औद्योगिक प्रदर्शनी केन्द्रमा ४२ करोड लगानी

34







भरतपुर । औद्योगिक प्रदर्शनी केन्द्रको लगानी ४२ करोड रूपैयाँ पुग्ने भएको छ । यसअघि निजी क्षेत्रको १५ करोड र नेपाल सरकारको १५ करोड गरी कुल ३० करोड रूपैयाँमा निर्माण गर्ने लक्ष्य लिइए पनि त्यतिले नपुग्ने भएपछि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको चितवन उद्योग संघले जनाएको छ ।

‘एयर कन्डिसन, फायर फायरिङ सिस्टम, जेनेरेटर र ट्रान्सफर्मर खरिदका लागि प्रदेश सरकारसँग ७ करोड रूपैयाँ माग गरेका छौँ’, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले भने, ‘संघीय सरकारसँग भने निर्माणकै लागि थप पाँच करोड रूपैयाँ माग गरेका छौँ ।’

सुरूमा ३० करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिए पनि उक्त बजेट कम हुन गएकोले सरकारसँग माग गरिएको उनको भनाइ छ ।

योसँगै औद्योगिक प्रदर्शनी केन्द्रको लगानी ४२ करोड पुग्ने अध्यक्ष दुवाडीले बताए । उनका अनुसार सरकारी जग्गामा निजी क्षेत्रले समन्वय गरेर निर्माण गरेको औद्योगिक प्रदर्शनी केन्द्र नेपालकै सबैभन्दा ठूलो र नमुना आयोजना हो । केन्द्रको निर्माण कार्य हालसम्म ७५ प्रतिशत सम्पन्न भएको वरिष्ठ उपाध्यक्ष राजु पौडेलले जानकारी दिए ।

असार मसान्तसम्ममा काम सक्ने लक्ष्य लिइएको उनले बताए । विसं २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेको उक्त केन्द्रको निर्माण कार्य भने २०७४ को जेठबाट सुरू भएको थियो । चितवन उद्योग संघले घरेलु तथा साना उद्योग कार्यालयको नाममा रहेको दुई बिगाह साढे सात कठ्ठा जग्गा २९ वर्षका लागि कित्ताकाट गरेर भोगाधिकारका लागि लिएर उक्त संरचना निर्माण गरेको हो । केन्द्रको निर्माण सकिएलगत्तै भरतपुर २९, कविलासस्थित जुरेथुम्कामा औद्योगिक शिक्षालय निर्माणको काम थालिने उनले बताए ।

भरतपुरमा बनेको औद्योगिक प्रदर्शनी केन्द्र, शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्र र कविलासमा बन्ने औद्योगिक शिक्षालयको काम सम्पन्न भइसकेपछि ३ नं प्रदेश देशकै सबैभन्दा धनी प्रदेश बन्ने उनले दाबी गरे ।

‘यी तीनैवटा प्रोजेक्टको काम सम्पन्न भइसकेपछि स्वदेशमै लगानी गर्ने र रोजगारको सिर्जना हुन्छ, यसले राज्यको राजस्वमा समेत वृद्धि भई आर्थिक विकासमा टेवा पु¥याउँछ र त्यसले ३ नं प्रदेशलाई नै धनी बनाउँछ ।’ त्यसैले, शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको निर्माणमा पनि निजी क्षेत्रसँग साझेदारी गर्न सरकारलाई दबाब दिइरहेको उनले बताए ।

चितवन पोष्टबाट

You might also like
Loading...