७० बर्षमा पनि १६ बर्षे जोशः प्रेस स्वतन्त्रता सेनानी पत्रकार भट्टराई

96







रामकुमार श्रेष्ठ
लालकुमार भट्टराई उमेरले तिन बीस पार गरिसके, सामान्य भाषामा भन्नुपर्दा बुढौलीले छोई सक्यो । ७० बर्षीय प्रेस स्वतन्त्रताका सेनानी लालकुमार भट्टराई पेशाले पत्रकार हुन् उनी उमेरले बुढो भएपनि काममा भने १६ बर्षे युवा जोशका साथ काम गर्छन् अझै ।
नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोला घर भएका भट्टराई २०५३ सालदेखि नेपाल टेलिभिजनमा नवलपरासी संवाददाताको रुपमा कार्यरत छन् । त्यसो त उनी २०२९ सालतिरबाट पत्रकारितामा लागेका हुन् जति बेला नेपालमा वामपन्थी पार्टीले भूमिगत रुपमा प्रगतिशिल पत्रिकाहरु प्रकाशन गर्ने गर्दथे ।
पत्रकारितामा झण्डै ४५ बर्षको लामो इतिहास बोकेका भट्टराई नेपाली पत्रिकारिताकै एक इतिहास बोकेका पत्रकार हुन् । नेपाली पत्रकारिताका इतिहासमा उनी पनि एक जिउँदा इतिहास हुन् भन्दा फरक पर्दैन । पत्रकारितामै लागेको ४५ बर्ष भयो, उमेर ७० नाघ्यो तथापि उनको पत्रकारितामा काम गराई भने अझै युवा जोस जस्ताको त्यस्तै छ, जतिबेला उनले पत्रकारिता शुरु गर्दाको जोश थियो त्यो जोशमा कत्तिपनि कमी छैन । उनी भन्छन् मलाई पत्रकारिता एक किसिमको नशा जस्तै भएको छ मलाई मेरो शरिर र श्वासले साथ दिँदासम्म यसैमा समर्पित भएर लाग्ने छु ।
नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई प्रेस स्वतन्त्रता सेनानी लालकुमार भट्टराईलाई एउटा निर्भक, निडर पत्रकारको रुपमा व्याख्या गर्दछन् । उनी भन्छन् – ‘लालकुमार एउटा जोशिला पत्रकार हुन्, कुनै लोभलालच नभएका स्वतन्त्र स्वभावका पत्रकार हुन् । उनको पत्रकारितामा जोश अझै पनि सोह्र बर्षे ठिट्टो भन्दा कम छैन ।’


वामपन्थी पार्टीहरु भूमिगत अवस्थामा रहँदा प्रगतिशील पत्रकारितामा लागेका भट्टराई पत्रकारितासँगसँगै फोटो स्टुडियो पनि सञ्चालन गरेर व्यवसायमा पनि लागेका थिए पछि नवलपरासीको अरुणखोलामा झरेर आफ्नै नामबाट एलके फोटो स्टुडियो खोलेपछि नेपाल टेलिभिजनमा जोडिएर पत्रकारितामा अझै सक्रिए भएर लागेका हुन् । उनी २०५३ सालबाट नेपाल टेलिभिजनमा नवलपरासी संवाददाताको रुपमा कार्यरत छन् ।
पत्रकारितामै लागेर जीविकोपार्जन गर्नु पर्ने बाध्यता छैन भट्टराईमा फोटो स्टुडियोबाट राम्रो कमाई गरेका भट्टराईले अहिले फोटो स्टुडियो व्यवसाय छाडेर बसेका छन् र पत्रकारितालाई मात्र अंगालेका छन् । भने उनका छोराहरु पनि आआफ्नो पेशा र व्यवसायमा आवद्ध भईसकेकोले उनलाई आर्थिक समस्या छैन ।
उनी भन्छन् पत्रकारिता गरेर नै जीविकोपार्जन गर्नु पर्छ भन्ने मेरा बाध्यता होइन तर पत्रकारिता छोडे भने निरास हुन्छु एक्लो हुन्छु जस्तो लाग्छ । त्यसैले म बाँचुन्जेल यसै पेशामा समर्पित भएर लाग्ने छु । उनले परिवारले अब पत्रकारिता पेशामा नहिड्नु भन्ने गरे पनि मनले मान्दै नमानेर छोड्न नसकेको बताए । उनले भने मलाई म बुढो भएँ भन्ने महशुष आत्मैबाट हुन सकेको छैन ।

को हुन प्रेस स्वतन्त्रता सेनानी भट्टराई

 

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा २०३४ साल चैत्र १५ गतेदेखि स्थायी रुपमा बसोबास गर्दै आएका लालकुमार भट्टराईको जन्म २००७ साल स्याङ्जाको तीन दोवाटे गाविस वडा नं. १ (हाल गल्याङ्ग नगरपालिका) मा जन्मिएका हुन् ।
आमा सुमित्रा भट्टराई र बुवा काशीराम भट्टराईको पाँच भाई मध्येका कान्छा छोरा भट्टराईका ५ दिदी र एक बहिनी छन् ।
पाल्पाको पद्म पब्लिक हाइ स्कूलबाट विद्यालय तहसम्मको शिक्षा हासिल गरेका भट्टराईले स्याङ्जाको वालिङ्गमा २०२९ सालमै फोटो स्टुडियो खोलेर २२ बर्षको उमेरदेखि व्यवसाय शुरु गरेका हुन् । जति उनले फोटो स्टुडियो खोले त्यति बेला सादा अर्थात ब्ल्याक एण्ड वाइट फोटो निकालिने गर्दथ्यो । त्यति बेलादेखि नै उनले पत्रकारितामा हात हालेका हुन् ।

परिवारसँगको सामुहिक तस्वीर
पत्रकार भट्टराई श्रीमती विष्णुमाया भट्टराईसँग

पछि उनले विष्णुमाया भट्टराईसँग २०३२ सालमा पाल्पामा विवाह गरेपछि २०३४ साल चैत्र १५ गते नवलपरासीको अरुणखोला झरे र एलके फोटो स्टुडियोको नाममा फोटो स्टुडियो गरे । उनको फोटो स्टुडियो केही बर्ष अगाडिसम्म सञ्चालनमा थियो । पछि फेसबुक, ह्वाड्सप जस्ता समाजिक सञ्जालको विकास र मोबाइलबाटै फोटो खिच्ने मिल्ने प्रविधिको विकास भएसँगै उनले फोटो व्यवसाय छाडे ।
२ छोरा, एक छोरी र ३ जना नातिनातिनीका धनि भट्टराई २०७३ साल बैशाख २१ ग्ते प्रेस स्वतन्त्रता सेनानीको उपाधिबाट सम्मानित भएका हुन् । उनले नेपाली पत्रकारिताको क्षेत्रमा स्वतन्त्रताको विकास र रक्षाका लागि अभिव्यक्ति स्वतन्त्रता आन्दोलनमा खेलेको भूमिकाको लागि विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को अवसर पारेर उनलाई नेपाल पत्रकार महासंघले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानित गरेको हो ।

उनी जिल्ला विकास समिति नवलपरासीले प्रदान गरेको विकास पत्रकारिता पुरस्कार, लक्ष्मी स्मृति साहित्य प्रतिष्ठान, कालिका एफ.एम. चितवनबाट सम्मानित भएका छन् ।
उनी नेपाल पत्रकार महासंघ नवलपरासीबाट पटक पटक केन्द्रिय पार्षदमा निर्वाचित भए । उनी अहिले पनि नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद हुन् ।
नवलपरासी आएसँगै पत्रकारिता पेशाबाट केही समय अल्गिन परेका भट्टराई २०५३ सालबाट नेपाल टेलिभिजनमा आवद्ध भएर काम गर्न शुरु गरेका हुन् । उनका दुवै छोरा अहिले विदेश छन् ।
वामपन्थी विचारमा झुकाव राख्ने भट्टराई पाल्पामा अध्ययन गर्दै देखि अखिल नजिक भएका थिए । उनी सुस्ता लगायतका क्षेत्रमा भारतले भूमि मिचेको विरुद्ध आवाज उठाएका वामपन्थीहरुको शैलीप्रति प्रभावित भएर वामपन्थी विचार नजिक भएका हुन् । राजनीतिमा त्यति सक्रिय भएन नलागेका उनी पूर्व नेकपा एमाले निकट मानिने प्रेस चौतारीमा आवद्ध छन् ।

पत्रकारितामा लालकुमार भट्टराईको अनुभव

वि.सं. २०२९ सालदेखि पत्रकारिता शुरु गर्दादेखि अहिलेसम्म पत्रकारिताको क्षेत्रले निक्कै फड्को मारेको छ । तथापि उनले आफूलाई नयाँनयाँ प्रविधिसँगसँगै लगेका छन् ।
भट्टराई भन्छन् – ‘उति बेला पत्रकारिता गर्दा समाचार लेखेर कुनै एउटा मानिसको हातबाट समाचार पठाउनु पथ्र्यौ, पछि हुलाकबाट समाचार पठाउने बेला आयो । सञ्चारको दुनियामा आएको परिवर्तनसँगै विस्तारै हामी फ्याक्स गरेर समाचार पठाउनेबाट अहिले मेल गरेर समाचार पठाउने समयमा आयौं ।’


पत्रकारिता शुरु गर्दाको अनुभव उनी यसरी सुनाउँछन् – ‘शुरु शुरुमा पत्रकारिता गर्दा निक्कै रमाइलो लाग्थ्यो आफूले लेखेको चिजहरु समाचारको रुपमा पत्रिकामा पढ्न पाउँदा बेग्लै अनुभव हुन्थ्यो । त्यति बेला (भूमिगतकालमा) नामसहित समाचार आउँदैन थिए । तथापि आफूले लेखेको समाचार पढ्ना पाउँदा छुट्टै किसिमको आनन्द आउँथ्यो ।’
उति बेला आज समाचार खिच्यो, कुरिएर गरेर चक्का (भिसिडी) पठाउँदा ३, ४ दिन पछि समाचार प्रशारण हुन्थ्यो त्यतिबेला त्यो पनि ताजा हुन्थ्यो अहिले त ५/१० मिनेट भित्रै पठाउन पर्छ । विहानको समाचार साँझसम्म बज्दा पनि बासी हुन थाल्यो । उनले भने प्रविधिको विकासले हामी जति जति छिटो समाचार दिन सक्ने भएका छौं, काममा त्यति मज्जा आउने र रमाइलो लाग्ने गर्छ मलाई ।
अहिले समाचार छिटो दिने वाहानामा कहिले काँही गलत समाचार प्रकाशन, प्रशारण हुन सक्ने भएकोले हतार गरेर कसले बाजी मार्ने भनेर समाचार पठाउने भन्दा पनि राम्ररी पुष्टि गरेपछि मात्र पठाउनु पर्नेमा भट्टराई जोड दिन्छन् ।
उनको अर्को अनुभव पनि छ । उनले पत्रकारिता शुरु गर्दा १० किलोको क्यामेरा बोकेर हिड्नु पर्दथ्यो अहिले डिजिटल क्यामरा आएको छ अझ कतिपयले त मोबाइलबाटै पनि खिचेर काम चलाउने गरेका छन् ।

प्रविधिले थपेको चुनौती

भट्टराईले जुन बेला पत्रकारिता शुरु गरे त्यति बेला समाचार पठाउन हतारिनु पर्दैन थियो । मान्छेको हातबाट पठाउँदा पनि हतार गर्नु पर्दैन थियो । पछि हुलाकबाट समाचार पठाउने बेलामा पनि हतारिनु पर्दैन थियो । पछि फ्याक्सबाट पठाउने प्रचलन आयो । भट्टराई सम्झन्छन – समाचार लेखेर फ्याक्स गर्ने प्रचलन आएपछि पत्रकारितामा प्रतिप्रर्धा शुरु भयो । अझ अहिले मेल गर्ने प्रचलन आयो, भिडियो अडियो, समाचार फाइल सबै क्षणभरमा पठाउन सकिन्छ । यसले पत्रकारिता गर्न सक्रिय पूर्वक नलागि हुन्न भन्ने देखाएको छ ।
भट्टराईले प्रविधिको विकाससँगै आफै समाचार टाइप गर्न भिडियो सम्पादन गर्न र मेल गर्न पनि सिकेका छन् । घरमै नेट जोडेर उनले आफूले खिचेको भिडियो र लेखेको समाचार मेल गर्छन । भट्टराई भन्छन् – टाइप गर्न, मेल गर्न जानिएन भने त पछाडि परिदो रैछ त्यसैले आफै सिकें । उनलाई नयाँ नयाँ प्रविधि र युवासँग जुधेर काम गर्न सक्दिन भन्ने पटक्कै लाग्दैन ।


प्रविधिको विकाससँगै प्रतिप्रर्धा पनि उत्तिकै बढेको उनको ठहर छ । कुनै घटना भई हाले १०, १५ मिनेटमा सबै थाहा पाउनु पर्ने अवस्था आयो गाह्रो पनि छ प्रतिप्रधौ पनि छ । तथापि आफूलाई प्रविधिले पछाडि नपारेको उनको ठम्याई छ । उनी भन्छन – त्यही हो सामाजिक सञ्जाल, अनलाइनहरुले गर्दा पाठक, दर्शक र स्रोतालाई कुन समाचार सहि कुन समाचार गलत भन्न ठम्याउन गाह्रो पनि छ । अनलाइन एफएमले क्षणक्षण दिने समाचारले हतारमा समाचार लेखेर प्रशारण र प्रकाशन गर्दा समाचारमा केही विश्वसनीयता घटेको छ ।
यसका लागि उनले जुन सुकै समाचार बनाउँदा आफ्नै नजरले हेरेर वा आफूले बुझेर अनुसन्धान गरेर वा विश्वासीलो स्रोतबाट पुष्टि गरेर हतार नगरिकनी लेख्न अग्राह गर्छन । (‘त्यसले भन्दा पहिला मैले लेख्छु भनेर नलेख्न । समाचार लेख्नु अघि मेरो स्रोत कत्तिको विश्वासिलो हो जाँच गरम् ।

युवा पत्रकारप्रतिको धारणा

नयाँ नयाँ पत्रकार आएको पत्रकार थपिएको, सञ्चारमाध्यम थपिएको आफैमा सकारात्मक पक्ष हो । कुनै बेला नवलपरासीकै कुरा गर्ने हो भने पूर्वी नवलपरासीमा १० वटा औलामा गने पनि गन्न सकिने पत्रकार थिए अहिले नवलपुरमा मात्रै पत्रकार २ सयको हाराहारीमा छन् को कति सक्रिय छन् त्यो अर्को पाटो भयो । कति व्यवसायिक पत्रकार छन् त कति शौखित त कति पत्रकार हुँ भन्नका लागि मात्र पत्रकारिता गर्ने पनि छन् ।

लालकुमार निवास

उनले पत्रकार थपिएकोमा खुसी भन्दा पनि पत्रकारिताकै बदनाम गर्ने पत्रकारहरु पनि देखा पर्न थालेको प्रति चिन्ता छ । ‘कुनै बेला पत्रकार भने पछि कति सम्मान थियो अहिले त्यो शाख सबै गुमाएको छ । त्यसलाई बचाउन आवश्यक छ ।’ – उनले भने – ‘जति नवलपरासी जिल्लामा पत्रकारहरु उत्पादन भएको छ त्यो राम्रो हो पत्रकारितामा राम्रो माहोल आको छ तर, सु्धारेर लैजान युवा पत्रकारहरुको आवश्यक छ । सानो मिडियाबाट पनि ठूलो पत्रकार बन्न सकिन्छ भनेर प्रमाणित पनि भएका छन् । मात्र फरक यति हो शैली र चेतनामा फरक पर्छ ।
उनले अहिले पत्रकारिताको क्षेत्रमा बढ्दो युवा आकर्षणलाई एक खालको साउनको भेल जस्तै व्याख्या गर्छन । उनको अनुभवमा अहिले गणतन्त्र आए पनि गणतन्त्र व्यवस्थित हुन नसक्दा जथाभावी जे मन लाग्यो त्यही लेख्ने पत्रकारिता शुरु भएको बताउँछन् । यसलाई नियन्त्रण गर्न पहिला राज्य व्यवस्थित हुनु पर्नेमा जोड दिन्छन् ।
उनी भन्छन् – कुनै एउटा कार्यक्रममा गएर हाइहुई गर्दैमा पत्रकारिता चल्दैन, सच्चा पत्रकार बन्नको लागि सिकारी कुकुरको जस्तै भावना लिनु पर्छ । जसरी सिकारी कुकुरले सिकारलाई डुहाक्छ त्यसरी नै समाचारलाई डुहाक्न जान्नु पर्छ ।

दैनिक क्रियाकलाप

लालकुमार भट्टराई विहानै पाँच बजे उठेर नुवाईधुवाई गरेपछि पूजापाठ गर्छन् र मडिङ्ग वाकमा जाने गर्दछन् । विहान चिया नास्ता खाएर घरको काममा श्रीमतिलाई सघाउँछन् ।


विहानको खाना खाएपछि उनी समाचारको खोजीमा निस्कने गर्दछन् । आफू पुग्ने सक्ने स्थानमा कतै दुर्घटना भएको छ वा नेपाल टेलिभिजनमा समाचार प्रशारण हुने खालको कार्यक्रम छन भने पनि उनी ति कार्यक्रमहरुमा पुग्ने गर्दछन् ।
कुनै कार्यक्रम नभएको वखत गाउँघर तिर कृषि, विकास, बाटोघाटो निर्माण लगायतका समाचारहरु खोज्न हिड्छन् । कृषि समाचार लेख्न बढी रुचाउने भट्टराई साँझ खाना खाएपछि केही समय समाचार हेर्ने पनि गर्छन् ।

You might also like
Loading...