सप्तरीमा प्रहरी इन्काउन्टरमा चौधरीको मृत्यु


सप्तरी । रुपनी गाउँपालिकामा बुधबार प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ ।




राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको विष्टले बताए । प्रहरीलाई देख्नेबित्तिकै चौधरीले फायरिङ गरेका थिए । प्रहरीका तर्फबाट फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेका थिए भने मोटरसाइकल चालक फरार भए थिए । चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको विष्टले बताए ।




माघ २ गते राति प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि हतियारधारी समूह ‘प्रगतिशील तराई मुक्ति मोर्चा समूह’ले गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते यादवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सो घटनामा चौधरीको संलग्नता हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।




सम्बन्धित
Loading...