सामूहिक बलात्कारको शिकार भएकी नवलपुरकी बालिका पढाइबाट बञ्चित

85







सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिकालाई समाजको लान्छनाका कारण पढाइबाट बञ्चित हुनु परेको छ ।

तीन वर्षअघि २०७२ सालको चैत महिनामा ती बालिकामाथि गाउँकै तीन जना युवाले सामूहिक बलात्कार गरेका थिए । त्यतिबेला पाँच कक्षामा पढ्दै गरेकी उनी १३ वर्षकी थिइन् । अति विपन्न परिवारकी ती बालिकाले दुई वर्षपछि न्याय त पाइन् तर समाजको लाञ्छनाका कारण पढाइबाट बञ्चित हुनु पर्यो ।

२०७५ सालको वैशाख ३० गते मात्रै जिल्ला अदालतबाट तीन जना पीडकलाई १३ वर्षको कैद सजाय र एक÷एक लाख जरिमानासहित सजाय भयो ।

अहिले घरमा बसेर पढ्ने वातावरण नभएको उनी बताउँछिन् । उनलाई पढ्न त मन छ तर गाउँमा उनलाई विभिन्न किसिमले लान्छना लाउने हँुदा उनी पढ्न गएकी छैनन् । मुद्दाको फैसला नहुदासम्म उनी कहिले परासीको सेवा केन्द्र कहिले आफन्तीको घरमा बस्नु परेको थियो ।

फैसला हुन लामो समय लाग्दा पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन् । दुई वर्षसम्म पढाइ छुटेकाले उनका साथी अहिले कक्षा आठमा पढ्दैछन् । न्यायका लागि हिड्दा दुई वर्ष विताएकी उनी कक्षा ६ मा भर्ना भई पढाइलाई निरन्तरता दिन लागेकी थिइन् ।

उनी पढ्ने विद्यालय जाने बाटोमा पीडकका परिवारको घर पर्छ विद्यालय जाने अन्य बाटो छैन । उनी विद्यालय जाने आउने बेला पीडकका परिवारले अपशब्द प्रयोग गर्दै गाली गर्ने गर्छन् । जसले गर्दा विद्यालय जान मन नलागेको उनले गुनासो गरिन् ।

लामो समयको संघर्षबाट उनले न्याय त पाइन् तर समाजले अझै पनि उनलाई नै दोषी बनाएको छ । ‘ समाजका केहीले त मलाई धेरै सहयोग गर्नुभएको छ पढ्नुपर्छ भन्नुहुन्छ । तर, कतिपयले मलाई नै दोषी बनाउँछन् । नराम्रो नराम्रो शब्द प्रयोग गर्छन् । अनेकथरी कुरा सुनाउँछन् । जसले गर्दा म घरबाट बाहिर नै निस्किन सकेकी छैन ।’

यता, बालिकाले क्षतिपूर्ती बापत पाउनुपर्ने तीन लाख रुपैयाँ अझै पाउन सकेकी छैनन् । मुद्दा फैसला हुदा तत्कालका लागि महिला तथा बालबालिका कार्यालय नवलपरासी मार्फत् क्षतीपूर्ति रकम दिने भनिएको भए पनि अदालतको पत्र प्रक्रिया पुराएर महिला तथा बालबालिका कार्यालय नवपरासीमा पुग्दा ढिला हुन पुग्यो । असारपछि महिला तथा बालबालिका कार्यालय खारेज भएकाले क्षतीपूर्ति रकम पनि निकासा हुन सकेन ।

जिल्ला अदालतबाट असार २६ गते मात्रै पत्र पुगेको थियो । प्रकृया पु¥याएर पठाउदा ढिला हुन पुगेको अदालत स्रोतको भनाइ छ । महिला तथा बालबालिका कार्यालयले स्थानीय तह ( कावासोती नगरपालिकाको) महिला तथा बालबालिका शाखालाई क्षतीपूर्तिका लागि पत्र लेख्यो तर नगरपालिकामा पनि कोष नभएकाले क्षतीपूर्ति उपलब्ध गराउन नसकिएको महिला तथा बालबालिका कार्यालय शाखा कावासोतीकी निर्मला पौडल बताउनु हुन्छ ।

बालिकाको घरको आर्थिक अवस्था कमजोर रहेकाले सके सम्म छिटो क्षतीपूर्ति रकम उपलब्ध गराउन कार्यालय पनि लागि परेको पौडेलले बताउनुभयो ।

बालिकाकी आमाले छोरीको भविष्यको धेरै चिन्ता लागेको बताउनुभयो । पढ्ने वातावरण पनि नहुने अन्य कुनै सीप सिकाउन पनि आफूसँग पैसा नहुँदा छोरीको भविष्य नै अन्धकार हुने हो कि भन्ने चिन्ताले उनकी आमालाई सताएको छ । क्षतीपूर्ति रकम पाएमा छोरीलाई कुनै सीप सिकाएर आत्मनिर्भर गराउन सकिन्थ्यो कि भन्ने उहाँको आशा छ ।

You might also like
Loading...