प्रदेश ४ र ५ बीच मदारबाबा थानको स्वामित्वबारे विवाद





नवलपरासी । सुस्तास्थित मुस्लिम र हिन्दु समुदायको साझा आस्थाको केन्द्र प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मदारबाबालाई गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशले आ–आफ्नो प्रदेशको दाबी गरेका छन् । दुई प्रदेशबीचको विवाद अझै टुंगिएको छैन ।
मदारबाबालाई गण्डकी प्रदेशको क्षेत्रभित्र पार्न थालिएको भन्दै विरोध शुरु भएको छ । मदारबाबा स्थलमा मेला सञ्चालन गर्दै आएको कुतबुल मदार शाह दरगाह कमिटीले मदारबाबा प्रदेश नम्बर ५ मा पर्ने दाबी गर्दै गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकाले अनावश्यक षडयन्त्र गर्न खोजेको आरोप लगाएको छ ।
कमिटीले मदारबाबा स्थल प्रदेश नं. ५ को पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका वडा नं २ महलबारीमा अवस्थित रहेको जग्गा आफूहरुसँग सुरक्षित रहेको तथा समाधिस्थल डाँडाको संरक्षण र सम्वद्र्धन २०५७ सालदेखि नै यसै कमिटीले गर्दै आएको बताएको छ ।
कमिटीका अध्यक्ष निजामुद्दिन मिया, कोषाध्यग्क्ष रियाजुलहक अन्सारी, सचिव अजमुद्दिन मिया, मठाधिश अमिरुल्लाह अन्सारी र संरक्षण बुद्धन अलिद्धारा आज जारी प्रेस विज्ञप्तीमार्फत मदारबाबा प्रदेश नं. ५ मै अवस्थित रहेको दाबी गरिएको छ ।
पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर जीसी र वडा न्् ६ का अध्यक्ष पृत्तमबहादुर गुरुङले मदारबाबा आफ्नो क्षेत्रमा पर्ने भन्दै छुट्टै समिति गठन गरेर आन्दोलन थालेका थिए ।
मदारबाबा थानमा प्रत्येक वर्ष महाशिवरात्री भन्दा एक हप्ताअघिदेखि ठूलो धार्मिक मेला लाग्ने गर्दछ । यसवर्ष पनि फागुन १२ गतेबाट मेला सुरु हुदैछ । तर मेलालाई भाँड्न गण्डकी प्रदेशले अनावश्यक बखेडा झिकेको भन्दै पश्चिम नवलपरासीका मुस्लिम समुदायले विरोध जनाएका छन् ।
मदारबाबाको मुख्य स्थल अहिले सुस्ता गाउँपालिकाको महलबारी बजारबाट करिब नौ किमी पहाडी डाँडामा पर्छ ।
मदारथानमा प्रत्येक वर्ष करीब १० लाख भक्तजनहरु मेलामा आउने गर्छन् । मुस्लिम र हिन्दु धर्म मान्ने भारत र नेपालका भक्तजनहरु मेला भर्न आउने गर्छन् ।




सम्बन्धित
Loading...