नवलपरासीका ४ सय ६८ घर भुकम्प पीडितले लिए नयाँ घर बनाउने तेस्रो किस्ता

111







रामकुमार श्रेष्ठ

नवलपरासी, ६ फागुन । पूर्वी र पश्चिम नवलपरासी गरी नवलपरासीका ४ सय ६८ घर भुकम्प पीडितले नयाँ घर पुननिर्माणका लागि तेस्रो किस्ता रकम लिएका छन् ।

सरकारले भुकम्प प्रभावितहरुलाई निजी आवास अर्थात घर पुननिर्माणका लागि प्रतिपरिवार ३ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । ति मध्ये पहिलो किस्ता ५० हजार रुपैयाँ, दोस्रो किस्ता १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्ता १ लाख गरी ३ लाख रुपैयाँ भुक्तान पाउने व्यवस्था मिलाएको छ ।

फाइल फोटो

नवलपरासीमा भुकम्पबाट पूर्ण क्षति भएको घर ८ सय ७२ घर मध्ये ८ सय ७० परिवार भुकम्प पीडितले सम्झौता गर्न आएकोमा अहिलेसम्म ५४ प्रतिशत अर्थात ४ सय ६८ घरपरिवारले तेस्रो किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कावासोतीका प्रमुख राजेन्द्र कार्कीले बताए ।

नवलपरासीमा यस कार्यालय ढिलो स्थापना भएको कारण भुकम्प पीडितलाई रकम हस्तान्तरणमा ढिलो भएको कार्कीले बताए ।

सम्झौता गर्न आएका ८ सय ७० घरपरिवार मध्ये ८ सय ७० घरले नै पहिलो किस्ता लगिसकेको छन् भने ७ सय ६० घरले दोस्रो किस्ता रकम लगेका छन् । कार्कीका अनुसार भवन निर्माणको सम्पूर्ण काम सकेर छानो अर्थात टिन लगाउन बाँकी भएकालाई नीजि आवास पुननिर्माणको अनुमगन गरी तेस्रो किस्ता रकम दिने गरिन्छ ।

नवलपरासीमा २ घर भुकम्प पीडित परिवारले सम्झौता नै गर्न आएका छैनन् भने अझै चार सय २ घरले तेस्रो किस्ताको रकम लिन बाँकी नै छ ।

पूर्वी नवलपरासीमा ८ सय ५५ घर र पश्चिम नवलपरासीमा १७ घर पूर्ण रुपमा क्षति भएको पहिचान गरी नवलपरासीमा राज्यले ८ सय ७२ घर भुकम्प प्रभावितलाई निजी आवाज पुननिर्माणका लागि प्रतिघर ३ लाख रुपैयाँ लिन आउनका लागि सम्झौता आव्हान गरेको थियो । ती मध्ये ८ सय ७० घर भुकम्पप्रभावित मात्र सम्झौता गर्न आएको र उनीहरुले घर निर्माण पनि शुरु गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कावासोतीका प्रमुख राजेन्द्र कार्कीले बताए ।

नवलपुरमा सबैभन्दा बढी बुलिङ्गटार गाउँपालिकामा २ सय ६० घर भुकम्प पीडित पहिचान गरिएको छ । त्यसैगरी कावासोती नगरपालिकामा ४, गैडाकोट नगरपालिकामा ४९, देवचुली नगरपालिकामा १ सय ७७, मध्यविन्दु नगरपालिकामा ८५, बुङ्दीकाली गाउँपालिकामा ७५, विनयी त्रिवेणी गाउँपालिकामा ६६ र हुप्सेकोट गाउँपालिकामा १ सय ३९ घर भुकम्प पीडित पहिचान गरिएको थियो ।

You might also like
Loading...