नीतिगत भ्रष्टाचारमा प्रधानमन्त्रीदेखि मुख्य सचिवसम्म

47







काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनतामाझ गरेको सर्वेक्षणले नीतिगत तहमा हुने भ्रष्टाचारमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्यसचिवसम्मको सहभागिता हुने गरेको देखाएको छ ।

अख्तियारले देशका विभिन्न भागमा पुगेर ३ हजार ४ सय सर्वसाधारणसँग गरेको मत सर्वेक्षणले विगतमा प्रधानमन्त्रीदेखि मन्त्री तथा मुख्य सचिवको सहभागितामा नीतिगत भ्रष्टचार हुने गरेको तथ्य औंल्याएको आजको राजधानी दैनिकमा खबर छ ।

अख्तियारले मंगलबार सार्वजनिक गरेको सो सर्वेक्षण प्रतिवेदनमा नीतिगत तहमा राजनीति दल, मन्त्रीका सल्लाहकार, सचिव तथा विभागीय प्रमुखसमेत उत्तिकै दोषी रहने उल्लेख छ ।

सर्वेक्षणले बढी अनियमितता हुने र अतिरिक्त दस्तुर लिएर काम गर्ने कार्यालयको पनि पहिचान गरेको छ । जसअनुसार जिल्ला खानेपानी कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, नगरपालिका र गाउँपालिका तथा मालपोत कार्यालय, सडक कार्यालय, भूमिसुधार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, दूरसञ्चार कार्यालय, यातायात व्यवस्था कार्यालयमा अत्यधिक अनियमितता हुने गरेको छ ।

भ्रष्टाचार बढ्नुका जिम्मेवार पक्षहरू :

सर्वेक्षणले भ्रष्टाचार बढ्दै जानुका जिम्मेवार पक्षसमेत औंल्याएको छ । जसअनुसार भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र तिनका कार्यकर्ताहरू प्रमुख कारणका रूपमा रहेका छन् । यसैगरी, अन्य जिम्मेवार पक्षमा मन्त्री र मातहतका व्यक्तिहरू, उच्चपदस्थ कर्मचारी, उद्योगी र व्यापारीहरु, मध्यस्तकर्ता निर्माण व्यवसायी, प्राविधिक कर्मचारीसमेत भ्रष्टाचार बढ्नुमा मुख्य जिम्मेवार रहेको पाइएको छ ।

सबै प्रदेशमा भ्रष्टाचारको बढ्दो क्रम

अख्तियारले गरेको सर्वेक्षणमा सहभागीमध्ये ६३.७ प्रतिशतले सबै प्रदेशमा भ्रष्टाचार बढ्दो क्रममा रहेको बताएका छन् ।

सरकारी क्षेत्रमा नै बढी भ्रष्टाचार

अख्तियारको सर्वेक्षणमा सहभागीहरुले सरकारी क्षेत्रमा नै अत्यधिक भ्रष्टाचार हुने गरेको औंल्याएका छन् । अख्तियारका अनुसार ६०.६ प्रतिशत उत्तरदाताले सरकारी क्षेत्रमा नै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताएका छन् । यसैगरी, १८.२ प्रतिशतले निजी क्षेत्रमा, १५.७ प्रतिशतले गैरसरकारी क्षेत्रमा भ्रष्टाचार हुने गरेको औंल्याएका छन् ।

सबैभन्दा बढी नीतिगत तहमा नै भ्रष्टाचार

सर्वेक्षणमा सहभागीमध्ये ३०.४ प्रतिशतले नीतिगत तहमा, २७.२ प्रतिशतले प्रक्रियागत रूपमा भ्रष्टाचार हुने गरेको बताएका छन् । यसैगरी, १०.४ ले साना तहका भ्रष्टाचार र ६.९ प्रतिशतले संस्थागत रूपमा भ्रष्टाचार हुने गरेको औंल्याएका छन् ।

You might also like
Loading...