नवलपुरमा जिल्ला अस्पताल घोषणा, मध्यविन्दु अस्पताल बन्यो जिल्ला अस्पताल
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवलपुरमा जिल्ला अस्पतालको घोषणा गरेका छन् ।
मंगलबार औपचारिक कार्यक्रमका बीच पूर्वी नवलपरासीको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु सामुदायिक अस्पताललाई जिल्ला अस्पतालको रुपमा घोषणा गरेका हुन् ।
जिल्ला अस्पतालको रुपमा मान्यता पाएपछि उत्साहित यहाँका बासिन्दाहरु निक्कै तामझामका साथै घोषणा सभामा सहभागी भएका थिए ।
संघीय संरचना पछि दुई प्रदेश गण्डकी प्रदेश र प्रदेश नं. ५ मा परेको नवलपरासी जिल्ला अझै पनि पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको नामले चिनिने गर्दछ ।
कतिपयले पूर्वी नवलपरासीलाई नवलपुर त कति पयले नवलपरासी बर्दघाट सुस्ता पूर्व पनि भनेर चिन्ने गर्दछन् । नयाँ जिल्ला नवलपुर जिल्ला नयाँ जिल्ला भएसँगै यहाँ अहिले भकाभक जिल्ला स्तरका कार्यालयहरु स्थापना हुने क्रम बढेको छ अहिलेसम्म २० को हाराहारीमा जिल्ला कार्यालय स्थापना भएका छन् । मंगलबार मात्रै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले घरेलु तथा साना उद्योग कार्यालयको उद्घाटन गरे पनि मंगलबार नै जिल्ला अस्पताल घोषणा गरे ।
नयाँ जिल्ला नवलपुरमा यस अघि स्वास्थ्य केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी लगायतका सरकारी स्वास्थ्य सेवाहरु रहेका थिए भने बाँकी निजी तथा सामुदायिक स्तरबाट सञ्चालनमा रहेका अस्पतालहरुले यहाँका विरामीहरुको सेवा गर्दै आएका थिए ।
मंगलबारबाट जिल्ला अस्पतालको रुपमा मध्यविन्दु सामुदायिक अस्पतालले मान्यता पाएर मध्यविन्दु जिल्ला अस्पतालको रुपमा सञ्चालनमा आएपछि यहाँका बासिन्दा निक्कै उत्साही देखिएका छन् ।
अस्पतालका कार्यक्रम प्रमुख एवम् सञ्चालक समितिका पूर्व सचिव राजाराम पण्डितले यो अस्पतालले जिल्ला अस्पतालको मान्यता पाएँसँगै नवलपुर क्षेत्रका ८ स्थानीय तह मध्ये ६ वटा स्थानीय तहका दुई लाख जनसंख्या लाभांवित हुने बताए ।
यो अस्पताललाई सरकारले गत भाद्र १३ गते बुधबार जिल्ला अस्पतालको मान्यता दिएपछि मंगलबार यसलाई औपचारिक रुपमा घोषणा गरिएको हो ।
अस्पताल समितिका अध्यक्ष चेतनाथ पोख्रेलका अनुसार जिल्ला अस्पताल शुरु भएपछि यहाँ चैत्र मसान्त भित्र अप्रेसन सेवा, आइसियु सेवा लगायतका सेवा समेत शुरु गरिने छ ।
यो अस्पताल शुरुमा यहाँका समुदायिले धान्याचल गरेर स्थापना गरेको अस्पताल हो । हाल अस्पतालको क्षमता ५५ शैंयाको छ ।
जिल्ला अस्पतालको रुपमा घोषणा भएको मध्यविन्दु सामुदायिक अस्पतालले अबको ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी ५ तले भवन निर्माणको काम सुरू गरेको छ ।
जुन भवन अन्डरग्राउन्डसहितको पाँचतले भवनको निर्माण कार्य थालनी गरिएको मध्यविन्दु जिल्ला अस्पताल कार्यक्रम प्रमुख राजाराम पण्डितले बताए ।
भवन निर्माणको हाल कृष्णबहादुर दंगालको संयोजकत्वमा निर्माण समिति गठन गरी निर्माण कार्य अघि बढाइएको छ ।
अन्तर्राष्ट्रिय संस्था नेपाल हिल्फे वाइलिङ ग्रिस जर्मनी नामक संस्थाको ५० प्रतिशत र स्थानीय तथा अन्य सरकारी कार्यालयहरुबाट प्राप्त रकम गरी कुल १३ करोडमा ५ तले भवन निर्माण गर्न लागिएको हो ।
यो भवन निर्माण सम्पन्न भएपछि जिल्ला अस्पतालमा थप सेवाहरु समेत प्रदान गरिने छ ।
सडकमा हुने बढ्दो दुर्घटनामा परी घाइते भई अकालमा ज्यान गुमाउनु परेको घटनालाई कम गर्न सडक छेउ स्थानीयले धान्याञ्चल गरेर स्थापना गरेको यस अस्पताल जिल्ला अस्पताल बने पछि यहाँका बासिन्दा भने निक्कै उत्साहित भएका छन् ।