरू परिचालित भएकाले आश्रममा बस्दै आएकाहरू र स्थानीय बासिन्दाले कुनै अवरोध नगरेको जानकारी उनले दिए।

हाल प्रहरीको एउटा टोली आश्रममा रहेको र आवश्यक परे थप टोली परिचालन हुने जानकारी मरासिनीले जानकारी दिए।

तर विभिन्न किसिमका गम्भीर आरोप लगाइएका बमजनविरुद्ध भने हालसम्म कुनै पनि किसिमको कारबाही थालिएको छैन।

बमजनविरुद्ध समाचार सार्वजनिक भएपछि बमजन आबद्ध संस्था बोधी श्रवण धर्म सङ्घले एक विज्ञप्ति निकालेर सञ्चारमाध्यममा उनीबारे आएका समाचारको खण्डन गरेको थियो।

कसरी परे विवादमा

मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले। १६ वर्षीय बमजनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए।

सेतो रङको पातलो कपडा लगाएका उनको शरीर स्थिर थियो। आँखा बन्द थियो। र उनी ध्यानमा लीन थिए। त्यसअघि कसैले नचिन्ने किशोर एकाएक विश्वप्रसिद्ध बन्न पुगे।

सुरुमा आसपासका स्थानीयबासी उनलाई हेर्न बाराको बनमा गए। त्यसपछि अन्य देशका तीर्थयात्री पनि आउन थाले। उनी बनमा ध्यानमा बसेको एउटा तस्बिर सोही वर्ष ‘भाइरल’हुन गयो। उक्त तस्बिरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यान खिच्न सफल भयो।

उनै रामबहादुर बमजन करिब १३ वर्षपछि फेरि एक पटक चर्चाको केन्द्रमा छन्। उनी चर्चामा आउनुको कारण धेरैलाई प्रिय लागिरहेको छैन। उनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएका विवरणहरू सेतोपाटी डिजिटल पत्रिकामा आएको थियो।

आखिर को हुन् बमजन?

बमजन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारी अनुसार उनको जन्म सन् १९९०को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो। उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका ५ छोरा र ४ छोरी छन्। रामबहादुर तेस्रो छोरा हुन्।

“उनी गर्भमा हुँदा उनकी आमालाई माछा मासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घर बाहिर जाने गर्दथे।”उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।

सन् २००५ मा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन ६ महिनासम्म पानी समेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदा सम्म उनी ध्यानमै रहने बताएका थिए।

उक्त विवरणका अनुसार गौतम बुद्धको आमाको नाम मायादेवीसँग मिल्न गएको बमजनको आमाको नामका कारण पनि स्थानीयहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।

त्यसो त तपस्या सुरु गर्नु अघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबली नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पारिवारिक श्रोतहरूले बताउने गरेका छन्।

तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो। १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए।

तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको जानकारहरू बताउँछन्।

अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई लुङ्ता छोर्तेन जस्ता धार्मिक ध्वजा-पताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।

नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।

देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिकरूपमा बढाउँदै लगे। त्यसै कारण उनले “भित्रभित्रै असीमित शक्ति” आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणहरूमा उल्लेख छ।

कहाँ कहाँ छन् आश्रम?

बमजन

बाराको रतनपुरी गाउँ नजिकैको बनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान समेत फेरिरहने गरेको अधिकारीहरूको भनाइ छ।

बारा बाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको प्रहरी अधिकारीहरू बताउँदछन् ।

You might also like
Loading...