सवारीसाधन खरिदमा भएको अनियमितताप्रति नयाँ शक्तिको ध्यानाकर्षण


बुटवल । नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ५ ले हालै प्रदेशसभा सचिवालय तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुले खरिद गरेका सवारीसाधनहरुमा भएको आर्थिक अनियमितताप्रति गम्भीर चासो व्यक्त गरेको छ । शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै पार्टीका कार्यकारी सदस्य तथा प्रदेश प्रवक्ता मनिकर कार्कीले स्थानीय तथा प्रदेश सरकारको सुविधामुखी तथा विलासी शैलीप्रति टिप्पणी गर्दै सरकारलाई मितव्ययी भएर जनमुखी तरिकाले कार्यसम्पादन गर्न अनुरोध गरेको छ ।



विज्ञप्तीमा भनिएको छ – ‘प्रदेश सभा सचिवालय तथा मन्त्रालयहरुले खरिद गरेको झण्डै २३ करोडको सवारीसाधनमा भएको आर्थिक अनियमितता बारे तत्काल छानबिन गरी दोषीउपर कारबाही गर्दै सरकारी अड्डाहरुमा कानून मिलाएर गरिने आर्थिक अनियमिततालाई निरुत्साहित गर्दै त्यस्ता कार्यलाई पनि दण्डनीय बनाई कारबाही गरी राज्यको सम्पत्तिको दुरुपयोग रोक्न जोडदार माग गर्दछौं ।’



गएको आर्थिक वर्षमा झण्डै पौने अर्बको सवारी साधन खरिद गरिएकोप्रति पनि गम्भीर ध्यानाकर्षण गराउँदै नयाँ शक्तिले मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयहरुमा सडेर बसेका करोडौं मूल्यका सवारी साधनहरु मर्मतसंभार गरी संचालन गर्न अनुरोध गरेको छ ।त्यस्तै संघीयतालाई भड्किलो र बोझिलो बनाउने गरी सिर्जना गरिएका र भविष्यमा गरिने सबै आर्थिक दायित्वहरु कटौती गरी जनमुखी भएर काम गर्नसमेत नयाँ शक्तिले सरकारलाई सचेत गराएको छ ।

जनप्रतिनिधिहरुले सरकारी अड्डाहरुमा मनलाग्दी किसिमले आफ्ना आफन्त तथा दलीय कार्यकर्ताहरुलाई भर्ती गरेको, बजेटको स्वविवेकीय प्रयोग गरेको तथा नागरिकको सेवाभन्दा सुविधाकेन्द्रित गतिविधिलाई जोड दिएकोप्रति रोष प्रकट गर्दै नयाँ शक्तिले त्यस्ता कार्य रोक्न सरकारलाई सचेत तुल्याएको छ ।
त्यस्तै विज्ञप्तिमा प्रदेशमा भइरहेको अनियमितता तथा तस्करी नियन्त्रण गरी आर्थिक पारदर्शिता कायम गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ – ‘प्रदेश अन्तर्गतका नदीनालाहरुमा अवैध रुपमा चलिरहेको नदीजन्य पदार्थको निकासी रोक्न, तस्करी नियन्त्रण गर्न, राजस्व संकलनलाई व्यवस्थित गर्न, मितव्ययी तरिकाले सरकारी कोष परिचालन गर्न, आफ्नै सुविधा आफैं बढाउने कार्य रोक्न तथा प्रदेश सभाले सेवासुविधाकै लोभमा अनावश्यक रुपले संसदीय समितिहरु थप गरी प्रदेशलाई आर्थिक रुपले बोझिलो बनाउने काम बन्द गर्नसमेत हामी जोडदार माग गर्दछौं ।’



सम्बन्धित
Loading...