पर्वत बस दुर्घटना अपडेट : ७ मृतकमध्ये ४ जनाको सनाखत

33







पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने अन्य दुई पुरुष र एक महिला सनाखत हुन बाँकी रहेको छ ।

सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० लाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए । अन्य आठ जना घाइतेको बाग्लुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बेनीबाट नारायणगढतर्फ यात्रु लिएर हिँडेको ग १ ख ६१०८ नंको बस आज बिहान ८ः१५ बजे सडकबाट ७० मिटर तल कालीगण्डकीको बगरमा खसेको थियो । बसको बे्रकफेल र तीव्रगतिको कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

 

ट्रिपरले बसलाई ठक्कर दिदाँ १७ घाइते, ४ जनाको अवस्था गम्भीर

संखुवासभा । संखुवासभाको धर्मदेवि नगरपालिकामा ट्रिपरले बसलाई ठक्कर दिदाँ १७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहिबार दिउसो धर्मदेवि–५ नर्सरी चोकमा मुडेबाट चैनपुर जाँदै गरेको बा २ क ८५१५ ट्रिपरले को १ ख २१६१ नम्बरको बसलाई ठक्कर दिँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए । बस चैनपुर नगरपालिका –१ नुनढाकीबाट धरान जाँदै गर्दा धर्मदेवि–५ नर्सरी चोकमा ट्रिपरसंग ठोकिएको थियो ।

गम्भीर घाइते हुनेमा झापा बुद्ध शान्ति गाउँपालिका–४ का ८२ बर्षिय खड्ग लिम्बु, चैनपुर नगरपालिका–५ की ५० बर्षीय मेनुका थापा, चैनपुर–२ का १८ बर्षीय सन्तोष गौतम र चैनपुर–२ की १० बर्षिय सविना खाती रहेका छन् । उनीहरुको थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी निरिक्षक कटुवालले जानकारी दिए ।

अन्य सामान्य घाइतेको धर्मदेवि नगरपालिका मुडेमा उपचार भइरहेको प्रहरीको भनाइ छ । ट्रिपर चालक धर्मदेवि–५ का धन बहादुर दमाई र बस चालक मोरङका मानबहादुर आले मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

You might also like
Loading...