भारतीय लोकसभा निर्वाचन सात चरणमा गरिने, अप्रिल ११ पछि मे १९ सम्म निर्वाचन गर्नेगरी मिति सार्वजनिक


भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ ।




भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो ।

मुलुकभर जम्मा ५४३ सदस्यका लागि विभिन्न सात चरणमा गरिने निर्वाचनलाई शान्तिपूर्ण एवम् स्वच्छरूपमा सम्पन्न गर्न दलहरूलाई आयुक्त आरोडाले आग्रह गर्नुभयो । उनका अनुसार निर्वाचन सात चरणमा हुनेछन् ।




अप्रिल ११ मा पहिलो चरणको निर्वाचन हुनेछ भने १९ मेसम्म सातौ चरणको निर्वाचन हुनेछ भने सबै निर्वाचनको परिणाम मे २३ मा सार्बजनिक गरिने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरण अर्थात् अप्रिल ११ मा हुने निर्वाचनबाट २० राज्यका ९१ जनप्रतिनिधिको चयनका लागि मतदान हुनेछ भने दोस्रो चरणमा अप्रिल १८ मा १३ राज्यका ९७ सीटका लागि मतदान गरिनेछ ।

त्यस्तै१४ राज्यका ११५ लोक सभा सदस्यका लागि आगामी अप्रिल २३ मा तेस्रो चरणको मतदान हुने निर्वाचन आयोगले तोकेको छ । चौथो चरणको निर्वाचन अप्रिल २९ मा ९ राज्यका ७१ सीटका लागि मतदान हुनेछ भने पाँचौँ चरणको निर्वाचन मे महिनाको ६ तारिखमा सात राज्यमा ५१ सीटका लागि निर्वाचन गरिने छ । त्यस्तै छैठौँ चरणमा सात राज्यका ५९ र सातौँ चरणमा आठ राज्यका ५९ सदस्यका लागि क्रमशः मे १२ र मे १९ मा मतदान गरिने निर्वाचन आयोगले बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि निर्वाचनमा भाग लिने घोषणा गरिसक्नुभएको छ । त्यस्तै प्रतिपक्षी दल भारतीय काँगे्रसले पार्टीका अध्यक्ष राहुल गान्धीको नेतृत्वमा निर्वाचनमा जानेछ ।
लोकसभा निर्वाचनका लागि झण्डै ९० करोड नागरिक मतदानका लागि योग्य रहेका छन् । भारतमा जम्मा एक अर्ब २५ करोड जनसङ्ख्या रहेको छ ।




सम्बन्धित
Loading...