नेपालले कतारसँग खेल्ने


एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ ।




कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ । कतार एशिया कपको विजेता टोली पनि हो ।

यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई अर्कोे चरण प्रवेशका लागि कतारलाई जित्नै पर्ने बाध्यता छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै ओमानसँगको हारसँगै नेपालको एएफसी यू–२३ च्याम्पियनशिपमा छनोट हुने सम्भावनासमेत कमजोर हुँदै गएको छ । छनोट चरणमा नेपाल समूह ‘ए’मा छ ।




नेपालको समूहमा कतारसँगै ओमन र अफगानिस्तान पनि छन् । यसअघि एक खेल खेलेको नेपाल पराजित भएर अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको कतार अङ्क तालिकाको शीर्ष स्थानमा छ । कतारको तीन अङ्क छ ।

त्यसैगरी समान तीन अङ्क नै जोडेको ओमन दोस्रो स्थानमा छ भने अफगानिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा छ । छनोटको शीर्षटोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगतामा सहभागिता जनाउनेछ ।

यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनशिपमा भाग लिन पाउनेछन् । नेपालले मङ्गलबार अफगानिस्तानसँग खेल्नेछ ।




सम्बन्धित
Loading...