हिन्दु, मुस्लिम, बौद्ध र ईसाई धर्मगुरुहरु एकैठाउँमा

402







तस्वीरः चन्दा गुरुङ

प्रेमध्वज गाहा,
कावासोती। कतै नदेखिने वा बिरलै देखिने दृष्य बिहीबार, पुर्बी नवलपरासीको कावासोती १ स्थित, कोइलापानी जामे मस्जिदमा देखियो । दृष्य हो, कोइलापानी जामे मस्जिदको आयोजनामा भएको दुइ दिने सर्बधर्म महामिलन कार्यक्रम । कार्यक्रममा हिन्दु, मुस्लिम, बौद्ध र इसाइ धर्मका धर्मगुरु तथा धर्मावलम्बीहरुको उल्लेख्य सहभागिता रहेको छ ।
दुइ दिने सर्बधर्म महामिलन कार्यक्रममा हिन्दु धर्मका धर्मगुरु पण्डित भागवत तीर्थ शरण भण्डारी , मुस्लिम धर्मका धर्मगुरु मौलाना मोहम्मद ताहिर नदवी , मौलाना नजरुल हसन फलाहीले प्रवचन दिने भएका छन् । त्यस्तै बौद्ध धर्मगुरु आचार्य लोपेन  सञ्जीब गुरुङ , क्रिश्चियन धर्मगुरु पाष्टर प्रेम थापा र ओम शान्ति धर्मयोगी ब्रम्ह कुमार राजु घलेले पनि प्रवचन दिनुहुने छ ।
बिश्वमा धर्म धर्मका बीच तनाव बढिरहेका बेला यस्तो कार्यक्रम उदाहरणीय मानिएको छ । यस्ता कार्यक्रमले फरक धर्मले फरक धर्मलाई बुझ्ने र अन्ततः धार्मिक सद्भावमा टेवा पुग्ने कार्यक्रममा सहभागी धर्मगुरुहरुको बुझाइ रहेको छ । बिश्वमा शान्ति कायम गर्न धर्महरुका बीच मेलमिलाप हुनुपर्ने बौद्ध धर्म गुरु सञ्जीव गुरुङ बताउनुहुन्छ । आफ्नो धर्मलाई राम्रो र अरुको धर्म खराव देख्ने नजरिया परिबर्तन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने वहाँको भनाइ छ ।
धर्म समाज र दुनियाँलाई सच्चरित्र र अनुशासित बनाउने अस्त्र हो । तर अनुयायीहरुमा भएको गलत बुझाइले अहम बढ्न गइ बेला बेला धर्महरुका बीच टकराव हुने गरेका छन् । सर्बधर्म महामिलन कार्यक्रमहरुले एक अर्काका धर्मबारे भएका गलत बुझाई सही बुझाइमा परिणत हुने हिन्दु धर्मका धर्मगुरु पण्डित श्री भागवत तीर्थ शरण भण्डारीले बताए ।
त्यस्तै बुझाइ , इसाइ र इश्लाम धर्मका धर्मगुरुहरुको पनि छ । यस्ता कार्यक्रमहरु यहाँ मात्र होइन , देशैभरि र बिश्वभरि नै हुनुपर्ने एउटा मात्र होइन , समय समयमा हुनुपर्ने आबश्यकता रहेको बताउँछन् । यही कार्यक्रमलाई उदाहरणका रुपमा लिएर अन्य स्थानमा पनि सिको गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । धर्मका कारण हुने द्वन्दहरुलाई अन्त्य गर्न धर्मगुरुहरुले नै पहलकदमी लिनुपर्छ भन्ने सोँचले आफुहरुले सर्बधर्म महामिलन कार्यक्रमको आयोजना गरेको आयोजक कोइलापानी जामे मस्जिदका धर्म गुरु मौलाना गनि मियाँले बताए ।
शुक्रबार समापन हुने कार्यक्रमको उद्घाटन सत्रमा आयोजक कोइलापानी जामे मस्जिदका अध्यक्ष तथा धर्मगुरु मौलाना गनि मियाको अध्यक्षता रहेको थियो भने , अन्तरधार्मिक परिषद काठमाण्डौँका सँस्थापक सदस्य मौलाना नजरुल हसन फलाहीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा कावासोती १ का वडा अध्यक्ष नारायणप्रसाद पन्त, स्थानीय जनप्रतिनीधि तथा समाजसेबीहरुको बिशिष्ट आतिथ्यता रहेको थियो ।

You might also like
Loading...