कावासोती नगरपालिकाको वडा कार्यालयहरुको घर भाडामै बार्षिक ७ लाख बढी खर्च

155







कावासोती, ६ चैत्र ।
नवलपुर जिल्लाकै ठूलो र प्रमुख नगरपालिका कावासोती नगरपालिकाको वडा कार्यालयहरुको आफ्नो भवन नहुँदा घर भाडामा मात्रै बार्षिक ७ लाख बढी खर्च हुने गरेको छ ।
कावासोती नगरपालिकाले प्रत्येक वडा कार्यालयलाई तीन हजार पाँच सय देखि मासिक ६ हजारसम्म भाडामा खर्च गर्न पाउने गरी कार्यालय राख्न दिने व्यवस्था मिलाएको छ जस अनुसार कावासोती नगरपालिकाका १७ वटा वडा मध्ये साविकका गाविस कार्यालयहरु रहेको क्षेत्रमा ४ वटा वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा रहेका छन् भने बाँकी १३ वटा वडा कार्यालय सबै भाडामा सञ्चालनमा रहेका छन् ।
१३ वटा वडाको सरदर चार हजार पाँच सय देखि पाँच हजार मासिक कार्यालय भाडा खर्च जोड्दा सात लाख बढी खर्च हुने गर्दछ ।
कावासोती ५ का वडा अध्यक्ष हरि वास्तोलाले आफूले मासिक ३ हजार पाँच सय रुपैयाँ तिरेर कार्यालय भाडामा लिएको बताए । उनका अनुसार कावासोती पाँचले आफ्नै कार्यालय भवन बनाउन दुई कठ्ठा जग्गा स्थानीयले हस्तान्तरण गरेर वडा कार्यालयको नाममा जग्गाधनि पूर्जा निकालि सकेको छ भने बाँकी दुई कठ्ठा पनि थप गरी कार्यालय भवन निर्माणका लागि प्रक्रियामा जाने बताए ।
त्यसैगरी कावासोती १ ले मासिक ६ हजार भाडा तिरेर कार्यालय सञ्चालन गरेको छ । कावासोती १ को कोइलापानीमा वडा कार्यालय राख्नका लागि आफ्नै भवन निर्माण कार्य लगभग सकिएको छ ।
वडा अध्यक्ष नारायण पन्तका अनुसार यहाँ पानी र विद्युत जडान गरे लगतै नगरपालिकाको निर्णय आएपछि कार्यालय सार्ने तयारी रहेको बताए ।
त्यसैगरी कावासोती ४ हसौरामा पनि वडा कार्यालय भाडामा सञ्चालनमा रहेको छ । नगरपालिकाले आफ्नो नाममा जग्गा नभएसम्म कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन नगर्ने भएका कारण वडा कार्यालय निर्माणमा समस्या भएको वडा अध्यक्ष रमाकान्त चापागाईले बताए ।
कावासोती ४ मा अहिले दुई वटा कोठा मासिक ३५ सय तिरेर भाडामा सञ्चालनमा रहेको छ । वडाध्यक्ष चापागाईले कोठा अभाव भएका कारण एउटा कोठा थप गर्नु पर्ने अवस्था आएको र त्यसो गर्दा मासिक ५ हजार कार्यालय भाडा खर्चमा मात्रै जाने बताए ।

You might also like
Loading...