पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय लडाकु पाइलट फिर्ता

45







पाकिस्तानले आफ्नो कब्जामा भएका भारतीय वायुसेनाका विमानचालकलाई मुक्त गरेको छ।

भारतीय समयानुसार राति ९:२० बजे अभिनन्दन वर्तमानलाई हस्तान्तरण गरिएको हो।

पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई बुधवार आफ्नो भूमिमा खसालिदिएको थियो। सो विमानका चालक अभिनन्दन वर्तमान त्यसपछि उसको कब्जामा परेका थिए।

उनलाई पाकिस्तान र भारतको वाघा-अटारी सीमामा भारतीय पक्षलाई बुझाइएको हो।

उनलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयकी अधिकारी फारेहा बुट्टी आएकी थिइन्।

सेनाको प्रचलनअनुसार उनलाई चिकित्सकीय परीक्षणका लागि लगिँदैछ।

मुक्त हुनुअघि वर्तमानले पाकिस्तानी टीभीलाई पाकिस्तानी सेनाबाट आफू “धेरै प्रभावित” भएको बताएका थिए।

उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए।

भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थित थिए।

वर्तमानलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमावर्ती अटारीमा जम्मा भएका थिए। उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो।

तीमध्ये एक जनाले समाचारसंस्था एएफपीलाई भने, “हाम्रा नायक आफ्नो देश फर्किन लागेकाले हामी धेरै खुसी छौँ।” BBC

You might also like
Loading...