कत्तिको फाप्ला त पुुष्पकमल दाहाललाई अमेरिकी सेल्टर ?


– कुमार शाह




राजनीतिक जीवनको उत्तरार्धमा विश्व महाशक्तिहरु तथा स्वदेशी शक्तिहरुका कारण हुने देशीय राजनीतिक शक्ति सन्तुलनअनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल फरकफरक सोंच र प्रकृतिका वैधानिक शेल्टरहरुको खोजी र परिवर्तनमा लागि दौडिइरहेका छन् । जनयुद्धकालमा विचार तथा नेतृत्वको बचाउका हिसाबले विभिन्न भूमिगत सेल्टरहरु फेर्दै र ठाउँठाउँ चाहार्दै जाने प्रक्रिया अब उनका लागि खुल्ला तर वैधानिक सेल्टरहरुको खोजी र फेरबदलमा परिवर्तन हुन पुगेको छ ।




पुष्पकमल दाहाल अहिले अमेरिकामा छन् । उनी जीवन संगिनी सीता दाहालको उपचारको निहुँ बनाएर त्यहाँ पुगेका हुन् । स्वयम् उनलाई पनि बूढेसकालले निकै छोएको छ । र, सताएको छ पनि । तर जीवनको उत्तरार्धमा उनले अरु कसैको सल्लाह, धम्की र आफ्नो ब्रह्मले जे देखे, तदनुरुप गरेको कार्यबाट उनी पनि आजित हुन पुगेका छन् । साथै, उनलाई पछ्याउनेहरुलाई पनि आजित र दोलायमानको अवस्थामा पुर्याएका छन् ।

अमेरिकामा जानुको उनका दुई उद्देश्यहरु छन् । पहिलो, दाहालले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको स्थितिलाई मध्यनजर गर्दै अमेरिकी खेमामा सामेल भइसकेको खुला सन्देश दिनु । दोस्रो कुरा, अन्तर्राष्ट्रिय तथा घरेलु मामलामा उनीमाथि थोपरिएको ‘युद्धअपराधको मुद्दा’ केही समयका लागि शिथिल बनाउनु र रणनीतिक रुपमा लम्ब्याइदिनु । यसपछिको तेस्रो कुरा भनेको नेपालको वर्तमान सत्तामा भागबण्डाको आशा र आश्वासनको ग्यारेन्टी गर्नु ।

यी कुरा पनि उनले त्यत्तिकै पाएका होइनन् । भारतीय शासक मोदीसँग केही छलफलपछि केही दिन पहिले छलफल गरेकै दिनको साँझपख भेनेजुएलाका बारेमा वक्तव्य दिए । उक्त वक्तव्यले उनलाई विवादित मात्र बनाएन, महाशक्तिको स्वार्थअनुसार रातारात कित्ता समेत् फेर्नुपर्यो । उनी रातारात अमेरिकी क्याम्पमा भित्रिए । उनका नजिकमा रहेका स्रोतहरुका अनुसार ‘अमेरिकाले केवल ओलीलाई मात्र ‘रिकग्नाइज’ गरेको थियो, अब भने भेनेजुएलाको काण्डपछि पुष्पकमल दाहाललाई पनि अमेरिकाले ‘रिकग्नाइज’ गरेको छ’ ।

सेल्टर परिवर्तनका क्रममा वृहत् शान्ति संझौतासँगै उनले आफ्नो २०५२ सालको जनयुद्ध, जनसत्ता, क्रान्तिकारी पार्टी, जनसेना र त्यसको ‘लिगेसी’सम्म त्यागेर भिन्न बनिसकेका थिए । त्यसपछि पनि उनी जसका विरुद्ध लडेका थिए, उनीहरुले औंला ठड्याउन छाडेनन् । उनी स्थानीय सरकारको निर्वाचनमा नेपाली कांग्रेसको कभर र सेल्टरका लागि निकै मरिहत्ते गरेर लागे । तर त्यो पनि भारतीय शक्तिका कारण संभव भएन । बरु उनलाई जबर्जस्त एमालेसँग घरबार गराइयो । उनी एमालेमा सेल्टर लिन पुगे । रातारात भारतीय शक्तिले ‘वाम गठबन्धन’ निर्माण गरिदियो । ओलीलाई बहुमतको सरकार निर्माण गर्नु थियो एकातिर भने अर्कोतिर भारतसँग केही नयाँ सम्बन्ध पनि बनाइराख्नु थियो ।

यो वाम नामको गठबन्धनलाई लिएर अमेरिका र भारतका बीचमा केही आन्तरिक जुहारी पनि चले । भारत ‘कमन वेल्थ नेशन’ को सदस्यका हिसाबले बेलायतले पनि केही कुरामा आफूहरुका लागि स्पष्टता चाह्यो कि भारतले नै आफैले किन वाम गठबन्धन निर्माण गरिदियो नेपालमा ? भारतले यसका लागि केही शंका र विमतिका अन्तर्राष्ट्रिय बोझहरु पनि बोक्यो ।

अलि केही धेरै भएपछि भारतले देशका तर्फबाट स्पष्टीकरण पनि दियो, बीबीसी नेपाली सेवामार्फत् । नेपालका लागि भारतीय जानकार अशोक मेहताले भारतको पहलमा नेपालमा बनाइएको एमाले र माओवादी केन्द्रको वाम भनिएको गठबन्धन विदेशी महाशक्तिहरुले देखेका र विश्लेषण गरेका जस्तो वाम गठबन्धन नै नभई भारतद्वारा बनाइएको ‘नवराष्ट्रवादीहरुको गठबन्धन’ भएकाले धेरै शंका आशंका नगर्न आग्रह पनि गर्यो ।

तर अमेरिका, बेलायत र भारतका बीचमा कुटनीतिक दाउँपेच चलि नै रहे । यो बेलामा अमेरिका केही बढी नै चनाखो हुन खोजेको पनि देखिन्थ्यो । उसलाई नेपालमा बनेको यो गठबन्धनको खेलमा चीनको सल्लाह र हात कति छ भन्नेमा चिन्ता थियो । मोदीको आगमनसँगै भारत र चीनको बीचको सहकार्य अमेरिकाका लागि पाच्य थिएन ।

यसै अवसरको खोजीमा अमेरिकाले ओलीसहितको सिंगो सरकारलाई आफ्नो हातमा लियो र दाहाललाई पनि आफूसँग मिलायो । तर अमेरिकाले आतंकवादी घोषणा र लिस्टिङ गरेका, आफ्नै पृष्ठभूमि सिध्याएका र अरुको भर र घरहरुमा वैधानिक सेल्टरहरु चाहार्दै हिंडेका दाहालका लागि अमेरिकी पक्षमा कित्ताबन्दी त्यति सहज र पाच्य हुने भने शुभ संकेत छैन ।  – मुलबाटोबाट




सम्बन्धित
Loading...