विद्युत प्राधिकरण कर्मचारीकाे चरम लापरवाही, जन्तीवसमा करेण्ट लाग्दा ७ जनाकाे मृत्यु

54







धनुषाको सबैलामा जन्ती बसमा करेन्ट लाग्दा  ७ जनाकाे मृत्यु भएकाे छ । मृतक मध्य ६ जनाकाे सनाखत भएकाे छ।

विद्युत प्राविधिकरणका कर्मचारीकाे चरम लापरवाहीका कारण शुक्रबार साँझ याे घटना घटेकाे हाे।

मानवीय क्षति हुनुमा विद्युत प्राधिकरण दोषि रहेको जनप्रतिनिधिले बताएका छन् ।

धनुषाको सबैला नगरपालिका प्रमुख विजय शंकर साहले विद्युत प्राधिकरणको लापरवाहीले घटना भएको दाबी गरे । विद्युतीय तार तन्केर निकै तल झरेको र प्राधिकरणलाई पटकपटक तार तान्न आग्रह गरेपनि नटेर्दा ठूलो दुर्घटना भइ मानवीय क्षति भएको प्रमुख साहले बताए ।

धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा जन्ती सवार ना ५ ख १७५२ नम्बरको बसमा शुक्रबार बेलुकी करेन्ट लागेको थियो । बेहुला बेहुली भने छुट्टै गाडीमा चढेकाले सकुशल छन् ।

बसको छतमा राखिएको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुने तार छोइएर मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर ६ जनाकाे घटना स्थलमै र एक जनाकाे उपचारकाे क्रममा मृत्युु भएकाे हाे ।

मृत्यु हुनेहरुमा सिन्धुली दुधौली नगरपालिका ९ का ९ वर्षीय बालक राकेश कुमर, १० वर्षीय सुरज अधिकारी, २० वर्षीया पूजा अधिकारी, १७ वर्षीया लिला अधिकारी, ४५ वर्षीय रामबाबु अधिकारी र धनुषा सबैला ४ की ६० वर्षीया केशम कुमरकाेे सनाखत भएकाे छ।

करेन्ट लागेर मृत्यु भएकाहरुलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ ।

घाइते ६ जनाको जनकपुर अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

You might also like
Loading...