शिसेकेडी राष्ट्रपतिमा विजयी भएको अदालतको घोषणा

43







किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र पुनःमतगणनाको माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

संवैधानिक अदालतको आदेशमा नेता शिसेकेडीले सामान्य बहुमत प्राप्त गरी चुनावमा विजयी भएको जनाएको छ । अदालतको आदेशसँगै शिसेकेडीलाई मुलुकमा लामो समय शासन गरेका नेता जोसेफ काबिलाबाट शान्तिपूर्ण प्रक्रियामार्फत सत्ता सम्हाल्न बाटो खुलेको छ ।

निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले शिसेकेडी र राष्ट्रपति जोसेफ काबिलाले चुनावमा व्यापक धाँधली गरी विजयी भएकाले त्यस्तो चुनावी नतिजा अस्वीकार गर्न अन्तरराष्ट्रिय समुदायसमक्ष आग्रह गरेका थिए ।

फायुलुले भने, ‘म अन्तरराष्ट्रिय समुदायसमक्ष यो चुनावी नतिजा अस्वीकार गर्न र नयाँ सत्तालाई मान्यता नदिन आग्रह गर्दछु, किनभने यसले कंगोली जनताको वास्तविक प्रतिनिधित्व गरेको छैन ।’ उनले आफू नै मुलुकको एकमात्र वैधानिक राष्ट्रपति भएको दाबी पनि गरेका छन् ।

कंगोको स्वतन्त्र चुनाव आयोगले यसै महिनाको सुरुमा शिसेकेडी विजयी भएको भन्दै प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो । तर यस विरुद्ध मुलुकभित्र र बाहिर चुनौती दिइएको थियो ।

अफ्रिकी युनियनले चुनावको अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गर्न आग्रह गरेको थियो भने फायुलुले संवैधानिक अदालतमा चुनावी नतिजा खारेज गर्न माग गर्दै मुद्दा दर्ता गरेका थिए ।

आइतबार, संवैधानिक अदालतले फायुलुको दाबी प्रमाणमा आधारित नरहेको जनाएको छ । फायुलुले पुनःमतगणना गर्न गरेको माग पनि तथ्यपरक नरहेको अदालतको भनाइ छ ।

न्यायाधीश नोल किलोम्बाले भने, ‘राष्ट्रिय चुनाव आयोगले आधिकारिक र वास्तविक नतिजा सार्वजनिक गरेको छ ।’ अदालतको आदेश आश्चर्यजनक मानिएको छैन । किनकि अदालतको गठन नै राष्ट्रपति काबिलाका सहयोगीले बनेको छ ।

शिसेकेडीका सयौं समर्थक अदालतको परिसरमा प्लेकार्ड लिएर भेला भएका थिए । उनीहरुले ‘विदेशीको हस्तक्षेप स्वीकार्य छैन र कंगो स्वतन्त्र राष्ट्र हो’ भन्नेजस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । अदालत परिसरमा दंगा प्रहरी तैनाथ गरिएको थियो ।

अदालतको आदेशलगत्तै राजधानी किन्सासा समेतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था अझ सुदृढ पारिएको छ । यसअघि निर्वाचन आयोगले नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण आगामी मंगलबारका लागि तोकेको थियो ।

निर्वाचन आयोगले जनवरी १० मा गरेको घोषणाअनुसार शिसेकेडीले करिब ३९ प्रतिशत र विपक्षी फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेका थिए ।

You might also like
Loading...