मुलुकमा सिक्किमिकरणको खतरा बढ्यौः गजुरेल

68







लोकराज जैसी,
धनुषा । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले मुलुकमा सिक्किमीकरणको खतरा बढेको बताएका छन् ।
मेचीमहाकाली अभियानलाई पूर्वबाट नेतृत्व गर्दै अगाडि बढेका गजुरेलले मंगलबार धनुषाको जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
उनले मुलुकमा सिक्किमीकरणको खतरा बढेकोप्रति चिन्ता व्यक्त गर्दै भने – ‘उनले ओली सरकारको पालामा सीमा क्षेत्रमा धेरै प्रकारमा समस्याहरु बढ्यो तर त्यसको समाधानको लागि वर्तमान व्यवस्था नै बदल्नु पर्ने छ । यो व्यवस्था रही रहे मुलुक सिक्किमीकरणको दिशामा अगाडि बढ्छ ।’
गत मंगलबारदेखि देशव्यापी मेची महाकाली अभियानमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले एक साता पछि मंगलबार धनुषाको जनकपुरमा पत्रकार सम्मेलन गरेको हो ।
मोर्चाले चलाएको अभियानका विषयमा जानकारी दिने उद्देश्यले उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले वर्तमान केपी ओली नेतृत्वको सरकार देश र जनताको पक्षमा नभै दलाल, तस्कर, माफिया र अपराधीहरुको पक्षमा रहेको आरोप लगाए । उनले यस्तो सरकारको नेपालमा काम नभएको पनि तर्क गरे ।
अध्यक्ष गजुरेलले ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा बढि भ्रष्टाचार र सामाजिक अपराधका घटनाहरु भएको र मुलुकको आन्तरिक सुरक्षा नीतिमा हस्तक्षेप बढेको भन्दै त्यस्तो राष्ट्रघाती, जनघाती सरकारलाई सडक आन्दोलन मार्फत खारेज गर्ने बताए ।
नेता गजुरेलले तत्कालिन माओवादीले जनयुद्ध गर्दा अहिलेको जस्तो लोकतान्त्रिक गणतन्त्र नभईसंघीय जनगणतन्त्रको मुद्धा उठाएको र निरन्तर उठाउँदै जाने बताए ।
उनले क्रान्तिमा धोका दिनेहरुले मुलुकमा गणतन्त्र आएको भन्दै जनतामा भ्रम सिर्जना गरिरहेको पनि आरोप लगाए ।
नेता गजुरेलले मुलुकमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु दिन दिनै बढ्दै गएको बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगार, गाँस, बाँस र कपास जस्ता मानिसको लागि आधारभूत आवश्यकताको परिपूर्ति राज्यले गर्नुपर्नेमा त्यस्तो नगरिएको पनि बताए ।
नेता गजुरेलले शिक्षा, स्वासथ्य जस्तो आधारभूत नागरिक सेवामा राज्य जिम्मेवारीबाट भागेको आरोप लगाए । राज्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा माफीयाकरण बढेको र बढ्दो व्यापारीकरणका कारण नागरिकहरुले सास्ती भोग्नु परेको बताए ।
उनले मुलुकको राष्ट्रियतामा पछिल्लो चरणमा गम्भीर खतरा बढ्दा पनि सीमा क्षेत्रका तमाम सस्याहरुमा राज्य मौन बस्नु मुलुकका लागि निक्कै खतरनाक भएको बताए ।

You might also like
Loading...