रुकुममा मदिरा बन्द, फागुन १६ देखि बिक्री गर्न नपाइने


रुकुम । जिल्लामा आइतबारदेखि मदिरा भित्र्याउन रोक लगाइएको छ । मदिराको उचित व्यवस्थापन गर्ने भन्दै पहिलो चरणमा मदिरा भित्र्याउन निषेध गरिएको छ ।




विभिन्न नाकामा प्रहरीको सहयोगमा स्थानीय सरकारहरूले कुनै पनि मदिरा आइतबार जिल्ला भित्रिन दिएका छैनन् । समाजमा हुने घटना, अपराधमध्ये ८० प्रतिशत बढी घटना तथा अपराधको मूल कारण मदिरा भएको निश्कर्षसहित यसको व्यवस्थापनमा स्थानीय सरकार लागेको हो ।

स्थानीय सरकारले जिल्लाभित्र रहेको मौज्दात मदिरा बिक्री वितरणका लागि डेढ महिनाको समय दिएको छ । आगामी फागुन १५ सम्म पसल, डिलरमा रहेको मदिरा सक्न अनुरोध गरिएको छ । मदिरा व्यवसायीले सकेसम्म मौज्दात मदिरा बिक्री गरी सक्ने नभए फिर्ता गरेरै भए पनि पसल तथा डिलरहरू खाली गरिसक्नुपर्नेछ ।




फागुन १६ देखि जिल्लाभर मदिरा बिक्री वितरणमा पूर्ण रोक लगाइने गरी निर्णय भएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । आइतबारबाट मदिरामा रोक लगाइएको र आगामी फागुन १६ देखि बिक्री वितरणमा पनि पूर्ण रोक लगाइने उनको भनाइ छ  । उनले सुरुमा सरकारी कार्यालय तथा विद्यालय आसपास भएका मदिरा पसल हटाउने बताए ।

माघ ६ देखि फागुन १५ सम्म भएको मदिराको व्यवस्थापन गरिक्नुपर्नेछ । त्यसपछि अर्को निर्णय नभएसम्मका लागि मदिरा बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाउने गरी जिल्लाका सबै स्थानीय सरकारले निर्णय गरेका छन् । मदिराको व्यवस्थापनका लागि मदिरा कुन ठाउँमा सेवन गर्ने, कुन उमेर समूहकाले सेवन गर्ने र कुन–कुन समयमा सेवन गर्ने भन्ने सम्मको ठाउँ, उमेर र समय तोकेर भए पनि मदिराको व्यवस्थापन गर्ने तयारीमा स्थानीय सरकारहरू लागेका छन् ।

६ महिनामा जिल्लाभित्र भएका विभिन्न अपराध र घटना मदिराकै कारण भएको निष्कर्ष प्रहरीको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले जिल्लामा हुने घटना र अपराधका ८० प्रतिशत मदिराका कारण हुने गरेको बताए । मदिराकै कारण हरेक सातामा दुई आत्महत्या,  हरेक महिनामा तीन जबरजस्ती करणी,  दुई महिनामा एउटा हत्या हिंसाको घटना हुने गरेको दाबी डीएसपी खड्काको छ । दैनिक चोरीका घटना बढ्दै जानु, घरेलु तथा महिला हिंसाका घटना दोहोरिनु तथा सवारी दुर्घटनाको मुख्य कारण पनि मदिरा नै भएको अनुसन्धानबाट प्रस्ट भएको प्रहरीले बताएको छ ।

स्थानीय सरकारले थालेको मदिरा व्यवस्थापन अभियानमा प्रहरीले पूर्ण सहयोग गर्ने भन्दै डीएसपी खड्काले मदिरा व्यवस्थापन गर्न सके घर, परिवार तथा समाजमा शान्ति हुँदै जाने दाबी गरे । ‘समाज, परिवार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा मदिराको ठूलो असर देखियो,’ जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले भने, ‘त्यसैले असल समाज निर्माण गर्ने र सबैलाई बिनाबाधा अवरोध गर्ने वातावरणका लागि मदिरा व्यवस्थापन नगरी नहुने भयो ।’

जिल्लाका ७३ वडाका स्थानीयले मदिराको कारण ठूलो समस्या भइरहेकाले यसको नियन्त्रण र व्यवस्थापनमा सरकारसँग माग गरेको शर्माले बताए । जनउत्तरदायी सरकार अभियानअन्तर्गत सबै वडामा पुग्दा वडाबासीको पहिलो माग मदिराको व्यवस्थापन रहेको शर्माको भनाइ छ । ‘मदिराका कारण विकास निर्माणमा मात्रै अवरोध गरेको छैन, एउटा मिलेको परिवार तथा समाज विखण्डनको मूल कारक तत्त्व मदिरा नै भएको छ ।




सम्बन्धित
Loading...