चार वर्षमा आधा पनि बनेन देवघाट जोड्ने पुल

52







देवघाट । तनहुँको देवघाट गाउँपालिका र भरतपुर महागनरपालिका–१ ठिमुरा जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि आधा पनि निर्माण हुन सकेको छैन ।
चार वर्षमा पुल निर्माणका काम करिब ४५ प्रतिशत मात्र भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको बताउन थालिएको छ ।
वि.सं. २०७१ कात्तिक १९ गते १६ करोड रुपैयाँको लागतमा ठेक्का दिइएकोमा पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपैयाँ पुगेको थियो ।
पुल शिलान्यासको तीन वर्षमा काम सम्पन्न गर्नुपर्ने भएपनि विभिन्न कारण देखाउँदै समय थप गरिएको छ । डिभिजन सडक कार्यालय चितवनका निमित्त प्रमुख गिताञ्जली कोइरालाका अनुसार थपिएको समय आउँदो वैशाख ९ गते सकिँदैछ । तर, हालसम्म ४५ प्रतिशत मात्र काम भएको बताए ।
कोइरालाले नक्साङ्कन संशोधनमा १८ महीना लागेको, भूकम्पले छ महीना काम गर्न नसकेको र नाकाबन्दीका कारण तीन महीना ढिला भएको बताए । थपिएको समय सकिनलाग्दा र ठेक्कापछि नक्साङ्कन परिवर्तन गरी रकम थप गर्दा पनि काम हुन सकेको छैन । इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर संयुक्त रूपमा पुल निर्माणको जिम्मेवारी लिएका छन् ।
ठिमुरा र देवघाटलाई जोड्ने पुललाई विशेष पुलका रूपमा लिइएको छ । ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टंकनाथ पौडेलले पर्याप्त बजेट र प्राविधिक कठिनाइका कारण समयमा पुल बन्न नसकेको बताए।
सम्बन्धित निकायलाई घचघच्याउने काम भइरहेको भए पनि शुरुमा ढिला गरी काम शुरु भएको र बीचबीचमा रोकिएको उनको भनाई छ । सो ठाउँमा ‘पिस्ट्रेस्ड कंक्रिट ब्रिज’ चार ‘स्पान’ राखेर बनाइँदैछ। पुलमा ४० मिटर लम्बाइका तीन कंक्रिट स्पान बनाइनेछ ।
पुलको प्रमुख भाग ८० मिटर लामो स्टिलको ट्रस्ट संरचनासहित बनाउन लागिएको छ । सबै स्पान गरी पुल २०० मिटर लामो बन्ने जनाइएको छ। पुलको माथिको बिम र स्ल्याबको काम बाँकी छ ।

You might also like
Loading...