गंगा लिगल र सखी– वियोग खण्डकाव्य

127







सदानन्द अभागी

आमुख–
पाल्पा, श्रीनगरको काखमा बसेको एउटा सुन्दर साथै ऐतिहाँसिक जिल्लामा जन्मेकी गंगा लिगलको साहित्यिक व्यक्तित्वको बारेमा मैले धेरै चर्चा गरिसकेको छु । तिनै कुराहरू मैले यहाँ दोहो¥याउन चाहाँदिन । उनको कविताको फुरन कसरी थालनी भयो ? यस प्रश्नको उत्तर खोज्दा पाल्पाको प्राकृतिक सुन्दरता, उनको बाल्यकाल र सधैं एकै साथ खेल्ने मिल्ने एउटी बालसखाको चित्रण हुनु आवश्यक देखिन्छ । यसै पनि बाल्यकाल रमणीय हुन्छ त्यसमा पनि सखी र लिगलजीको बाल्य काल, कहिले श्रीनगरको लाली गुराँसको सौन्दर्य पान गर्दै, हिमाललाई हेर्दै, पाल्पा दरवार घुम्दै, मेलधाराको पानी पिउँदै, नारायण थानको पोखरीमा पौडी खेल्दै, टुङ्डीखेलमा खेल्दै गर्दाको क्षणहरू चिरस्मरणीय हुनु स्वभाविकै हो । मरणशील जीवन हो । जन्मेपछि मरिन्छ । यो ध्रुब सत्य पनि हो । यहाँ गंगाकी बाल सखा लक्ष्मी मामा माइज्यूले श्राद्ध गर्न जाँदा साथमा लगेका र काली गण्डकीमा पौडी खेल्दा भूवरीले तानेर भूवरीमै विलिन भइन् । यस दुखद घटनाप्रति गंगाजी भन्नु हुन्छ – ‘ यो खवरले बाल हृदय क्षतविक्षत भयो । केही छिन सम्हाले पछि तुरुन्तै कविताको जागरण भयो । त्यो वेलादेखि एउटा कविता नलेखी सुत्न नसक्ने भएँ । यसरी सखी वियोगले गर्दा मेरो हृदयमा कविताले स्पर्श ग¥यो भन,े पछि मेरी ममतामयी आमाको प्रेणा र सहयोगले मलाई साहित्यको सिंढी चढ्न बल मिल्यो ।’ सखी लक्ष्मीको वियोगले गंगाजीमा साहित्यको बीजाङ्कुरण गराएको र सखीलाई अमरत्व दिन यस खण्डकाव्यको सिर्जना भएको छ ।

कृतिको संरचना –

सखी–वियोग खण्डकाव्यकी रचयिता गंगा लिगलको काव्यलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्गटन डी.सी. संयुक्त राज्य अमेरिकाले गरको छ । रचयिता गंगालिगल भए पनि यसको सम्पादन बरिष्ठ साहित्यकार तथा डायस्पोरा साहित्यका शिखर स्रष्टा होमनाथ सुवेदीजीले गर्नु भएको छ । आवरण पृष्ठ लगायत सम्पूर्ण कृति ६९ पृष्ठको छ । यसको मूल्य नेपाल तथा सार्कमुलुकमा नेरु १०० छ भने त्यस बाहिर युएस डलर ५ राखिएको छ । कृतिलाई ‘मेरी प्यारी सखी श्रीलक्ष्मीको स्मृतिमा’ शब्द सुमन द्वारा समर्पण गरिएको छ । यस खण्डकाव्यमा लोकलयलाई समाउँदै सर्ग या अध्याय नभनीकन १० शीर्षकमा लेखिएको छ । यसमा दुई पदीय कुल श्लोक संख्या २८३, झ्याउरे पद्य छन् । अग्र आवरणमा हिमाल, पहाड, पहाडको प्रकृति सौन्दर्यले भरिएको हरियाली वनकसुमले सजिएको नदी (सायद कालीगण्डकी)बगेको भूपेन्द्र कार्कीको आवरण चित्रले सजिएको छ । आवरण झट्टहेर्दा निकै सुन्दर देखिन्छ । पछिल्ले आवरण पृष्ठमा भने रचनाकार गंगा लिगलको र बरिष्ठ साहित्यकार होमनाथ सुवेदीको व्यक्तिगत विवरणले भरिएको छ ।
खण्डकाव्यभित्र प्रवेश गर्दा –यस काव्यको थालनी कालीगण्डकी शीर्षक दिएर गरिएको छ । १७ श्लोक छन् । कालीगण्डकीको धार्मिकरूपमा अति ठूलो महत्व छ । काली गण्डकीमा भगवान विष्णु शालग्रामको रूपमा विराजमान हुनुहुन्छ भन्ने धार्मिक विश्वास छ । यिनै पावन नदी किनारमा घाटहरू, तीर्थस्थलहरू छन् । काव्यकारहरूले काव्यको थालनी गर्दा मङ्गला चरणबाट थालनी गरे झैं यहाँ काव्यकार गंगाजीले आफ्नो खण्डकाव्यको थालनी कालीगण्डकीको महिमाबाट शुरु गर्नु भएको छ । कालीगण्डको पवित्रता, गंगा स्नानले पवित्र होइन्ी, पाप पखालिने,प्राकृतिक सौन्दर्यता, गुराँस लगायत पूmलहरूको रम्यता, चराहरूको गुञ्जन, मृगको दौड, मयूरको नृत्य,सलल नदीको बगाई ,नदी वारिपारि सुरम्य जङ्गल, त्यस क्षेत्रका मानिसको जीवन मङ्गल गरेर बित्ने आदिको सुन्दर वर्णन गरिएको छ । गंगाजी प्रकृतिको वर्णनमा खप्पिस हुनुहुन्छ र प्रस्तुति शैली पनि कर्णििप्रय हुन्छ ।

हेरौं एक दुई श्लोकहरू–
प्रकृति तिम्रो सुन्दर आत्मा धरती ढाक्दछ
नभए तिम्रो संसार एक्लो मन यो पाक्दछ
(श्लोक १२)
प्रकृति देवी नभए आज संसार शून्य छ
प्रकृति भित्रै पृथ्वी माता अमूल्य गुन छ
(श्लोक १३)
ग्रामीण बाल–संस्कृति –यस शीर्षकमा १९ दुई पदीय श्लोक छन् । यसमा कवियित्रीले गाउँका बाल संस्कृति, बाल सङ्गीत (कालीपारे दाई भनेर गीत गाउने, गाउँले बालाले गीत गाउने) , गाउँको पहिरन, झोलुङ्गे पुलबाट नदीको तराई, गाउँमा अनेक भाषा भाषी, धान रोपाइपछिको धान नाच, वनका मीठा काफल, सुरिलो कोयलीको गीत,आदिको सुन्दर वर्णन गरिएको छ । यहाँ जीवन जगतका कुरा पनि आएका छन्, काव्यकारको कथन छ मानव जीवन छोटो छ तर माधुर्मय प्रेमले भरिएको हुन्छ । यसलाई समय छँदै सम्पूर्ण रसले सिंगार्नु पर्छ । मानव शरिर नास भए पनि आत्मा अमर छ जस्ता गहकिला ग्रामिण जीवन, प्राकृतिक सौन्दर्यता, हिमालको वर्णन, आदिले सिंगारिएको छ यो शीर्षक ।
रानीघाट दरबार – यस शीर्षकमा १५श्लोक छन् । काली गण्डकीको किनारमा निर्मित यो दरबारलाई नेपालको ताजमहलको रूपमा पनि लिइन्छ भनिन्छ । किनकी यो दरबार रुद्र सम्शेरले रानीको वियोगमा रानीको अमरत्वको लागि बनाएका थिए । गंगाजीले रानीघाट दरबार कस्ले बनायो भन्ने जानकारी त दिनु भएको छैन तर दर।बारको निर्माण, सम्पूर्ण कलाकृतिले झकी झकाउ, दरबारको सुन्दर , ठूला कोठा, बूर्जाभरी र छतभरी पूmलका गमला सुन्दर आकृतिको कलाको सजावट, तीर्थस्थलको महत्त्व, त्यहाँ लाग्ने मेला वरिपरिको प्राकृतिक सौन्दर्य, आदिको सटीक वर्णन यस शीर्षकमा आएको छ । बाल सखा श्रीलक्ष्मी यस काव्यकी नायिका यही रानी घाटमा विलय भएकोले पनि यस घाटको वर्णनको विशेष महत्त्व दर्शिन्छ ।श्रीनगर– यस शहीर्षकमा ३६ ओटा श्लोक छन् । पाल्पा जिल्लाको रमणीय स्थल जहाँ गंगाजी र बाल सखाको बाल्य जीवन उमंगले वितेको, हरियो डाँडा भरीफुलेका लाली गुराँसको सौन्दर्यता, काफल टिपेर खाएको, रोहोटे पीङ खेलाई, नारान थानमा चराको कल्कल, पोखरीको पौडाई, स्कूलपछि मन्दिरको पेटीमा बसेर खाजा खाएको, आदि बाल्यकालका बालक्रीडा स्मरणमा ताजगी राख्दै, ती आज खोजेर नपाइने भन्दै गंगाजीले यस श?ीर्षकमा पानीको फोकासरिको यो छोटो जीवनको महत्त्व धेरै छ र मृत्युवरण भए या गरे पनि कीर्ति अमर छ र अमर कीर्ति राख्नु पर्छ भन्ने काव्यकारको धारणा छ । यहाँ पनि काव्यकारले प्राकृतिक वर्णनलाई निकै महत्त्व दिएको पाइन्छ । श्रीलक्ष्मी आमाकी कान्छी छोरी पियारी, पुतली जस्तिलाई कोपिलामै निमोठी लगेको धारणा आएको छ ।
पौडी खेल्दा–यस शीर्षकमा ९ओटा श्लोक छन् । नारायण थानको पोखरीमा सखीसँगको पौडी खेलाइको वर्णनको साथै पोखरीको मूलमा हरिया पात हाँगा वींगा गर्दा राम्रोसँग देखिदैनथ्यो, बटुवाले विश्राम लिदा स्वर्गको अनुभूति हुने, यस पोखरीमा पौडी खेल्न सिकेर नदीमा पौडीखैल्न फरक पर्दौ रहेछ कालको गास भइँदो रहेछ भन्ने धारणा यहाँ आएको छ ।
तीर्थ– यस शीर्षकमा २३ श्लोक छन् । मामा माइजू दिदी बहिनी सबै रानीघाट गएको । स्नान गरेर पूजा गर्न लागेका तर लक्ष्मीका दिदी बहिनी पौडन लाग्दा भुमरीमा परेर लक्ष्मी विलिन भएक.ी, वारिपारि सबैले उनको खोजी गरेको कुराहरू आएका छन् । यहाँ कारुणिक वेदनालाई गंगाले निकै गहिरो सँग उठाउनु भएको छ । यस शीर्षकमा पनि प्राकृतिक सौन्दर्यलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । साथी वियोगमा गंगाजी निकै विह्वल हुन्छिन् । उनका परिवार सबै शोकमा डुवेका त्यतिमात्र नभएर प्रकृति पनि रोएको धारणा काव्यमा आएको छ । सखीको रूपको वर्णन, परिवारको कारुणिक क्रन्दनलाई काव्यकारले सवलरूपमा उठाएकि छन् –
तलाउ भरी कमल पूmल नदीले बगायो
सौन्दर्यलाई देखेर पनि सरिता डरायो
(श्लोक २३,पृष्ठ २३)
मूच्र्छित आमा बान्धव बाबु साथी र सखीको
त्यो दुख पीडा मनमा गुन्दा वेदना छोरीको
(श्लोक २१, पृष्ठ२३)
जलमय संसार–यस शीर्षकमा ५० श्लोक छन् । यस शीर्षकलाई तीन खण्डमा अध्ययन गर्न सकिन्छ । पहिलो खण्डमा सखी जलमा विलिन भएपछिको उनको जलचरसँगको जलक्रीडाको भावनात्मक अभिव्यक्ति, दोस्रो स्वयम् काव्यकारको विलौना र तेस्रोमा आमाको शोकमय विह्वलता । यो संसारलाई शून्य पारेर सखी जलमा विलिन भए पछि उनी जलभित्रका विशाल जीव जन्तुको माझमा रमाएका धारणालाई सुन्दर रूपमा वर्णन गरिएको छ । हाम्रो दर्शनले मान्छे मर्ने हैन सर्ने हो भन्ने सन्देश दिएसरि काव्यकारको पनि सखी मरेको नभै सरेको अभिव्यक्ति यसरी आएको छ –
पुरानो घर छोडेर नयाँ घरमा रमाइन्
अमूल्य बस्तु मोतीका दाना खेलेर रमाइन् ।
(श्लोक ३, पृष्ठ २४)
जलका विधि जलचरको साथमा पवित्र नदी पारगर्ने क्रममा आफ्नो शरीरलाई पवित्र पार्दै आत्मको परिधिमा जलधि भएको र समुद्रमा रमाएको अभिव्यक्ति यसरी आएको छ –
समुद्रभित्र सौन्दर्य त्यसै झल र मल छ
रमाई रहिन् त्यसैमा उनी हामीलाई छलेर
(पृष्ठ२५, श्लोक ६)
यस खण्डकाव्यमा काव्यकार,प्राकृति सौन्दर्यमामात्र रमाएकी छैनन् । थलचरमात्र नभएर सिंगो जलचरको सुन्दरतालाई पनि काव्यमा समेटेकी छन् । उनको यो लेखनको विशेषता हो ।
हाम्रो दर्शनको धारणा मानिस मरेपछि राम्रो काम गरे स्वर्ग र नराम्रो काम गरे नर्कमा पर्छ भन्ने छ । त्यसमा काव्यकारले सखी स्वर्गमा गएको धारणा राखेकी छन् । काव्यकारको आध्यात्मिकतर्फ पनि सवल अभिव्यक्तिहरू यस काव्यमा आएका छन्–
तिनको अब संसारबाट जीवन अर्के भो
स्वर्गमा उनी हामीमा चाहिँ रहस्य हुन गो ।
(श्लोक १०,पृष्ठ २५)
काव्यकार नै सखी वियोगमा, आफै तड्पीएकी छन्, मन बुझाउन गाह्रो भएको छ । उनको सम्झाना मेटाउन गाह्रो भएको छ । सखी कहाँ छौ खवरदेऊ भन्ने आग्रह भएको छ, वेदनामा काव्यकार तठ्पी एकी छन् । काव्यकारको कथन छ –
साथीको जस्तो प्यार यो बस्तु संसार शून्य छ
भएन भने मित्रको साथ जीवन शून्य छ
(श्लोक १५, पृष्ठ २६)
साथीकोे व्यवहारलाई पनि काव्यकारले प्रष्ट्याउने प्रयास गर्नु भएको छ । साथी प्रेमकी मूर्ति, मिलनसार, दयाकी खानी, धर्तीलाई सुन्दर बनाउन यस संसारमा आएकी, पदचाप नै पवित्र भएकी, तिम्रो र हाम्रो त्यो लुकामारी, तेलकासा खेल खेलेको डण्डी वियो खेल खेलेको आदि सपना हो या विपना हो जस्तो लाग्दछ जस्ता धारणामा काव्यकार सखीको सम्झनामा आकुल छन् व्याकुल छन् र साथीप्रतिको मायालाई यसरी हेर्दछिन् –
धर्तीमा पूmल अवश्य फुल्छ वैलिई मर्दछ
प्रीतिको पूmल फक्रेको थुँगा अमर रहन्छ ।
(श्लोक ३१पृष्ठ २९)
साथी प्रतिको प्रेम सुवास युक्त हुन्छ र यो चक्रको रूपमा ब्रह्माण्डमा घुमि रहन्छ । माया युगौंयुग नासिदैन बरु ज्योति भएर बल्दछ प्रकाश छर्छ जस्ता भावनाको साथमा कविताको सिर्जना भएको ,भाग्यमा लेखेको पाइने देखेको नपाइने भएकोले मुटुमाथि ढुङ्गा राखेर सहन परेको छ र यो पनि थाहा छ गएपछि फर्केर आइदैन जस्ता दार्शनिक र कारुणिक भावनाहरू यहाँ पस्किएका छन् ।
आफ्नो वेदनाका धारणाहरूलाई पस्कँदै सखीकी आमाको कारुणिक व्यथा लाई पनि काव्यकारले समेटेकी छन् । एउटी छोरीको अवशानमा मातृहृदय नपग्लने कुरै भए न । आमा रुन्छिन् । साउने झरी झै बलिन्धारा आँसु झर्छन् । काव्यकारलाई सम्झाउन कठीन पर्दछ । आमाको भोक प्यास, जाडो गर्मी सबै हरायो तर मनमा केवल चिन्ता बढेको आमाको अवस्थाको यसरी वर्णन गरिएको छ –
पागल मन दगुर्दछ त्यसै आकाश पाताल
हिड्दछिन् आमा ती छोरी खोज्न मनको वेहाल
(श्लोक ४९, पृष्ठ ३२)
आमाको असह्य वेदनाका आँसुले पाठकका नयन रसाउँ छन् । यसले गंगाजीको लेखनी करुण रसमा पनि निकै तिखारिएको दर्शाउँछ ।
विडम्वना – यस शीर्षकमा ३१ ओटा श्लोकहरू समावेश गरिएका छन् । पौडिन भनी श्रीलक्ष्मी भुँवरीभित्र छिरेपछि दिदीले बहिनी बचाउनको लागि अगाडी बढ्नु दिदीलाई पनि भुँवरीले तान्न लाग्दा बहिनीको हात छाडेर आपूm बच भने पछि दिदी बाँचेकी र बहिनी भुँवरीमा विलय भइन् । यस अवस्थाको कारुणिकतालाई काव्यकारले यसरी वर्णन गरेकी छन् –
काग र चील कराई रोए आकाश भरी नै
मूसलधारा पानी है प¥यो यो धर्ती भरी नै
(श्लोक ५, पृष्ठ ३३)
घटना घटेपछिको वेदनालाई काव्यकारले गहिरो तरिकाले प्रकृतिसँग जोडेर पस्केकी छन् र पस्काई अनुकरणीय छ । पीडा र वेदनालाई सहज रूपमा प्रकट गर्न कठीन पर्छ । हावा पनि पागल पनमा आउन थाले झै लाग्नु, आमाको जीवनभरी र्नै अन्धकारमय हुनु, साथी र सँगीहरू भारी मन बनाएर बस्नु, वेदनैवेदनाले छोएकोले सहन नै नसकिने अवस्थालाई काव्यकारको अभिव्यक्ति यसरी आएको छ –
यो सानो मुटु त्यो ठूलो चोट कसरी सहने
बुझाई देउ ईश्वर तिमी कसरी रहने।
(श्लोक ११, पृष्ठ ३४)
काव्यकार नै शोक मग्न छिन् । महिनौ सम्म हरेश खानु, साथीको माया खोज्नु तर नपाउनु, साथीको खोजीमा घरी तोरी बारीमा जानु, स्कुल गए पनि पढ्न लेख्न मन नलाग्नु टोलाई बस्नु, सपनीमा साथी आएको देख्नु साथीसँग खेलेका आदि विविध खाले धारणाहरूलाई यहाँ काव्यकारले पस्केकी छन् –
यी लता जब मधुर गीत गाएर नाच्दछन्
ती मेरी सखी आएर यहाँ पातमा बस्दछिन् ।
(श्लोक २९, पृष्ठ ३७)
काव्यकारले सपनामा सखीसँग भन्छिन् –
जुनेली रात त्यो जूनले तिमीलाई हेर्दछ
तिमीमा आफै आएर जून अवश्य बस्दछ
(श्लोक ३० पृष्ठ ३८)
त्यो जूनकीरी टिल्पिल गर्छ अँधेरी रातमा
अँत्रेरी बाटो देखाइ हिड्छ चिनेर साथमा ।
(श्लोक ३१ पृष्ठ ३८)
यी धारणा सहित यो शीर्षकको समाप्ति हुन्छ ।
प्रकृतिसँग तादात्म्य– यस शीर्षकमा ४१ ओटा श्लोक छन् । यी श्लोकमा काव्यकारले मृत्युपछि सखीको प्रकृतिसँग कस्तो आवद्धता छ भन्ने धारणालाई प्रष्ट्याउने प्रयास गरेकी छन् । हेरौं केही श्लोकहरू–
सूर्यकी उषा चन्द्रकी जून भएर हिडेकी
पृथ्वी भरी नभए के भो व्योममा छिपेकी
( श्लोक ४ पृष्ठ३९)
भनिन्छ आत्मा अमर छ । यहाँ पनि काव्यकारले सखी मरेको मान्दिनन् बरु प्रकृतिसँग आवद्ध भएको ठान्दछिन् । यहाँ काव्यकारले प्राकृतिक सौन्दर्यको विविध रूपमा सखी रहेको यसरी धारणा राख्दछिन् –
हरर हावा सरर पात खुसी नै छाउँछ
त्यो खुसीयाली भित्र नै तिम्रो आभास मिल्दछ
(श्लोक २० पृष्ठ ४२) ्
‘ती कहीं पनि गएकी छैनन्’,जस्ता अभिव्यक्ति यहाँ पढ्न पाइन्छ प्राकृतिका सुन्दर सिर्जनाको वर्णन यस शीर्षकमा पनि व्यापकरूपमा पस्किएका छन् र तिनमा सखीको स्मरणलाई दुखको रूपमा, खेलखेल्दाको रूपमा, पढ्दाको रूपमा आदिमा आवद्धतालाई पस्केको एक श्लोक यहाँ प्रस्तुत गर्दै यस शिर्षकको बिट मार्दछु –
ऐसेलु खाँदा सम्मझना मीठो काँडाले कोरेको
चुत्राको स्वाद लिएर डुल्थिन् ओठमा लाएको
(श्लोक ४२, पवृष्ठ ४६)
बाल्यकाल– यस काव्यको यो अन्तिम शीर्षक हो । यसमा ४१ श्लोकहरू छन् । यस शीर्षकले बालक कालमा नारान् थानको पौडी खेलाई ‘,कति कति पानी दे दे रानी’ खेलको साथै नारान् थानका घण्टी बजाएको,नारान् थानमा पूजा गरेको , स्कूलबाट फर्के र खाजाको पोका पोल्टामा बोकेको र छोरा बुहारी भएर पनि एउटी बूढीआमाले साहारा खोजेर रोएर बसेकीलाई,गएर खाजा खुवाएको, बूढी आमाले खाजा खाएको देख्दा आनन्द आएको, आदि कुराहरू सपनामा देखिएका साथै सपनाबाट व्युँझे पछि उही सहर कुहिराले ढाकेको,। मानिसमा सन्तापले घेरेको, गुराँसले ढाकेको वन ओइलिएको, हिड्दा बाटो उजाड देखिएको, सलल नदी भेलले छताछुङ् भएको किनारा काट्टिएका दरबार भूत वंगलामा परिणत भएको, नदीमा वेथिति देखिनु आदी सोचले मन व्याकुल भएको भन्दै काव्यकारले चौतर्फी प्रतिबिम्बित आभा साथीको पाइएको धारणा पस्केकी छन् । इस शीर्षकमा सपनामा साथीसँगको भेटमा अनन्द, बयूँझेपछिको उजाडता आउने जाने चक्रलाई बुझ्नपर्ने तर बुझन नसक्नु आदि जीवन दर्शनका धारणा सरल रूपमा आएका छन् । यस शीर्षकमा काव्यकारले सपना र पिनामा दर्शिने यथार्थतालाई पनि प्रस्तुति गरेकी छन् । बाल सखा संसारबाट टाढा गए पनि यस कृतिबाट अमर भएको काव्यकारको धारणा छ । संसारिक चक्रका केही श्लोक यहाँ पस्कने मन लाग्यो –
थाहा भो अब मानिस यस धर्तीमा रहन्न
भौतिक बस्तु जे भए पनि यहाँ त्यो टिक्दैन
श्लोक ३७, पृष्ठ ५३)
नबुझे देखि, जीवन मूल्य विकृति बन्दछ
नभए कीर्ति जीवन शून्य अस्थिर भनिन्छ ।
(श्लोक ३४, पृष्ठ ५२)
संसार कीर्ति राख्नै पर्ने अमर बन्नलाई
अमर कीर्ति अजर बन्न मनुष्य मात्रलाई
(श्लोक ३९, पृष्ठ ५३)
कालीगण्डकी तीर्थ स्थलको क्रममा मामाले गर्न लागेको यज्ञमा सहभागी भै नदीमा पौडी खेल्ने ज्ञानको कमीले नदीको भुँवरीमा विलिन भएकी सखीलाई अमरत्व दिनको लागि लेखिएको खण्डकाव्यले रानीघाटको तीर्थको महत्त्वलाई प्रष्ट पारेकको छ । रानीघाटमा रानीको स्मरणको लागि बनाइएको ऐतिहासिक दरबार, तत्कालिन त्यसको सुन्दरता, बनौटर पुन सपनाबाट विउँझेपछिको जिर्णता, रानीघाटबाट श्रीनगरतिर जाँदाको प्राकृतिक सुन्दरता त्यस भेगमा भएका पशुपंक्षी, श्रीनगरको सुन्दरता, पाल्पाका नारायण मन्दिर पोखरी आदिको चाखलाग्दो परिवेशमा सिर्जना गरिएको यो खण्डकाव्यमा समष्टिगत सजीव चित्रण भएको छ र यसले यस काव्यको महत्त्वलाई उच्चाइमा पु¥याएको छ । विधिको विधान र विधिको निर्णयले मानव जीवनमा पर्ने प्रभावलाई सहज र सरल रूपमा काव्यकारले समेट्ेकी छन् । जीवन जगतको दर्शनलाई अँगाल्दै कविले मानवको जन्म अमरत्त्व कायम गर्नको लागि हो । त्यसो हूँुदा सबैले बुझ्नपर्ने कुरा जीव नासवान छ, मानव आयु छोटो छ यसलाई सदुपयोग गर्नु पर्छ भन्ने सन्देश काव्यले प्रदान गर्न सफल छ । अमर प्रेममा परेको घातको स्मरण अमिट हुन्छ र उर्जाशील हुन्छ भन्ने प्रमाण पनि काव्यकारले स्वधारणामा प्रष्ट्याएकी छन् जस्तै सखी वियोगले गंगाजीमा कविताको स्पूmरण गरायो भने ममतामयी आमाको अमिट प्रेमले साहित्य लेखनमा संरक्षण, सम्वर्धन र जागृति ल्यायो । यो सत्य घटनामा आधारित काव्य हो ।यो एकालापीय खण्डकाव्य भएकोले काव्यकारको बढी सक्रिय देखिनु स्वभाविक हो । श्रीलक्ष्मी (सखी) कथाकी पात्र हुन्, श्रीलक्ष्मीकी दिदी, मामा, माइजु र आमा कथामा जोडिएका पात्र हुन् । यस खण्डकाव्यलाई शोककाव्यको रूपमा पनि लिन सकिन्छ किनकी यो सखीको वियोगमा बालक मस्तिष्कमा स्पर्श गरेर सखी वियोग कविता स्फुरण भएको थियो र काव्यकारकै भनाई अनुसार त्यही सखी वियोग शीर्षकलाई खण्डकाव्यको रूपमा लेखिएको छ । यो काव्य स्मरणको रूपमा पनि आएको छ । यो रानी घाटमा यस काव्यका यहाँ जे जति घटनाक्रमहरू छन्, प्राकृतिक वर्णन छ, सामाजिक यथार्थता छ, रानीदरवारको सुन्दरता र रानीघाट पूण्य तीर्थको वर्णन छ, श्रीनगरको प्राकृतिक जुन महत्व छ, ती सबै यथार्थ हुन । साथीको विलयको घटनाक्रमलाई छाडी अरु वर्णन गरिएका स्थलगत विवरणहरू मैले पनि अवलोकन गरेको छु । सत्य घटनालाई लिएर लेखिएका काव्यको महत्त्व अझै ठूलो हुन्छ । त्यो महत्त्वको श्रेय गंगाजीले हात पार्नु भएको छ । लोक भाषाको झ्याउरे लयमा लेखिएको यस काव्यमा प्रयोग भाषा सबैलाई ग्राह्य छ, । गाउन सकिने खालको श्लोकहरू छन् । शीर्षकीकरणालाई हेर्दा पनि सार्थक नै लाग्छ किनकी यो खण्डकाव्य सखीको वियोगमा सखीलाई अमरत्व दिन लेखीएको हो ।
समग्रमा खण्डकाव्यले ओगटेको क्षेत्र, विषयबस्तु,प्रस्तुति आदिलाई मूल्याङ्कनको रूपमा हेर्दा एटा सानो घटनाको कथामा सुन्दर काव्यको सिर्जना गर्नु प्रसंशनीय र अनुकरणीय देखिन्छ । यस्तो कारुणिक खण्डकाव्यकी काव्यकारको सुस्वास्थ, दीर्घायुको साथै सुन्दर काव्य सिर्जनाको लागि कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
कावासोती न.पा,वडा नं ७, शान्तिचोक नवलपुर, गण्डकी प्रदेश, नेपाल,

You might also like
Loading...