कावासोती १ को वडा कार्यालयमा फेरि ताला लगाइयो


नारायण प्रभु
नवलपुर चैत- १३




कावासोती वडा नं. १ को कार्यालयमा बुधबार ताला
लगाइएको छ। बिज्ञप्ति प्रकाशित गर्दै वडा कार्यालय सार्ने बिषयमा पटक पटक भएको बिबाद टुंगिन नसक्दा कोइलापानी क्षेत्रका स्थानीयले बुधबार कार्यालयको मुल ढोकामा ताला लगाउनु परेको बताइएको छ।

ताला लगाएपछि सर्वसाधारणको काम समेत प्रभावित बनेको छ।




स्थानीय दर्शन भट्टराईका अनुसार अहिले संचालनमा रहेको वडा कार्यालय भाडाको घरमा रहेको र कोइलापानी चौतारी नजिक स्थानीयको श्रमदान तथा नेपाल सरकारको राज्यकोषबाट करिब २७ लाखमा निर्माण भएको वडा कार्यालयको भवन खाली रहेकाले उक्त क्षेत्रका बासिन्दाहरुले कार्यालय नयाँ भवनमा सार्नु पर्ने भन्दै दबाब स्वरूप कार्यालयमा ताला लगाएको बताए। वडाले २०७५ साउन महिनामा कार्यालय सार्ने भनी निर्णय गरिसकेको भए पनि ढिला सुस्ती गरेपछी पटक पटक बसेको स्थानियको भेलाले चैतको पहिलो हप्ता निर्बिबाद र निशर्त ढंगले सार्नै पर्ने दबाब दिएपछि चार बुँदे सहमती भएपनि आज सम्म कार्वान्यन नगरेको भन्दै स्थानीय आक्रोसित भएका हुन।यता अहिले कार्यालय रहेको झरना चोक क्षेत्रका बासिन्दाले कोइलापानी क्षेत्र सबैलाई पायक नपर्ने हुनाले छहारी संगम युवा क्लबको खेल मैदाननिर कार्यालय भवन बनाउनु पर्ने माग गर्दै कार्यालय सार्न नदिने अडान राखेका हुनाले चैत ४ गते नयाँ भवनको समेत सिलान्यास गरिएको छ।

सिलान्यास गरेकै भोलिपल्ट देखि कोइलापानीमा रहेको नयाँ भवनमा काम सुचारु गर्नु पर्ने सहमती भए पनि विभिन्न बाहाना बनाई पटक पटकका सहमति, सम्झौता र गरेका निर्णयहरु उल्लंघन गर्ने प्रयास भएको हुँदा नगरपालिकालाई सम्बोधन गरि जिल्ला प्रशासन कार्यालय नवलपुर,जिल्ला प्रहरी कार्यालय नवलपुर र सम्बन्धित वडालाई `निर्णय कार्यन्वयन गरि पाउँ´ भनी पत्राचार गरिएको बिज्ञप्तिमा लेखिएको छ।

पत्राचार गरेको १० दिन बितिसक्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेपछी बाध्य भएर कार्यालयमा अनिश्चितकालका लागि ताला लगाउनु परेको स्थानीय भट्टराईले बताएका छन।

एक ठाउँमा वडाकार्यालय निर्माण भैसकेपछि त्यहीँ बाट काम सुचारु नगरीकन फेरि अर्को ठाउँमा वडाकार्यालयको भवन शिलान्यास गरिनुले पनि बिबाद झनै बढेको उनी बताउछन।
जनप्रतिनिधि सबैको साझा भएकाले हामिले सबैलाई समान व्यबहार गर्नु पर्छ,कसैको घरपाई मिलाएर आफुखुसि वडाकार्यालय सार्ने भनी जो कोहिले धम्काएको भरमा कार्यालय सार्न नसकिने वडाध्यक्ष नारायण पन्तको भनाइ रहेको छ।

नगरपालिकालाई खबर भैसकेको छ र त्यहाँबाट पत्र नआउदा सम्म हामी कार्यालय सार्न सक्दैनौ उनले बताए।

केही दिन अघि कोइलापानी क्षेत्रका स्थानीयले जबर्जस्ती कार्यालयको सामान लिएर गएका र पछि जनप्रतिनिधिले गुनासो गरेपछी फिर्ता गरेको समेत अध्यक्ष पन्तले जानकारी गराए।

अहिले नयाँ बनेको भवन सानो र प्रशस्त जग्गा नभएको हुदा भविष्यमा काम गर्न कठिनाई पर्न सक्ने भएकाले सबैको राय सल्लाह लिई यो बिषयलाई छिटो भन्दा छिटो टुङ्गाउन तर्फ आफुले पहल गरिरहेको समेत वडाध्यक्ष्य पन्तको भनाइ रहेको छ।




सम्बन्धित
Loading...