देवचुली नगरपालिकाको सार्वजनिक जग्गामा मेघापार्क

161







नवलपरासी, ७ फागुन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं. १ र १७ मा रहेको १० विगाहाभन्दा बढी जग्गामा बनेको मेघापार्क रिर्सोट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेको पाइएको छ ।
केही जग्गा लालपूर्जा भएको जग्गा खरिद गरी मेघापार्क रिर्सोट सञ्चालकले लालपूर्जा भएको जग्गा आसपासका सार्वजनिक जग्गा अतिक्रमण गरी मेघापार्क सञ्चालन गरेका हुन् ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी व्यवसाय सञ्चालनका लागि टहरा तथा भवन निर्माण गरेको भन्दै स्थानीयले अख्तियार र प्रशासनमा उजुरी गरेपछि अहिले देवचुली नगरपालिकालाई यो विषय टाउको दुखाईको विषय बनेको छ ।
नारायणी नदी किनारमा उनले रिसोर्ट दर्ता गरे पनि मेघा पार्क भनेर दर्ता समेत नगरी चलाएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बताइन् ।
देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले उक्त क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी व्यवसाय सञ्चालन गरेको थाहा पाएपछि नगरपालिकाले भवन तथा टहरा लगायतका भौतिक संरचना निर्माणमा रोक लगाए पनि अटेर गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले मेघापार्क रिसोर्ट सार्वजनिक जग्गामा निर्माण भएको हो वा होइन भनि बुझ्न पठाएपछि उक्त क्षेत्रमा नापीका कर्मचारी लगेर नापजाँच गर्दा सार्वजनिक जग्गा कम्पाण्ड गरी टहरा तथा भौतिक संरचना निर्माण गरेको पाइएको उपप्रमुख पार्वता तिवारीले बताइन् ।


नगरपालिकाले उक्त जग्गामा टहरा तथा भौतिक संरचना निर्माण नगर्न पत्राचार गरेको छ ।
उक्त पार्क तथा रिर्साेट अढाई बर्ष अघिदेखि सञ्चालनमा आएको हो । पिक्निक स्पोर्ट, बालबालिका खेल्ने घुम्ने सहितको उक्त क्षेत्र सार्वजनिक जग्गामा बनेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
मेघापार्क रिर्सोट नारायणगढ, शहिदचोकका सिद्धकुमार श्रेष्ठ लगायतको टोलीले सञ्चालन गरेको हो ।
सञ्चालकहरुले भने आफूहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेको नभई नारायणी नदी छेउछाउँ बस्दै आएका बासिन्दासँग ऐलेनी र नम्बरी जग्गा खरिद गरी पार्क र रिर्सोट सञ्चालन गरेको दावी गरेको छ ।
पार्क तथा रिर्साटका लागि भौतिक संरचना निर्माणको क्रममा सञ्चालकहरुले नारायणी नदीको गिटी बालुवा राज्यसँग जानकारी नै नलिई उत्खनन गर्ने गरेको समेत स्थानीयले जनाएका छन् ।

You might also like
Loading...