आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पास भएको भन्दै डा. केसी आमरण अनसनमा

प्रधानमन्त्रीमा ‘गहन शारीरिक समस्या’ देखिएको आरोप

काठमाडौं । आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै प्रा. डा. गोविन्द केसीले १६ औं आमरण अनसन इलामबाट सुरु गरेका छन् ।

आफूसँग संग बिगतमा भएका सहमति अनुसारको चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नगरेपछि डा. केसी इलामको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा आमरण अनसनमा बसेका हुन्।

इलाममा बुधबार पत्रकार सम्मेलन गरेर ६ बुँदे माग सार्वजनिक गर्दै डा.केसीले साँझ पाँच बजेबाट १६ औं अनसन सुरु गरेका हुन्।

पत्रकार सम्मेलनमा प्रा. डा. केसीले प्रधानमन्त्रीसमेत निहीत स्वार्थका अगाडि निरिह हुँदै प्रतिवद्धताबाट पछि हटेका आरोप लगाएका छन् ।

केसीले बारम्बार सरकार र सांसदलाई विगतको सम्झौता स्मरण गराउँदै सो अनुसार चिकित्सा शिक्षा ऐन जारी गर्न अनुरोध गर्दा त्यस विपरित माफियामुखी बुँदा समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकोप्रति आपत्ति जनाउँदै अनसन सुरु गरेका हुन् ।

केसीले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्दतिका दुश्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेकोजस्तो देखिनु दुर्भाग्यपूर्ण हो ।’

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बहुमतले पारित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ । विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित उपसमितिले आइतबार बुझाएको प्रतिवेदन बुधबार हुबहु पारित गरिएको हो ।

२३ जना समिति सदस्य मध्ये बुधबार १८ जना मात्रै उपस्थित थिए। जसमा १४ जना नेकपाका सांसद थिए भने ४ जना कांग्रेसका सदस्य थिए। कांग्रेस सांसदले सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच भएका सम्झौता अक्षरश: विधेयकमा समेट्नुपर्ने भन्दै विधेयक प्रतिवेदनमा असहमति प्रकट गरेका थिए।

तर, प्रतिवेदनमा केसी र सरकारबीच भएको सम्झौता हुबहु समेटिएको थिएन। उपसमितिमा ४ महिनादेखि विधेयकमाथि छलफल भए पनि विवादित विषय टुंगो नलागेपछि सत्तारूढ नेकपाका सांसदले बहुमतको आधारमा पारित गरेका थिए।

सरकारले डा. केसीसँग भएको सहमति तोडेर शक्तिको दुरुपयोग गर्‍यो : गगन थापा

मुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा. गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गरे ।

नेता थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गरे ।

संसदबाटै डा. केसीको जित भयोः योगेश भट्टराई

सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास भएसँगै गोविन्द केसीको जित भएको दाबी गरेका छन् ।

समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको छ । तर, डा. केसीसँग भएको सहमतिका केही विषय उल्लंघन भएको भन्दै प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् ।

 

 

Related Articles