हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन: भोलि राष्ट्रिय शोकको घोषणा

97







काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकमिस्क बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो । समितिमा सहायक रथी दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । समितिले सम्भव भएसम्म छिटो प्रतिवेदन बुझाउन भनिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

भोलि राष्ट्रिय शोकको घोषणा

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।

मौसमका प्रतिकुल हुँदा शब ल्याउन समस्या, नाइटभिजन हेलिकाेप्टर सुकेटारमा

प्रतिकूल मौसमका कारण नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सङ्कलन कार्य प्रभावित भएको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्न नसके पनि डोरीमा अड्काएर (पोको पारिएका) चार वटा शव सुकेटार विमानस्थलसम्म ल्याइएकामा अन्य शव ल्याउन कठिनाइ भएको छ । दुर्घटनास्थल ताप्लेजुङको दारेभिरमा हिउँ परेकाले थप शव ल्याउन कठिनाइ भएको हो । सेनाको नाइटभिजन हेलिकप्टर हाल सुकेटार विमानस्थलमा छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो ।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।

उनका अनुसार मन्त्री अधिकारी र उनका पीएसओ सेनाका जमदार अर्जुन घिमिरको शव पहिचान भएको छ ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं ल्याइएको हो । उनीहरुलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

हेलिकोप्टर दुर्घटना मुलुकका लागि अपूरणीय क्षति : नेकपा

नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ ।

दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाएको भन्दै यसले मुलुकलाई अपूरणीय क्षति भएको बताएको हो ।

नेकपाले अधिकारीलाई होनहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएको छ । अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने उल्लेख गरिएको छ ।

२०६४, २०७० र २०७४ सालको संविधानसभा र संसद निर्वाचनमा कास्कीबाट निर्वाचित अधिकारी अब्बल राजनीतिकर्मीका रुपमा स्थापित भएका नेकपाले उल्लेख गरेको छ ।

नेकपाले दुर्घटनामा परी ज्यान गुमाउने पर्यटन उद्यमी आङछिरिङ शेर्पा, राष्ट्रसेवक कर्मचारी र हेलिकोप्टर चालकप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीले होनहार युवानेता गुमाएको छ : ओली-प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनले देशलाई अपूरणीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन।
ओली र प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कमरेड अधिकारीको निधनबाट हाम्रो पार्टीले केन्द्रीय कमिटीका एकजना होनहार सदस्य, विकासप्रेमी जनप्रितिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको छ।’

हेलिकोप्टर दुर्घटनाप्रति देउवाद्वारा दुख व्यक्त

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् । देउवाले यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको पनि बताएका छन् ।

हेलिकोप्टर दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाद्वारा दुख व्यक्त

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाले दुख व्यक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुनेगरी दुर्घटना भएकोमा पार्टीलाई धेरै दुख लागेको अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

विवेकशील नेपालीद्वारा पनि दुख व्यक्त

त्यस्तै विवेकशील नेपाली पार्टीले पनि घटनाप्रति दुख व्यक्त गरेको छ । प्रवक्ता मिलन पाण्डेले विज्ञप्ति जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।

भविष्यमा देशको नेतृत्व गर्ने प्रतिभा गुमायो : सभामुख

सभामुख कृष्णबहादुर महराले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएकोमा दुख व्यक्त गरेका छन् ।

बुधबार उनले विज्ञप्ति जारी गरी घटनाले आफू मर्माहत भएको पनि उल्लेख गरेका छन् । ‘उहाँको निधनले देशले एक जना मन्त्रीलाई मात्रै गुमाएको छैन, भविष्यमा देशकै नेतृत्व गर्न सक्ने सक्षम प्रतिभालाई गुमाएको छ’ सभामुख महराले पर्यटनमन्त्री अधिकारीबारे भनेका छन् ।

सभामुख महराले यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनले एक जना सफल उद्यमीलाई गुमाएको पनि उल्लेख गरेका छन् । सभामुख महराले स्थल तथा हवाई दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ, त्यसतर्फ गम्भीर भई आवश्यक पहलकदमी लिन सरकारलाई आग्रहसमेत गरेका छन् ।

मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ?: योगेश भट्टराई

नेकपाका युवा नेता एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गरेका हुन् । उनले समयले यो प्रश्नको उत्तर माग्ने पनि बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

‘भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने ।

पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए ।

तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए । उनका अनुसार हेलिकोप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् ।

हेलिकोप्टर ११:४५ मा पाथीभरा पुगेको थियो ।

 

You might also like
Loading...