वास्तविक सहिदको अपमान भयो : सहिद परिवार

39







परासी । देशका लागि बलिदान दिने वास्तविक सहिदको  पहिचान गर्न सहिद परिवारले माग गरेका छन् । जथाभावी सहिद घोषणा गर्ने परिपापाटीले वास्तविक सहिदको अपमान भएको उनीहरुको गुनासो छ । सहिद दिवसका अवसरमा पश्चिम नवलपरासी सुनवल–५ वनकट्टीस्थित जनआन्दोलन २०६२/०६३ का सहिद विष्णु पाण्डेको शालिकमा आज बिहान माल्यापर्ण गर्दै सहिद पाण्डेकी धर्मपत्नी भागिरथी पाण्डेले सहिदको अपमान नगर्न सरकारलाई आग्रह गरिन् ।

राणाशासन र राजतन्त्रको अन्त्य गर्न वीर सहिदले दिएको बलिदानीका कारण आज मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरे पनि सहिदको रगतको पनि सम्मान हुन नसकेको उनको गुनासो छ ।

उनले भनिन् ‘पछिल्ला केही वर्षदेखि दुर्घटनामा ज्यान गुमाउने, चोरीडकैती गर्दा ज्यान गुमाएकालाई पनि सहिद घोषणा गरिएको छ, दलहरुले आफ्नो कार्यकर्तालाई भागबण्डा लगाएर दलीय हिसाबले सहिद घोषणा गरिरहेका छन्, यसको म घोर भर्त्सना गर्दछु ।’

देश र जनताका लागि आफ्नो जीउज्यानको पनि माया नगरी हाँसीहाँसी शहादत प्राप्त गर्ने व्यक्तिलाई मात्र सहिद घोषणा गर्ने प्रावधान राख्न उनको सुझाव थियो । सहिदको बलिदानीका कारण प्राप्त गणतन्त्रात्मक शासनमा सहिदलाई सम्मान गर्नुका सट्टा आजको दिनमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गरिएकोमा शहीद पाण्डेका दाजु लक्ष्मी पाण्डेले आपत्ति जनाए ।

‘नेताहरु देशको ढुकुटी रित्ताउने गरी सत्ता लिप्सामा केन्द्रित हुने तर शहीदका परिवारको दैनिकीको अवस्थाप्रति कति पनि जिम्मेवार नहुने प्रवृत्तिले हामीलाई दुःखी बनाएको छ । वर्तमान सरकारले यस्ता विकृति हटाउने छ भन्ने हामी शहीद परिवारले आशा लिएका छौँ’, उनले भने ।

सहिद विष्णु पाण्डे स्मृत्ति प्रतिष्ठानले सो कार्यक्रमको आयोजना गरेको थियो ।  रासस

 

You might also like
Loading...