बम्जन आश्रममा अनुसन्धान तीव्र


सिन्धुपाल्चोक — सञ्चलाल वाइबासहित ३ आनी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रममा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । इन्द्रावती गाउँपालिका ५ स्थित बम्जनको आश्रमबाट फेला पारिएको अवशेष परीक्षणसँगै प्रहरीले अनुसन्धान तीव्र बनाएको हो ।




‘पुरानो घटना भएकाले सत्यतथ्य परीक्षणपछि मात्रै सबै रहस्य खुल्नेछ, अन्य कानुनी प्रक्रिया तीव्र बनाएर लगिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले भने । पुरानो घटनाको फोन डिटेल, परीक्षणसँगै बम्जनको आश्रममा अनुसन्धान बढाइएको उनले जानकारी दिए ।

सञ्चलालका परिवारले सूचना दिएलगत्तै केही समयअघि प्रहरीले बाँडेगाउँमा छापा मारेको थियो । कुकुरसहित जिल्ला प्रहरी र सीआईबीको टोलीले आश्रमभन्दा ३ सय मिटर पर शंकास्पद स्थानमा १५ फिट गहिरो उत्खनन गरेपछि आठ वटा नुनको खोल फेला पारेको थियो ।


फोरेन्सिक विज्ञको अनुसन्धानमा त्यस वरपर झन्डै २० पाकेट नुन मिसिएको माटो पाइएको छ । दुई सय मिटर छेउमा मट्टीतेल राख्न प्रयोग गरिएको जर्किन र कोइला अवशेष पनि भेटिएकाले अनुसन्धानसँगै झनै शंकास्पद हुँदै गइरहेको प्रहरी स्रोतको दाबी छ । त्यहाँ मानवीय हड्डीजस्तो कुनै पदार्थ फेला नपर्नुले अन्यत्र लगेर शव नष्ट गरिएको हुन सक्ने प्रहरी अनुमान छ । डीएसपी काफ्लेका अनुसार अनुसन्धानको जिम्मा लिएको सिन्धुपाल्चोक प्रहरीले नमुना संकलन गरेको कोइला र नुनको पाकेट परीक्षण गरिरहेको छ ।

बम्जन कुटीबारे अनुयायी नै अनभिज्ञ

टोडेबारी जंगलबीच ८० रोपनी क्षेत्रफमा फैलिएको आश्रममा ८ वटा खुला टहरा छन् । तल्लोपट्ट िबम्जन बस्ने बेग्लै प्रकारको कुटीभित्र डम्फुजस्ता अनेक बौद्ध परम्पराका बाजादेखि बम्जनका युवा अवस्थाका तस्बिरसहित मैत्री वस्त्र झुन्ड्याइएका छन् । बम्जनको आशीर्वाद कक्ष छेउमा एउटा पेट्रोल राखिएको बोतल भेटिएको थियो । आश्रमभित्र भएर पनि गुरुले आफ्नो कुटीभित्र के-के गर्थे, कसैलाई थाहा नहुने अनुयायीको भनाइ छ । (कान्तिपुरबाट)



सम्बन्धित
Loading...